मुलुकको अवस्था थप कारुणिक,औषधीमुलोको अभावमा सर्वसाधारण देह त्याग गर्दै
कोरोना महामारीमा अस्पतालमा बेड नपाएपछि एउटा वृद्धजोडी बाटोमै सुतेको कारुणिक तस्वीरले अब देशमा महामारी भयावह अवस्थामा पुगेको आँकलन गर्न कुनै गाह्रो हुँदैन ।
कोभिड–१९ को दोस्रो लहरको भाइरस फैलिएसँगै अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना रोकथामको निम्ति चेन ब्रेक गर्न निषेधाज्ञा जारी गरिए पनि रोकथामको कुनै सुरसार देखिएको छैन ।
कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहर निकै आक्रामक र कडा खालको संक्रमण रहेको देखिँदैछ । हिजो मात्रै कोरोनाको कारण सबैभन्दा धेरै ८८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।
संक्रमितलाई सबैभन्दा पहिले अक्सिजनको आवश्यकता देखिएको छ । त्यहि अक्सिजनको अभावमा धेरैले अमूल्य जीवन गुमाइरहेका छन् । सर्वत्र स्वास्थ्य सामग्री र प्रणालीको अभाव देखिएको छ । अस्पतालसम्म पुग्नको लागि एम्बुलेन्सको अभाव छ । अस्पताल पुगेपछि बेडको अभाव चर्को छ । बेडसँगै अक्सिजन र अन्य अत्यावश्यक सामग्री एवम् जनशक्तिको समेत चर्को अभाव देखिन्छ ।
त्यहि अभावलाई पुष्टि हुने गरी संक्रमितहरू अस्पतालका पिँढी,सिँढी र बाहिरका सवारी साधनमा सुुतेर उपचारको प्रतिक्षामा समय कटाउन बाध्य छन् । अस्पतालले बेड अभावमा धेरैलाई घर फर्काएको छ । तर,फर्किएलगत्तै बिरामीको मृत्यु भएका समाचार धमाधम आउन थालेका छन् ।
मुलुकको जिम्मेवारी बोकेको गृह मन्त्रालयले कोरोनाका बिरामी बढेकाले शैया उपलब्ध गराउन नसकिने जानकारी गराउँदै सबैलाई सचेत हुन र घरभित्रै सुरक्षित रहन आग्रह गरेर आफ्नो जिम्मेवारी पूरा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै कोरोना नियन्त्रणभित्रै रहेको बताए पनि मुलुकको अवस्था भयावह देखिँदैछ ।
प्रधानमन्त्रीले जे भने पनि स्वाब परीक्षणको लाइनमा बसेका एक जना बिरामीले पालो नआउँदै देह त्याग गरेका छन् । कतिपयको एम्बुलेन्स अभावमा घर र बाटोमै निधन भएको समेत खबरहरु आइरहेका छन् । अशक्त र वृद्ध मात्र होइन किशोर उमेरकाले समेत कोरोनाबाट ज्यान गुमाइरहेका छन् ।
कोरोनाले एकाघरका धेरै जना सदस्यको ज्यान लगेको छ । अस्पतालका मूल ढोकामा बिरामीको र पछाडिको ढोकामा शवको ताँती देखिन थालेको छ । राजधानीकै कतिपय स्थानमा घरमै ज्यान गुमाएकाको बेलैमा शव उठाउन नसकिएको अवस्था पनि जानकारीमा आइसकेको छ ।
टिप्पणीहरू