कलाकारहरुको फेसबुक ह्याक गर्ने १४ वर्षे ठिटो खोरबाट छुट्यो
कलाकार सरोज खनाल र दीपाश्री निरौलालगायतको फेसबुक ह्याक गरेर रकम माग्ने वीरगन्जको १४ बर्षे किशोर धरौटीमा रिहा भएको छ ।
वैशाख २३ गते साइबर ब्युरोले समातेर अनुसन्धान गर्दा उसले धेरै जनाको फेसबुक ह्याक गरेको रहस्य खुलेको हो । हालसम्म उक्त विषयलाई लिएर चार जना मात्र ब्युरोमा पुगेको प्रहरीको भनाई छ ।
पर्साको बहुदरमाई नगरपालिका-५ बस्ने किशोरलाई पक्रे पनि उसमा कोरोना पोजिटिभ देखिएपछि प्रहरीले खोजेको बेलामा आउने गरी अभिभावकको जिम्मामा छाडिएको थियो । यसबीच मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता भएपछि उनी अभिभावकसँगै अदालत पुगेका थिए ।
उमेर,कोरोना र अहिलेको असहज अवस्थाका कारण ह्याकर किशोर धरौटीमा छुटेको बताइन्छ । प्रहरीका अनुसार उनले धेरै जनाको फेसबुक ह्याक गरेर पैसा मागेका थिए । ह्याक गरेर अर्को साथीको फेसबुकमा अनुरोध गर्दै पैसा माग्थे । उसले यसबीचमा श्रृंखलाबद्ध (चेन) ह्याक गरेको देखिएको छ ।
सम्भवतः नाबालक भएको नाताले अदालतबाट कडा कारबाहीको आदेश नहुने प्रहरी स्रोतले बताएको छ ।
टिप्पणीहरू