बालुवाटारका मान्छे गाउँफर्क अभियानमा
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूहका नयाँ नेता तथा कार्यकर्ता गाउँ गाउँमा पुगेका छन् ।
पुस ५ गते प्रधानमन्त्रीले संसद विघटन गरेपछि बिस्तारै सबैलाई चुनावको निम्ति माहौल बनाउन ‘गाउँ फर्क’ भनिएको थियो । त्यसैले अहिले उनीहरू शहरमा नबसेर गाउँतिर लागेको बताइन्छ ।
काठमाडौं महानगर बाहेक नजिकैका नगरपालिकामाहरूमा समेत चुनावकेन्द्रित माहौल बनाइएको छ । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका एकजना पूर्व अखिल नेता भन्छन् ‘त्यो निर्देशन अहिले होइन पुसमा भएको हो । स्वयम्भू पछाडिको नागार्जुन नगरपालिकामा कहिल्यै नदेखिएका युवाहरूले राहत बाँडेका छन् । त्यहि उदाहरण नै काफी छ ।’
विभिन्न आयोग तथा समितिमा आवद्ध नेता तथा कार्यकर्ताको संयोजनमा युवा परिचालन गरिएको हुनसक्ने अड्कल गरिएको छ । उनीहरूले यसबीचमा राहत वितरणको नाममा चुनाव केन्द्रित मानसिकता र माहौल बनाएका हुन् ।
यता बालुवाटारस्थित प्रधानमन्त्रीको किचेन क्याबिनेटका अधिकांश नेताले कार्यकर्ताहरूसँग पछिल्लो समयदेखि गाउँ केन्द्रित कुरा गरेको बताइन्छ ।
गृहमन्त्री रामबहादुर थापा बादलसँग एमाले प्रवेश गरेका केही कार्यकर्ता पनि अहिले गाउँतिर भेटिन्छन् । उनीहरू कसैलाई पनि काठमाडौंमा भेट्न नसकिएको उनै पूर्व अखिल नेताले बताए ।
कोरोनाको कारणले गाउँ गएका हुन् कि भनेर जनआस्थाले सोधेको जिज्ञासामा उनले भने ‘कोरोनाको कारणले होइन । त्यो क्रम अलि अघिदेखि नै भएको हो । जतिबेला बादलहरू बालुवाटार छिरे त्यो बेलादेखि नै सबै काठमाडौं बाहिर छन् ।’
स्रोत भन्छ ‘भूमि आयोग लगायत विभिन्न नाउँमा बालुवाटारको भित्री टिम चुनाव केन्द्रित माहौलमा लागिसकेको छ । बादल र बालुवाटारका कार्यकर्तालाई गाउँ केन्द्रित बनाइएको छ ।’ उक्त अभियानले चुनावमा काँग्रेसलाई असर नगरे पनि माओवादी केन्द्र र माधव नेपाल पक्षलाई भने राम्रै असर पर्ने ती नेता बताउँछन् ।
टिप्पणीहरू