झरीको याम र चटके राजनीति

झरीको याम र चटके राजनीति

यसपालीको हिउँदे मौसम र केही दिनयताको नेपाली राजनीति उस्तै छ । बिहान चर्को घाम लाग्दालाग्दै दिउँसो निथ्रुक्क भिजाउने मुसलधारे वर्षा जस्तै क्षण-क्षणका उत्तारचढावको राजनीति बुझिनसक्नु छ ।

पछिल्लो समय राजनीतिक उत्तारचढावको केन्द्रमा छ, एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी । यी दुई खेमाले लिने निर्णयले राजनीतिको कोर्स बदल्ने भएकाले आमचासो पनि उत्तिकै छ । दुवै दल अहिले सत्ता राजनीतिको निर्णायक पोजिसनमा छन् । तर, घण्टैपिच्छेका फरक अडान र निर्णायक घडीमा अनिर्णित हुँदा उनीहरुमाथिको विश्वास चुक्ने अवस्था छ ।

“आफ्नै विवेकले निर्णय गर्ने क्षमता भएको भए यस्तो निर्णय आउने नै थिएन ।”

पार्टीमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग अन्तरसंघर्ष चर्काइरहेको माधव नेपाल समूहका दुई दर्जन सांसदले राजीनामा दिने चर्चा चल्यो । एमालेलाई एकता पूर्वको अवस्थाबाट संचालन गर्नुपर्ने र गत फागुन २८ गते प्रधानमन्त्री ओलीले गरेको एकल निर्णय खारेज हुनुपर्ने नेपाल समूहको माग थियो । उक्त माग प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि नयाँ सरकार गठनका लागि नेता नेपालले विपक्षीहरुसँग बाक्लै छलफल र भेटवार्ता गर्नुभयो ।

पटक-पटक अल्टिमेटम दिएर प्रधानमन्त्री ओलीलाई दबाबमा राख्न खोजेको नेपाल समूह अन्तिममा आफैँ दबाबमा पर्यो र राजीनामाको निर्णयबाट ब्याक भयो । अघिल्लो साँझ १३ घन्टे अल्टिमेटम दिएर राजीनामाको चेतावनी दिएको नेपाल समूहको भोलिपल्ट बिहानभर आन्तरिक छलफलमै बित्यो । त्यसपछि पनि ओलीले कुनै रेस्पोन्स नगरेपछि राजीनामा पत्र बोकेर सिंहदरबार छिर्यो ।

तर ऐन मौकामा प्रकट हुने सँसदीय तानातानको शिकार भै आफैंभित्र एकमत हुन नसक्दा राजीनामा दिने निर्णयबाट एक कदम पछि हटेर संसद बैठकमा अनुपस्थित हुने निर्णयमा सीमित रह्यो । बैठकमा चर्का कुरा गर्दागर्दै केही साँसद सँसदको घण्टी बज्नासाथ नजिकैको क्यान्टिनबाट केरा किनेर ल्याउने भन्दै भाग्न थाले ।

“बैठकमा चर्का कुरा गर्दागर्दै केही साँसद सँसदको घण्टी बज्नासाथ नजिकैको क्यान्टिनबाट केरा किनेर ल्याउने भन्दै भाग्न थाले ।”

झन्डै तीन दर्जन सांसद रहेको नेपाल समूह अहिले पनि निर्णायक छ । विपक्षीलाई सरकार बनाउन होस् या प्रधानमन्त्री ओलीलाई फेरि सत्तामा फर्किन किन नहोस् नेपाल समूहको निर्णय कुर्नुपर्ने अवस्था छ । तर, नेपाल समूहको युवा पुस्ता भने आफैँमा कन्फ्युजनमा देखिन्छ । खासगरी माधव नेपालले अत्यन्तै विश्वास गरेका केही युवा नेताले साथ नदिएका कारण निर्णय हुन नसकेको बताइन्छ । तिनै नेताले आफ्नो भविष्य बिगारेर अरुको सत्ता किन बनाइदिनु, यसो गर्दा पार्टी फुटाएको दोष आफ्नो थाप्लोमा आइलाग्छ भन्दै अस्तिको राजीनामा अन्तिम घडीमा रोकेको चर्चा छ ।

आफूहरुलाई अल्मल्याउने र महन्थ ठाकुर समूहलाई तटस्थ राखेर फेरि संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको चालबाजी बुझ्न नसक्दा उपयुक्त निर्णय गर्न नसकेको नेपाल समूहका एक नेताको भनाइ छ । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘हाम्रावीचमा अहिले पनि खेल्ने काम भैरहेको छ । पार्टी मिलाउने र हाम्रा माग सम्बोधन गर्ने उध्देश्यले नै यो सबै भैरहेको ठानेर हो या के कारणले हो केही साथीहरु विश्वासमा पर्नुभएको छ । यो अन्ततः हाम्रैलागि प्रत्युत्पादक हुने देखिन्छ । अन्तिम घडीमा फेरि पनि केही आश्वासन दिएर आफ्नो समस्या टार्ने र काम सकिएपछि उत्तानो पार्ने पक्का छ ।’

“आफ्नो भविष्य बिगारेर अरुको सत्ता किन बनाइदिनु,यसो गर्दा पार्टी फुटाएको दोष आफ्नो थाप्लोमा आइलाग्छ भन्दै अस्तिको राजीनामा अन्तिम घडीमा रोकेको चर्चा छ ।”

नेपाल समूहले ठोस निर्णय गरेर राजनीतिक निकास दिनुपर्ने मत बाहिर पनि छ । ‘कि आत्मसमर्पणको शैलीमा मिल्न जाने कि बिद्रोह गर्ने । योबाहेक अरु विकल्पको खोजीमा दौडिनु भनेको समयको बर्बादी मात्रै हो’, ती नेता भन्छन्,ओलीजीलाई चिनिएकै छ,उहाँले कुनै हालतमा कम्प्रोमाइज गर्ने देखिंदैन ।’ यो सबै बुझ्दाबुझ्दै पनि अकर्मन्य हुँदा ओली अझै शक्तिशाली हुने र थप कर्नरमा पार्ने उनको बुझाइ छ ।

यता,जसपाको अवस्था पनि माधव समूहमा भन्दा फरक छैन । मधेसवादी दलहरु सत्ताका लागि फुट्छन् भन्ने आरोपलाई उनीहरुले यसपटक पनि मिथ्या सावित गर्न सकेनन् ।  पार्टी एकता भएको वर्ष दिन पुग्दानपुग्दै सत्ताकै लागि जसपा फुटको डिलमा पुगेको छ । पहिलेदेखि नै दुई खेमामा विभाजित देखिएको जसपा हिजो विश्वासको मतको प्रस्तावमा दुई फ्याक भएको छ ।

जसपाको उपेन्द्र यादव खेमा ओलीविरुद्ध जस्तोसुकै गठवन्धन बनाउन तयार हुँदा महन्थ ठाकुर खेमा भने ओलीलाई जोगाउन जे पनि निर्णय गर्न तयार देखिएको छ । विश्वासको मतबारे पार्टीको आधिकारिक धारणा तय गर्न बसेको पदाधिकारी बैठकले गरेको निर्णय झन् हास्यास्पद छ । पार्टी भनेको समान बिचार,उध्देश्य र रणनीतिका आधारमा बन्ने हो । तर जसपा एउटा पार्टीले दुईवटा निर्णय गर्यो र सांसदहरुलाई मन लागेको गर्न खुला छोडिदियो । फलस्वरूप: सांसदहरु विश्वासको मतको पक्ष र विपक्षमा समान संख्यामा विभक्त भए । सम्भवत: नेपालको राजनीतिक इतिहासमा यो नितान्त नौलो र अचम्मको घटना हो ।

जसपाको यो निर्णयलाई धेरैले कसैको निर्देशनको परिणाम भनेका छन् । ‘आफ्नै विवेकले निर्णय गर्ने क्षमता भएको भए यस्तो निर्णय आउने नै थिएन । हिजो प्रतिगमन भनेर जसकाविरुद्ध आन्दोलन गरियो, आज उसैलाई बोकेर हिंड्ने कुरा राजनैतिक नैतिकताको प्रश्नमा सबैभन्दा निच हो । फेरि पनि हाम्रा नेताहरु त्यसैमा दौडेका छन् । शायद कसैले यस्तो आइडिया दिएको होला’, जसपाकै एक नेता कटाक्ष गर्छन् ।

टिप्पणीहरू