गण्डकीमा लफडा : सांसदहरू आफूखुशी दौडेपछि चित्रबहादुरको चेतावनी (भिडियो )

गण्डकीमा लफडा : सांसदहरू आफूखुशी दौडेपछि चित्रबहादुरको चेतावनी (भिडियो )

आफूविरुद्धको अविश्वास प्रस्ताव तुहाउन लुम्बिनीमा जस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको रस्साकस्सी फेरि शुरु भएको छ ।

लुम्बिनीमा जस्तै प्रदेश प्रमुखले गुरुङ्गलाई रातारात शपथ ग्रहण गराउने आशंकामा रहेका विपक्षी काँग्रेस,माओवादी,जनमोर्चा र जसपा बहुमत जुटाएर सरकार दाबी गर्ने तयारीमा छन् ।

सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सक्किनै लाग्दा जनमोर्चाका सांसदले विपक्षी गठवन्धनमा हस्ताक्षर गर्न नमानेपछि कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया धरापमा परेको छ ।

“पार्टीले निर्णय गर्दा बाटो हिंड्ने बटुवाले के भन्छन् भनेर सर्भे गर्ने चलन हुन्छ ?”

पार्टीको निर्देशनविपरित आफ्ना २ जना सांसद मुख्यमन्त्रीको पक्षमा खुल्न थालेपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फोन गरेर तिनलाई पार्टी निर्देशनको अवज्ञा नगर्न सचेत गराउनुभएको छ ।

जनताले एमालेको मुख्यमन्त्रीलाई साथ नछाड्नु,पार्टीको ह्वीप नमान्नु भनेको भन्दै केन्द्रीय निर्देशन विपरित संसदीय दलका नेता कृष्ण थापाले हस्ताक्षर गर्न नमानेपछि आक्रोशित हुनुभएका अध्यक्ष केसीले पार्टीको निर्णय मान्न सचेत गराउनुभएको हो ।

उहाँले भन्नुभएको छ,’पार्टी संचालन गर्ने तौरतरिका हुन्छन् । बाटोमा हिंड्नेले के–के भन्छन् भनेर पार्टी चल्दैन । गाउँ–गाउँमा, टोल–टोलमा त केन्द्रले यस्तो नीति बनाएको भन्ने त थाहा हुँदैन । त्यसरी तल–तल गई जनमत लिएको भन्दै पार्टी चल्छ र ?’

“पार्टीले नेता बनाउँछ,सांसद बनाउँछ, प्रधानमन्त्री बनाउँछ भने सर्वेसर्वा पार्टी हैन ?”

केसीले पार्टीले बनाएका सांसदले पार्टी निर्णय विपरित जान नमिल्ने चेतावनी दिनुभएको छ । ’पार्टीले नेता बनाउँछ,सांसद बनाउँछ, प्रधानमन्त्री बनाउँछ भने सर्वेसर्वा पार्टी हैन ?’,आक्रोशित हुँदै उहाँले भन्नुभएको छ, ’पार्टीले निर्णय गर्दा बाटो हिंड्ने बटुवाले के भन्छन् भनेर सर्भे गर्ने चलन हुन्छ ?’

यसअघि जनमोर्चाका सांसद खिमविक्रम शाही प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेकै दिन`गायव’ भएका थिए । सांसद शाहीलाई आफ्नो पक्षमा ल्याउन सत्ता पक्षले प्रभावमा पारेको जनमोर्चाले दाबी गरेको थियो ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५,माओवादीका १२, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् । एक स्वतन्त्र सांसदले साथ दिँदा एमालेसँग २८ सांसद हुन्छ । सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । जनमोर्चाका सांसद जता खुल्यो उतै बहुमत पुग्ने अवस्था छ ।

तर,प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दलहरूलाई दिएको तीन दिनको समयसीमा घर्किनै लाग्दा आफ्ना सांसदले विपक्षी गठवन्धनमा हस्ताक्षर गर्न नमानेपछि केसीले टेलिफोन गरेर कडा निर्देशन दिनुभएको हो ।

त्यहि क्रममा सांसद पियारी थापा चाँहि नेता मोहनविक्रम सिंहको लाइनअनुसार काँग्रेसको पक्षमा उभिएर संसदीय दलका नेतालाई ह्वीप लगाएकी छन् ।

उनले दलका नेता कृष्ण थापा र खिमविक्रम शाहीलाई नै ह्विप लगाइदिएकी छन् । ह्विप सामान्यतयाः दलका नेताले अरुलाई लगाउने हो । तर, गण्डकीमा ह्विप मान्नुपर्नेले ह्विप जारी गर्ने नेतालाई नै उल्टै लगाइदिएका छन् ।

राष्ट्रिय जनमोर्चाभित्रै आफ्ना सांसद बिकाउ बनेकोमा एकथरि रुष्ट देखिएका छन् । अर्काथरिले कुनै हालतमा काँग्रेससँग घाँटी जोड्न नसकिने बताएका छन् ।

शाही र थापाले विगतमा काँग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई पीडादायी ढंगले मारेको र अंगभङ्ग हुने गरी घाइते बनाएकाले ऊसँग कुुनै पनि हालतमा मिल्न नहुने बताउँदै आएका छन् । तर, उनीहरूले पार्टीको निर्णयअनुसार गर्छु भनेपनि ठ्याक्कै यहि हो भनेर भन्न सकेको अवस्था नरहेको बताइन्छ ।

विपक्षी गठबन्धनले नयाँ सरकार गठनको निम्ति बहुमत पुर्याउन नसकेको अवस्थामा पृथ्वीसुब्बा गुरुङले नै ठूलो दलको नेताको हैसियतले सरकार बनाउने अवस्था बन्ने छ । संविधानअनुसार संघ र प्रदेशमा सरकार गठनको व्यवस्था एउटै प्रकृतिको छ ।

टिप्पणीहरू