देउवा आफैचाहिँ किन कतै नदौडेको ?
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको रस्साकस्सी शुरु भएको छ । विश्वासको मत परीक्षण गर्न सोमबार संसदमा जानुभएका प्रधानमन्त्री ओलीको पक्षमा आवश्यक संख्या नजुटेपछि नयाँ सरकार गठन प्रक्रियाले औपचारिकता पाएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गरिसक्नु भएको छ । तीन दिनको समयसीमा तोकेर राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम मिलिजुली सरकार बनाउन आव्हान गरेसँगै सत्ता समिकरणका जोड-घटाउ शुरु भैसकेको छ ।
“जसपालाई नै सरकारको नेतृत्वको प्रस्ताव गरे हुन्छ”
राष्ट्रपतिले बहुमत पुर्याएर सरकारको दाबी पेश गर्न आव्हान गरेलगत्तै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को एउटा खेमाले औपचारिक दाबी प्रस्तुत गरिसकेका छन् । तर, जसपाभित्रको आन्तरिक किचलो र विभिन्न शक्ति केन्द्रका इन्ट्रेष्टहरु टकराउँदा नयाँ सरकार गठनको प्रक्रियाले आकार लिन सकिरहेको छैन ।
माओवादी केन्द्रले औपचारिक निर्णय नै गरेर काँग्रेसलाई सघाउने निर्णय गर्दा जसपा एकमत छैन । जबकि वैकल्पिक सरकार गठनका लागि यी तीन दल एकै ठाउँमा उभिनु अनिवार्य हुन्छ । जसपाको उपेन्द्र यादव खेमा काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन तयार छ । तर, महन्थ ठाकुर खेमा प्रधानमन्त्री ओलीको पक्षमा खुलेको छ ।
“त्यसो भयो भने ओलीको बहिर्गमन हुन्छ,जसपा र एमाले दुवै विभाजनबाट पनि जोगिन्छन् ।”
विकल्प के ?
संसदमा एमाले १२१, काँग्रेस ६१, माओवादी केन्द्र ४९ र जसपाका ३२ (दुई जना निलम्बित) सांसद छन् । जसपाका ३२ सांसद दुई तिर आधा-आधा बाँडिएकाले कतै पनि बहुमत नपुग्ने स्थिति बनेको हो । सिंगो जसपासहित विपक्षीहरु एकैठाउँमा उभिन नसके सत्ता फेरि पनि ओलीकै हातमा पुग्ने निश्चित छ ।
“एमाले ठूलो पार्टी हुँदाहुँदै पनि लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाइएको हो । कांग्रेसले पनि सूर्यबहादुर थापालाई बोकेकै हो ।”
धारा ७६ को उपधारा २ बमोजिम बहुमत जुटाउन नसके सरकार गठनको अर्को प्रक्रिया शुरु हुन्छ, जुन प्रधानमन्त्री ओलीको चाहना पनि हो । राष्ट्रपतिले दिएको ३० गतेसम्मको समयसीमाभित्र ७६ (२)को सरकार बन्न नसके (३) को प्रक्रिया शुरु हुन्छ । उपधारा ३ मा उपधारा २ बमोजिमको सरकार बन्न नसके संसदमा ठूलो दलको अल्पमतको सरकार बन्ने व्यवस्था छ । त्यस्तो अवस्थामा एमाले संसद्को ठूलो दल भएकाले फेरि ओली नै प्रधानमन्त्री हुने देखिन्छ ।
सरकार गठनको प्रक्रिया ७६ (३) सम्म पुग्न नदिने हो भने दुईवटा विकल्प हुनसक्छ । एउटा जसपालाई एकतावद्ध बनाएर बहुमत सिद्ध गर्ने अर्को माधव नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने ।
“अहिलेसम्म प्रधानमन्त्री बन्न नसकेको मधेसी समुदायको गुनासो पनि सम्बोधन हुन्छ ।”
‘देउवा र प्रचण्डले जसरी पनि ओलीको बहिर्गमन चाहेको भए विकल्प उहाँहरुले नै खोज्नुपर्छ । माधव पक्षले राजीनामा देला र बहुमत पुर्याउँला भन्नुभन्दा जसपालाई नै सरकारको नेतृत्वको प्रस्ताव गरे हुन्छ’, जसपाका एक नेताले भने, ‘त्यसो भयो भने ओलीको बहिर्गमन हुन्छ, जसपा र एमाले दुवै विभाजनबाट पनि जोगिन्छन् । यो नै सबैभन्दा राम्रो बिकल्प हो ।’
विगतमा पनि साना दलको नेतृत्वमा सरकार बनेको उदाहरण दिँदै उनले अहिले पनि त्यो उपयुक्त विकल्प हुनसक्ने बताए । उनी भन्छन्, ‘हिजो ०५३ र ०५४ सालमा एमाले ठूलो पार्टी हुँदाहुँदै पनि लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाइएको हो । कांग्रेसले पनि सूर्यबहादुर थापालाई बोकेकै हो । अहिले ओलीको बहिर्गमन चाहेकै हो भने जसपाको नेतृत्वमा सरकार बनाउन किन नहुने ?’
“सरकारको नेतृत्व लिन आग्रह गर्दै प्रचण्ड,माधव नेपालदेखि उपेन्द्र-बाबुरामसम्मले बूढानिलकण्ठ धाएको देखियो । तर,जो प्रधानमन्त्री बन्ने भनिएको हो, ऊ आफैँ चैं कतै गएको देखिएन”
जसपाका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा सरकार गठन गर्ने विकल्प सुझाउँदै उनले त्यसो हुँदा नयाँ आधारमा नयाँ विश्वास कायम हुने र मुलुकमा स्थायित्व आउने दाबी पनि गरे । ‘हिजो पन्चहरुलाई बोक्न हुने, आज एउटा लोकतान्त्रिक दलको नेतृत्वमा सरकार बनाउन किन नहुने ?’, उनको तर्क छ ।
महन्थलाई प्रधानमन्त्री बनाउन सके एकै तीरले दुई शिकार हुने उनको विश्लेषण छ । उनका अनुसार एकातिर ओलीको बहिर्गमन निश्चित हुन्छ भने अर्कोतिर जसपा विभाजनबाट जोगिन्छ । अझ मुख्य कुरा त अहिलेसम्म प्रधानमन्त्री बन्न नसकेको मधेसी समुदायको गुनासो पनि सम्बोधन हुन्छ ।
नयाँ सरकार गठनको अहिलेको प्रक्रियालाई नजिकबाट बुझेका अर्का एक नेताको तर्क पनि त्यस्तै छ । एमाले फुट्यो भने बहुमत पुग्थ्यो भनेर बस्नुभन्दा अहिलेकै अंकगणितलाई आफू अनुकूल प्रयोग गर्नु उपयुक्त हुने उनको सुझाव छ ।
‘आफू प्रधानमन्त्री बन्न अरुलाई राजनीतिक शिकार बनाउनु भन्दा जसपालाई समेटेर जानु नै उत्तम विकल्प हो । दलहरुले चाहने हो भने त्यो सम्भावना देखिन्छ’, उनले भने ।
सरकार गठनले अझै ठोस आकार नलिनुमा देउवा पनि दोषी रहेको उनको तर्क छ । देउवाले सही समयमा पहलकदमी नलिंदा जसपाको एउटा पक्ष बालुवाटारतर्फ मोडिएको उनको दाबी छ । यसका पछाडि देउवाको ओलीसँग चुनावी सहमति भएको हुनसक्ने उनको आशंका छ ।
‘सरकारको नेतृत्व लिन आग्रह गर्दै प्रचण्ड, माधव नेपालदेखि उपेन्द्र-बाबुरामसम्मले बूढानिलकण्ठ धाएको देखियो । तर, जो प्रधानमन्त्री बन्ने भनिएको हो, ऊ आफैँ चैं कतै गएको देखिएन’, ती नेताले भने, ‘त्यसैले देउवाले ओलीको बहिर्गमन चाहेको हो कि चुनाव भन्ने अब थाहा हुन्छ ।’
देउवाले ओलीसँग कुनै सहमति नगरेको र नयाँ सरकार गठनलाई प्राथमिकतामा राखेको हो भने गणित पुर्याउन जुनसुकै विकल्पमा छलफल गर्न तयार हुनुपर्ने उनको तर्क छ ।
टिप्पणीहरू