हारेर पनि फेरि ओलीकै जीत ?
घरेलु तथा बाह्य परिस्थिति अनुकूल हुँदा प्रधानमन्त्री केपी शर्मा ओली हारेर पनि जीतउन्मुख हुनुभएको छ । ओलीका अगाडि विपक्षीहरुका रणनीति कमजोर हुँदा दुई-दुई पटक हारेर पनि उहाँ जित्ने अवस्थामा पुग्नुभएको हो ।
प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फागुन ११ गतेको निर्णय ओलीका लागि सबैभन्दा ठूलो हार थियो । संसद भंग गरेर चुनावमा जाने ओलीको निर्णयमा अदालतले अंकुश लगाउँदा उहाँ राजनीतिको लास्ट बेन्चमा पुग्ने धेरैको अनुमान थियो ।
तर,फागुन ११ को हारको समेत भरपाई हुनेगरी सर्वोच्चले १२ दिनपछि गरेको अर्को फैसलाले तँगृनुभएका ओली फेरि फस्ट बेन्चमै पुग्नुभयो । नेकपाको एकता भंग गरेर एमाले ब्युँताउने फागुन २३ को सर्वोच्चको फैसलाका कारण कोमामा पुगेको ओलीको राजनीतिले पुनर्जीवन पाएको त्यतिबेलै चर्चा भएको थियो ।
संसद्को अंकगणित यस्तो बनाइएको छ,जहाँ न सजिलै विपक्षीले बहुमत जुटाउन सक्छन्, न ओलीलाई अर्को सरकार बनाउन सहज छ ।
आफैंले विघटन गरेको प्रतिनिधिसभामा अस्ति विश्वासको मत परीक्षण गर्न जानुभयो ओली । विश्वासको मत नपाएपछि सरकार ढल्यो । यसलाई ओलीको अर्को हारको रुपमा विश्लेषण गरिएको छ । तर, परिस्थितिले फेरि उहाँलाई जीततर्फ डोर्याउँदै छ ।
ओली पदमुक्त बनेपछि नयाँ सरकार गठनको अन्योलता मात्र बढेको छैन पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टिको आधार पनि बनिरहेको छ । नयाँ सरकार गठनका लागि कस्सिएका विपक्षीहरुले आवश्यक बहुमत जुटाउन नसकेको अवस्थामा फेरि ओलीकै जित हुने प्रष्ट छ ।
संसद्को अंकगणित यस्तो बनाइएको छ,जहाँ न सजिलै विपक्षीले बहुमत जुटाउन सक्छन्, न ओलीलाई अर्को सरकार बनाउन सहज छ । यस्तो अवस्थामा संविधानअनुसार ठूलो दलको नेताको हैसियतले उहाँले नै अल्पमतको सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै गएको छ ।
“यसपटक नीति तथा कार्यक्रम नल्याउने,अध्यादेशबाट बजेट ल्याउने र मंसिरमा चुनाव घोषणा गर्ने योजनावद्ध तयारी छ ।”
एक महिना ढुक्कैले अल्पमतको सरकार चलाउने अनि फेरि संसद विघटनमा लैजाने रणनीति देखिन्छ । त्यसका लागि उहाँलाई छिमेकी भारतदेखि राष्ट्रपति र प्रमुख प्रतिपक्ष हुँदै महन्थ ठाकुरसम्मको सहयोग मिलेको प्रष्ट छ ।
‘महन्थहरुलाई होल्डमा राखेर धारा ७६ (२)को सरकार बन्न नदिने,७६ (३) को सरकारको नेतृत्व गर्दै विघटनसम्म जाने योजना छ’,जानकार स्रोत भन्छ, ‘त्यसैले यसपटक नीति तथा कार्यक्रम नल्याउने,अध्यादेशबाट बजेट ल्याउने र मंसिरमा चुनाव घोषणा गर्ने योजनावद्ध तयारी छ । त्यो भनेको पुस ५ को आफ्नो निर्णयको औचित्य पुष्टि गर्ने प्रयास हो ।’
प्रधानमन्त्री ओलीको यस्तो तयारी चुनावसम्मका लागि मात्र सीमित नरहेको बताइन्छ । तत्काल चुनाव नहुने आंकलन गरेरै मध्यावधि घोषणा गर्न उहाँ अग्रसर भएको कतिपयको दाबी छ । त्यसो त उहाँले आफू पाँच वर्षको प्रधानमन्त्री भएकाले पूरै अवधि चलाउने बताउँदै आउनुभएको छ ।
“यसैले भनिएको होला – राजनीतिमा जसले हान्यो उसले जान्यो ।”
‘संसद विघटनमा गयो भने सम्भवत: मंसिरमा चुनाव घोषणा हुन्छ । कोरोना महामारी बढिरहेकाले असाधारण परिस्थिति भनेर मंसिरको चुनाव वैशाखमा सारिन्छ । वैशाखमा पनि चुनाव हुने अवस्थाको के ग्यारेन्टी छ र ? त्यसपछि उहाँको सत्ता लम्बिंदै जान्छ’,उक्त स्रोतको दाबी छ ।
यता लुम्बिनी र गण्डकी प्रदेशमा पनि ओलीको यहि चलाखीले काम गरिरहेको छ । लुम्बिनीमा शंकर पोखरेलले विपक्षीलाई जिल्ल्याएर दोस्रो पटक मुख्यमन्त्रीको शपथ खानुभयो । गण्डकीमा पनि पृथ्वी सुब्बाको पासा पल्टिने लक्षण देखिंदैछ ।
एक सांसद दायाँबायाँ हुँदा सत्ता समिकरणमा उलटपुलट हुने स्थितिका बीच उहाँले जनमोर्चाका दुई सांसदलाई आफूतिर तानिसक्नु भएको छ । अहिलेकै अवस्था कायम रहे उहाँ फेरि मुख्यमन्त्री बन्ने कन्फर्म छ । त्यसैले भनिएको होला – राजनीतिमा जसले हान्यो उसले जान्यो । परिस्थितिले ओलीलाई पटक-पटक हारेर पनि जिताइरहेको छ ।
टिप्पणीहरू