संसद विघटनको मुखैमा सेनापतिलाई किन राख्नुपरेको होला साक्षी !
संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा सिफारिश गर्नुअघि प्रधानमन्त्री निवास बालुवाटारमा सेनापति पूर्णचन्द्र थापालाई समेत बोलाइयो । स्रोत भन्छ-जहिले पनि यस्तो काम गर्ने बेला पार्टीबाहिर तर सरकारी जिम्मेवारीमा रहेका कसै न कसैलाई साक्षी राखेजस्तो गर्ने प्रधानमन्त्री ओलीको शैली छ ।
मुलुकको कार्यकारी प्रमुखले बोलाएपछि जान्नँ भन्न पनि नमिल्ने । जाँदा कुनै आवश्यकता नै नपरेको ठाउँमा घण्टौं कुरेर बस्नुपर्ने ।
पहिले पार्टी विवाद उत्कर्षमा पुगेको बेला पोहोर बैशाखमा पनि प्रधानमन्त्रीले कहिले अख्तियारका प्रमुख त कहिले प्रधानन्यायाधीशलाई बोलाएर मध्यरातसम्म बालुवाटारमा भलाकुसारी गर्नुभएको थियो । हिजो पनि सेनापति थापालाई मध्यरातसम्म बालुवाटारमा राखियो ।
कात्तिक र मंसिरमा हुने भनिएको उपनिर्वाचन अगावै आगामी भदौ २५ मा सेनापतिको अवकाश हुँदैछ । त्यसो हुँदा सोझो हिसाबले साउनमै उहाँले बिदा बस्नुपर्ने हुन्छ । सरकारले पुनर्नियुक्ति गर्न मिल्ने वा नमिल्ने एकातिर होला । मुलुकको बिषम परिस्थितिका नाममा नयाँ नियुक्तिको सट्टा पुरानैलाई थमौती गर्नसक्ने सम्भावना पनि हुनसक्ला ।
अर्कोतर्फ सेनाको संगठनमा भर्खरै नयाँ संरचना लागू गरिएको छ । त्यसलाई मजबुत बनाउन पनि बहालरत सेनापति उपयुक्त भन्न सकिने आधारसमेत रहेको बताइन्छ । यो संरचना समन्वयको हिसाबले अब बाहिनीहरुले प्रदेशमा समन्वय गर्नुपर्ने हुन्छ । त्यसले चुनावको मुखमा अप्ठेरो पर्नसक्ने विश्लेषण गरिएको छ ।
विद्यमान पृतनाको संरचना हटेको र नयाँ संरचना पूर्ण रुपमा साउन १ गतेदेखि लागू हुने भनिएको छ । अहिले त्यसैको गृहकार्यको लागि सेनाले हरेक पृतनामा एडभान्स टिम खटाउन लागेको छ । दुई वटा पृतना मिसाएर एउटा कमाण्ड बनाइएकाले त्यसको समन्वय गर्नुपर्ने देखिएको छ । त्यसको लागि सेनाका अधिकृतदेखि सामान्य सैनिकसम्मको दरबन्दी र जनशक्ति मिलान तत्काल गर्नुपर्ने देखिन्छ ।
निर्वाचनको लागि आवश्यक चार वटै निकायका सुरक्षाकर्मी,म्यादी प्रहरी र कर्मचारी (स्थायी र म्यादी) गरेर झण्डै पाँच लाखको हाराहारीमा जनशक्ति खटाउनुपर्ने छ । त्यत्तिकै मात्रामा अन्य लजिस्टिक (सामाग्री) जुटाउनुपर्ने हुन्छ ।
यता,कोरोनाको महामारीमा अत्यावश्यक औषधोमुलो खरिदको लागि सरकारले विद्यमान खरिद ऐनको दफा लागू नहुने र अदालती झन्झट पनि ब्यहोर्न नपर्ने गरी सोझै किन्न सकिने व्यवस्था मिलाएको छ । जुलुश,धर्ना नहोस् भनेर स्वास्थ्य संकट्काल लगाउने तयारी त छँदैछ ।
टिप्पणीहरू