किन जान छाडे प्रधानसेनापति बालुवाटार ?
हिजो मध्यावधि निर्वाचनको घोषणा र संसद विघटनको लागि प्रधानमन्त्रीले सिफारिश गर्नुअघि बालुवाटारमा सेनापति मध्यरातसम्म बस्नुभयो । त्यसअघि जेठ ६ गते कोभिड १९ को अवस्थाबारे छलफल एकातिर हुँदै थियो भने अर्कोतिर एमाले स्थायी समितिको बैठक बसिरहेको थियो । त्यही बैठकको सेरोफेरोमा त्यस दिन पनि उहाँ बालुवाटार पुग्नुभएकै हो ।
सीसीएमसीको गत कात्तिकको बैठकमा नेपाली सेनाले एउटा बृहत रिपोर्ट पेश गरेको थियो । त्यो प्रस्ताव र प्रतिवेदन उपप्रधानमन्त्री तथा सीसीएमसी संयोजक ईश्वर पोखरेलले कार्यान्वयन नगरेपछि सेनापतिले प्रधानमन्त्री उपस्थित हुने र सेनाको प्रतिनिधित्व हुने बाहेकका कार्यक्रममा बालुवाटारतिर पाइलो नहालेको स्रोत बताउँछ ।
त्यसपछिका अधिकांश सीसीएमसी बैठकमा सेनापतिपछि दोस्रो वरियताका प्रभुराम शर्मा र कहिलेकाही दुई तारेसम्मलाई पठाइयो । तर सीसीएमसीमा अन्य सुरक्षा अंगका भने प्रमुखहरूले नै भाग लिएका थिए । उक्त प्रस्ताव पठाउनुअघिसम्म थापा कुनै कुनै बेला आफैं सीसीएमसीको बैठकमा उपस्थित हुने गरेको स्रोतको दाबी छ । सेनाका प्रतिवेदनमा कसरी कोरोनालाई परास्त गर्ने भन्नेबारे उपाय र रणनीति उल्लेख गरिएको थियो ।
जनआस्थालाई प्राप्त जानकारीअनुसार सेनाले छिमेकी मुलुक भारत,युरोप,अमेरिका, कोरिया र भियतनाममा कसरी कोरोना संक्रमणको रोकथामका उपाय अवलम्बन गरिएको थियो भन्नेबारेमा अध्ययन टोली बनाएर प्रतिवेदन बनाएको थियो । निकै लामो समय र मेहनतका साथ तयार पारिएको रिपोर्टलाई सीसीएमसीले रध्दीको टोकरीमा फालेपछि सेना रुष्ट बनेको हो ।
रिपोर्टको हवाला दिँदै स्रोत भन्छ ‘सावधानीका उपायहरू उल्लेख गरिएको थियो । त्यसमा प्रदेश, स्थानीय तह र केन्द्रले कसरी भूमिका निर्वाह गर्ने स्पष्ट छ । त्यसैगरी क्वारिण्टिन र होल्डिङ सेन्टरको बारेमा पनि विस्तृत रुपमा जानकारी गराएको छ ।’ भारतीय सीमा नाकामा रहेका होल्डिङ सेन्टर झन् मजबुत बनाउनुपर्नेमा यसबीच ती सबै व्यवस्था हटाइएकोतर्फ पनि सेनाले प्रतिवेदनमा सचेत गराएको छ ।
रिपोर्टमा सबै प्रान्त र जिल्लामा स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्नुपर्ने,होम क्वारिण्टिनलाई निरुत्साहित गर्नुपर्ने,अक्सिजन र आवश्यक स्वास्थ्य सामाग्री तयारी अवस्थामा राख्नुपर्ने भनेर लिखित रुपमा दिइएको सुझावलाई कार्यान्वयन नगरेको कारण अहिलेको भयावह अवस्था देखिएको हो । सेनाले उक्त सुझाव बेलैमा कार्यान्वयन गरेको भए अहिले मुलुकले यो दुर्दशा भोग्न नपर्ने ठहर गरेको छ ।
माघसम्म प्रतिवेदन कार्यान्वयन हुने आश राखेको सेनाले त्यसपछि माया मारेको थियो । स्रोत भन्छ ‘त्यसपछि प्रधान सेनापति प्रधानमन्त्री उपस्थित हुने सीसीएमसीको बैठक वा अन्य कार्यक्रममा मात्र सहभागी हुने तर उपप्रधानन्त्रीसम्मको कार्यक्रममा अनुपस्थित हुन थाल्नुभयो । अन्य सैन्य अधिकारीहरू सहभागी भएपनि सीसीएमसीको बैठकमा नजानिँदो किसिमले विवाद बढिरहेको थियो । त्यो थाहा पाएका प्रधानमन्त्रीले अन्ततः सीसीएमसी नै खारेज गरिदिनुभएको छ ।’
हालैको नयाँ अध्यादेशअनुसार सीसीएमसी खारेज भएको छ । सीसीएमसीको अध्यक्षता गर्ने उपप्रधानमन्त्री ईश्वर पोखरल पनि खोसिएर कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम अब उहाँ त्यस्तै समितिको सदस्यमा कायम हुनुभएको छ ।
यसअघि पनि पोखरेल रक्षामन्त्री हुँदा सेनासँग विवाद बढेपछि उहाँलाई प्रधानमन्त्री कार्यालयको जिम्मा दिएर उपप्रधानमन्त्री बनाइएको हो । अहिले पनि त्यसैगरी विवाद बढेपछि सीसीएमसी नै खारेज गरिएको बताइन्छ ।
टिप्पणीहरू