बूढा तात्दा युवाचाहिँ झन शीताङ्ग
प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेको नेपाल समूहभित्र एउटा प्रस्ताव आयो – सांसदहरुको सामूहिक राजिनामा । पार्टीभित्रको विवाद यथावत् राखेर विश्वासको मतमा जाने ओलीको निर्णयलाई ‘काउन्टर’ दिँदै नेपाल समूहले आफ्नो पक्षका सांसदहरुको सामूहिक राजीनामाको प्रस्ताव आन्तरिक छलफलमा ल्याएको थियो ।
अदालतको फैसलाअनुसार माओवादीसँग एकता हुनुपूर्वको अवस्थाबाट पार्टी संचालन गर्नुपर्ने न्यूनतम मागमा ओली सहमत नभएको अवस्थामा विश्वासको मत दिनुको अर्थ नहुने र फ्लोर क्रस या संसदमा अनुपस्थित हुनुभन्दा राजीनामा दिनु राजनैतिक नैतिकताका दृष्टिले उपयुक्त हुने सो समूहको निष्कर्ष थियो ।
“कोमल ओली, निरु पाल,गुरु भट्टराई,शर्मिला पराजुली ढकाल,अन्जान शाक्य,राजेश अहिराजहरूलाई नै दिनु,हामीलाई त्यसमा कुनै लोभ छैन ।”
सोही आधारमा २७ जना सांसदले एकमतले निर्णय गर्दै कुनैपनि बेला राजीनामा दिनपर्ने अवस्था आउने भन्दै बरिष्ठ नेता माधव नेपाललाई हस्ताक्षर बुझाएको नेताहरु बताउँछन् । युवाहरुको जोडमा वीचको बाटो निकालेर प्रधानमन्त्रीले बिश्वासको मत लिँदा अनुपस्थित हुने निर्णय पनि भएकै हो ।
तर,पछिल्लो समयसम्म आइपुग्दा नेपाल समूहका केही युवानेताले पार्टी एकता जोगाइराख्ने नाममा कतै नलागेर प्रकारान्तरले ओलीलाई सघाउन थालेको चर्चा छ । “पार्टी फुटाएर काङ्ग्रेसलाई किन सघाउने ? तिनले सत्तामा पुग्दा गर्ने व्यवहार ओलीभन्दा के कम छ ?”,उनीहरूको तर्क यस्तो हुने गरेको छ । त्यसैले कोही अस्ति हस्ताक्षर गर्नेमध्येकै केही ज्वरो आएको त कोहीचाहिँ कन्ट्याक्ट ट्रेसिङ्गमा परेको भन्दै अदालत नगई घरै बस्ने सम्भावना देखिन्छ । सबैभन्दा चर्का कुरा गर्नेहरु नै अहिले आफ्नो अडानबाट पछि हटेर धर्मराएको सो समूहका नेताहरु आशंका गर्छन् ।
‘उहाँले पेलेको पेल्यै गर्ने अनि अरुले चैं उहाँले जे भन्यो त्यहि मान्दिनु पर्ने हो र ? यत्रो समय थियो,उहाँलाई पार्टी मिलाउन के ले रोक्यो ?’
‘ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने भनी चर्का कुरा गर्ने उहाँहरु नै हो, पार्टी एकताका नाममा आत्मसमर्पण गर्न हुँदैन भन्ने पनि उहाँहरु नै हो,तपाईंले निर्णय गर्नुस् भनेर माधव कमरेडलाई जिम्मा दिने पनि उहाँहरु नै हो’,एक नेता भन्छन्,ओली कमरेड केही कुरा पनि छोड्न तयार नहुने भएपछि परिस्थिति यसरी विकसित भएको भन्ने त सबैले बुझिएकै छ नि !’
नेपाल पक्षसँग विचार समूहका आधारमा छलफल गर्दै नगर्ने बरु ब्यक्तिगत रुपमा निशर्त आफूतिर आउनेलाई उचित जिम्मेवारी दिने ओलीको प्रष्ट लाइन हो । त्यसैका आधारमा उहाँले नेपाल पक्षका नेताहरुलाई प्रभावमा पारेको हुनसक्ने अनुमान गरिएका बेला विभिन्न प्रस्ताव राखेर ओलीले आफूतिर तान्ने प्रयास गर्नु र सो समूहका नेताहरुको बालुवाटार झुकाव बढ्नु संयोग मात्र हो वा अरु केहि ?
“अब प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने अवस्था पनि छैन,फेरि पनि जेएन कमरेड आफैँ लागिरहनु भएको छ ।”
एक नेता भन्छन्,’मलाई त्यस्तो लाग्दैन,जो जो कमरेडहरुका विषयमा कुरा उठेको छ उहाँहरुको परिचय नै यही विचार समूह भनेर बनिसकेको छ । अहिले कमजोर बनेका बेला,अप्ठेरोमा परेका बेला अनेक प्रस्ताव गरिएला तर अन्ततः हेर्ने भनेको चैं विचार समूहकै आधार हो ,र त्यहीअनुसार व्यवहार गरिन्छ ।’
खासगरी अस्ति विपक्षी गठवन्धनको पक्षमा हस्ताक्षर गरेको भनिएका केही प्रभावशाली नेताहरुले नै आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएपछि नेपाल समूहभित्रको खटपट बाहिर देखिएको हो । तर,स्थायी कमिटी बैठकले नेता नेपाललाई सो सम्बन्धी निर्णय गर्ने अधिकार दिएको र त्यसैका आधारमा हस्ताक्षर संकलन गरिएको नेताहरु बताउँछन् ।
‘शुरुमा ज-जसले ओलीको बहिर्गमन अनिवार्य भन्दै माधव कमरेडलाई निर्णय गर्ने अधिकार दिनुपर्छ भने,जसले सामूहिक राजीनामाको कुरा गरे । अहिले उनीहरु नै यसका विरुद्ध उभिएको भन्ने सुनिन्छ तर मलाई विश्वास लागेको छैन’,तीनेता भन्छन्,’ ‘हामीभित्र त्यस्तो कुनै समस्या छैन । अध्यक्ष ओली सच्चिन तयार नभएपछि हामीसँग दुई विकल्प थिए । विद्रोह या आत्मसमर्पण । हामीले आत्मसमर्पण नरोजेकै हो ।’
एमालेको पुरानो पुस्ता (जो अधिकांश नेपाल समूहमा छ) उनीहरु अहिले पनि राजनीतिक संघर्षमै छन् । लामो समय पार्टी राजनीतिमा योगदान गरेका र पार्टीको नेतृत्व सम्हालेका नेताहरु अझै संघर्षमा छन् ।
झलनाथ खनाल,माधव नेपाल,आजदेखि फेरि वामदेव गौतम,अष्टलक्ष्मी शाक्य,भीम आचार्य,युवराज ज्ञवाली,मुकुन्द न्यौपाने,अमृत बोहोरा,प्रदीप नेपाल,राजेन्द्र पाण्डे,गङ्गालाल तुलाधर,अरुण नेपाल,जगन्नाथ खतिवडा,जस्ता पाका नेताहरु अहिले पनि नेपाल समूहमा छन् । जसले लामो समयदेखि ओलीका सवल र दुर्बल पक्ष नजिकबाट बुझेको छ ।
‘जेएन कमरेड ७२ वर्ष पुगिसक्नुभयो । अहिले स्वास्थ्य अवस्था बिग्रिएर घरमै हुनुहुन्छ । ०३९ देखि ४६ सालसम्म पंचायतको कठिन घडीमा उहाँले पार्टीको नेतृत्व गर्नुभयो । आठौँ महाधिवेशनमा केपी ओलीलाई हराएर पार्टी हाँकेको अनुभव उहाँसंग छ । अब प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने अवस्था पनि छैन,फेरि पनि जेएन कमरेड आफैँ लागिरहनु भएको छ । पार्टीको भविष्यको चिन्ता उहाँहरुलाई पनि छ । केपी ओलीले सूर्य चिन्हको भावनात्मक ब्ल्याकमेल गरेर मात्र पार्टीको चिन्ता गरेको हुने हो र ?’, तिनै नेता भन्छन् ।
पुस ५ गते गुमाइसकेको र अहिले पनि गएको पद जोगाउन एकताका नाममा आत्मसमर्पण गर्नु गलत हुने नेपाल समूहका धेरै नेताको भनाइ छ । अस्ति नेपाल पक्षका २६ सांसदले विपक्षी गठवन्धनमा हस्ताक्षर गरेपछि पार्टी एकताको सम्भावना टरेको ओली पक्षको भनाइ छ । ‘के २६ जनाले देउवाका पक्षमा हस्ताक्षर गरेका कारण एकता भाँडिएको हो त ?’, भन्छन्, ‘उहाँले पेलेको पेल्यै गर्ने अनि अरुले चैं उहाँले जे भन्यो त्यहि मान्दिनु पर्ने हो र ? यत्रो समय थियो,उहाँलाई पार्टी मिलाउन के ले रोक्यो ?’
ओलीले नेपाल पक्षलाई हरेक ठाउँमा बाइपास गर्दा अहिलेको अवस्था आएको बताइन्छ । ओलीले पार्टी,सरकारदेखि अन्य नियुक्तिसम्ममा एकलौटी गर्दा अन्तरविरोध शुरु भएको नेपाल पक्षका नेताहरु गुनासो गर्छन् । प्रदेश सरकार गठन गर्दा ओलीले चरम एकलौटी गरेको र त्यसयता लगातार पार्टी शासकीय जिम्मेवारीमा छानीछानी नेपाल समूहका नेतालाई कर्नरमा पारेको बताइन्छ ।
‘बागमतीमा अष्टलक्ष्मी कमरेड जो सिनियर हुनुहुन्थ्यो र महिला पनि । तर,गुट नमिलेकै कारण उनलाई दिएनन् । एक नम्बर प्रदेशमा त्यस्तै गरे । भीम आचार्य जस्ता सिनियर नेतालाई गुट नमिलेका कारण पछि पारेर शेरधन राईलाई मुख्यमन्त्री बनाइयो । गण्डकीमा पृथ्वीसुब्बा गुरुङलाई त्यसै गरी मुख्यमन्त्री बनाइयो’,उनी भन्छन् ।
नेपाल समूहले अहिले सरकार र राजनीतिक नियुक्तिमा कुनै चासो नभएको बताएको छ । पार्टीलाई एकतापूर्वको अवस्थामा फर्काउनु पर्ने उसको बटमलाइन छ ।
‘हामीले अरु के मागेका छौँ र ? संवैधानिक नियुक्तिमा भाग खोजेका छैनौँ । कोमल ओली, निरु पाल,गुरु भट्टराई,शर्मिला पराजुली ढकाल,अन्जान शाक्य,राजेश अहिराजहरूलाई नै दिनु,हामीलाई त्यसमा कुनै लोभ छैन ।
तर पार्टीलाई ७५ जेठ २ मा फर्काएर बिधिसम्मत ढंगले चलाउने कुरामा चैं हामी कम्प्रोमाइज गर्दैनौँ’,अर्का एक नेताले भने ।
टिप्पणीहरू