अस्पतालमा विचौलिया छिरेपछि ….
-प्रतिक्षा क्षेत्री
विचौलिया ! मालपोत, नापी, यातयात कार्यलय, श्रम कार्यलय, भन्सार, कर जस्ता दैनिक आर्थिक कृयाकलाप बढी हुने कार्यलयमा भेटिने विचौलियाहरु अस्पतालमा समेत भेटिन थालेका छन् ।
अस्पताल जहाँ मानिस जीवन जीउन अन्तिम विकल्प लिएर पुगेको हुन्छ त्यस्तो ठाउँमा समेत विचौलिया मार्फत उपचार गराउने, मरेपछि सदगद गराउनुपर्ने बाध्यता छ भन्दा धेरैले नपत्याउन सक्छन् तर यस्तै भएको छ यतिबेला । कोरोना महामारीको बेला सहयोग गर्ने बहानामा विचौलियाहरुले सेवाग्राहीलाई ठगीरहेका छन् ।
कोरोना महामारीको बेला जीवन जीउने एकमात्र विकल्पका रुपमा रहेको अस्पतालमा विचौलियाको विगविगी बढेको छ । अस्पताल परिसरमा देखिइरहने समूहले नै कोरोना संक्रमितहरुलाई सहयोगको नाममा लुट्ने गरेका छन् । कोभिड संक्रमित बिरामीहरुलाई अक्सिजन एम्बुलेन्स, सिलिन्डर, बेड, भेन्टिलेटर मिलाइ दिने भन्दै सामाजिक सञ्जालहरुमा समेत प्रचार–प्रसार गर्ने गरेकाहरुले नै विरामीका आफन्तलाई ठग्ने गरेको रहस्य बाहिर आएको छ ।
पछिल्लो पटक रुपन्देहीको भीम अस्पतालमा यस्तै घटना घटेको छ । यो सरकारी अस्पताललाई लुम्बिनी प्रदेश सरकारले कोभिड अस्पतालको रुपमा स्तरोन्नती गरेको छ । अस्पतालमा यतिबेला बिचौलियाहरुको विगविगी बढेर गएको स्थानीयहरु बताउँछन् ।
एक स्थानीय तिरबहादुर रोकाले भने, ‘अस्पतालमा जिउँदालाई त ठगीरहेका छन् मरेको लासलाई देखाएर पनि उनका आफन्तलाई ठगीरहेका छन् । कोभिड संक्रमितको मृत्यु भइसकेपछि लासको ¥यापिङ गरेको ३ हजार, शब ब्यवस्थापन गरेको ४० हजारसम्म लिने गरेका छन् । तर प्रशासन मौन छ ।’
गत आइतवार बिहान ९ बजे सिद्धार्थनगर नगरपालिका–१, पक्लिहवाका ७१ वर्षीय पुरुषकोे भीम अस्पतालमा मृत्यु भएको थियो । मृत्यु भएपछि उनका आफन्तले शब व्यवस्थापन गर्ने कसरी भन्दै योजना बनाइरहेका थिए । त्यसैबेला एकजना व्यक्ति आएर सहयोग गर्ने बताएपछि उनीहरु पनि खुसी भए तर पछि थाहा भयो उनीहरुले पैसा लिएर काम गर्दा रहेछन् ।
मृतकका आफन्त प्रेम रसाइलीले भने, ‘भिनाजुको मृत्यु भएपछि हामीहरु शब व्यवस्थापन कसरी गर्ने भनेर परिवारका सदस्यहरु अस्पताल परिसरमै सल्लाह गर्दै थियौं । त्यहीबेला चार जना आएर तपाईंहरुको मान्छेको कोभिडबाट मृत्यु भएको रहेछ, आवश्यक परे हामी सहयोग गर्छौ भन्नुभयो । हामीले हुन्छ भन्यौ, त्यसपछि उहाँहरुले साठी हजार लाग्छ भन्नुभयो । पछि छलफल गर्दागर्दै ४० हजार रकम दियौं । उनीहरुले नै सबै गरिदिए ।’ मृतक ती पुरुषको शव आइतवार दिनको करिव २ बजे भीम अस्पतालबाट स्वर्गद्वारी घाटमा लएर जलाइएको थियो ।
रकम लिएर शव ब्यवस्थापन गर्ने ब्यक्ति अस्पतालका हुन् की अस्पताल बाहिरका हुन एकीन नभए पनि अस्पताल भित्र नै यसरी शव ब्यवस्थापनको विषयमा मोलतोल हुनु गलत भएको स्थानीय धुर्व लाम्गादेले बताउनुभयो ।
अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलले भने अस्पताल परिसरमा विचौलियाहरु पाइए कारबाही गर्ने बताउनुभयो । पोखरेलले भन्नुभयो, ‘सहयोगको नाममा यसरी रकम लिन पाइँदैन । यदि त्यस्तो छ भने हामी अनुसन्धान गर्छौ ।’
सरकारको नियम अनुसार संक्रमितको मृत्यु भएपछि दुई तरिकाले शब व्यवस्थापन हुने गर्दछ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ को २१ (छ) अनुसार कोभिड १९ कारण मृत्यु भएका व्यक्तिको शवको व्यवस्थापन वा अन्त्येष्टि गर्दा आफ्नो परम्परा र संस्कृति अनुसार सम्बन्धित परिवार वा समुदायले २५ जनाभन्दा बढी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी व्यवस्था मिलाउने उल्लेख गरिएको छ । अर्को कोभिड संक्रमितको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जानकारी गराउनुपर्छ । त्यसपछि नेपाली सेनाले शब व्यवस्थापन गर्दछ ।
अस्पतालहरुमा अक्सिजन पाउन पनि विचौलियाको नै सहयोग लिनु पर्ने बाध्यता भएको सियारी गाउँपालिकादेखि आएका हिराबहादुर चौधरीले बताउनुभयो । चौधरीले भने, ‘हाम्रो विरामीलाई अक्सिजन चाहिएको थियो डाक्टरलाई कतिपटक भन्यौं तर कतै सुनुवाई भएन । तर पछि अस्पतालमै भेटिएका एकजना नेतालाई भनेको तुरुन्तै मिल्यो ।’
अस्पताल परिसरमा राजनैतिक दलका नेताहरुले स्वास्थ्य मापदण्ड उल्घंन गर्दै कोभिड पोजिटिभसँगै तस्वीर खिचाउने, भिडियो खिच्ने जस्तो गतिविधि गरेको भन्दै स्थानीयहरुले अस्पताल प्रशासनको ध्यानकर्षण समेत गराएका छन् । भीम अस्पतालमा आईसीयु ५, भेन्टिलेटर ५, नर्मल बेड ३६ र एचडीयू २८ वेड छन् ।
उता युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा प¥याप्त बेड नभएको भन्दै विज्ञप्ती जारि गरेपछि लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले विरामीको मनोबल गिराउने गरी प्रचारबाजी गरे कारबाही गर्ने निर्देशन दिएपछि विज्ञप्तीबाजी रोकिएको छ ।
उक्त अस्पतालमा पनि सामन्य मान्छे विरामी भएमा बेड पाउन सक्दैनन् । तर पहुँचवाला मान्छेले भनेमा तत्काल बेड पाउने गरेको बताइन्छ ।
टिप्पणीहरू