कोरोनाको महामारीमा पनि नक्कली काम ? जसरी पनि कमाउनै पर्ने दाम ?

कोरोनाको महामारीमा पनि नक्कली काम ? जसरी पनि कमाउनै पर्ने दाम ?

नक्कली स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने ललितपुरको एउटा कारखानामा प्रहरीले छापा मारेको छ ।

अवैधानिक रुपमा सञ्चालित तथा स्वास्थ्य मापदण्ड विपरित नक्कली स्यानिटाइजर उत्पादक ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४,इमाडोल, शीतल हाईटमा रहेको कारखानामा आज प्रहरीले छापा मारेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ । त्यस्तै कारखानामा तयारी अवस्थामा राखिएको स्यानिटाइजर,उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ लगायतका सामाग्रीहरू पनि नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरिक्षक चन्द्र कुबेर खापुङले जानकारी दिनुभयो ।

स्वास्थ्य प्रतिकूल र निम्न गुणस्तरको स्यानिटाइजर उत्पादन तथा बिक्री,वितरण भइरहेको सूचनाको आधारमा कारखानामा छापा मारिएको उहाँले बताउनुभयो ।

खापुङका अनुसार स्यानिटाइजरको ल्याब टेष्टबाट अत्यन्तै हानिकारक र विषाक्त पदार्थ पाइएकाले दोषीउपर कानुनी कारबाही अघि बढाइने छ । कारखानापछि उसका मुख्य डिलर र सप्लायर्सलाई पनि नियन्त्रणमा लिइएको खापुङ्गले जानकारी दिनुभयो ।

प्रहरीले कारखानामा ३० हजार लिटर विषाक्त स्यानिटाइजर हुनसक्ने बताएको छ ।

टिप्पणीहरू