अहिले नभने कहिले भन्ने,हाम्ले नभने कल्ले भन्ने
जनता भुलेका ती दलाल
दीर्घकालीन जनुद्धको नाममा जनतालाई भ्रम छर्दै शान्तिपूर्ण कार्यनीतिको नारा बोकेर सहर पसेको माओवादी नेतृत्व । शान्तिपूर्ण शहरिया कार्यदिशामै अन्तत: प्रतिक्रियावादी सत्तामा बिलीन हुन पुयो । युध्दमा हजारौँ जनताले बलिदान गरे,त्यत्तिकै संख्यामा घाइते अनि बेपत्ता भए, हज्जारौंले अपांग हुनु पर्यो ।
लाखौं जनता त्यसको प्रत्यक्ष मारमा परे । त्यतिबेलाको नेतृत्वलाई विश्वास गरी जनताले आफ्ना नानी,बाबु युध्दमा हाँसीहाँसी पठाए । आन्दोलनलाई चाहिने मात्रामा रगत–पसिना पठाइराखेका बेला एक्कासि माओवादी नेतृत्व शान्तिपूर्ण राजनीतिको मूलधारमा उदायो । देशैभर एकचरण माओवादीमय भयो,सत्ता पनि माओवादीमय भयो । तर, माओवादी मूल नेतृत्वको दिमाग भने खासमा माओवादीविहीन भएको कुरा जनताले धेरैपछि मात्रै थाहा पाए ।
कतिपय घटनामा त छोरीले बा मारेको,दाइले भाइ मारेको,मार्न नसकेर जागिर छाडेको दर्जनौँ, सयौँ घटना ताजै छन् ।
जतिबेला जनतासँग युध्दको क्षति,पीडा,आक्रोशबाहेक केही थिएन । जनतासँग एकातिर आफ्ना सन्तान गुमाएको पीडा थियो,अर्कोतिर युद्धमा भएको घाइते शरीर सम्हाल्नुपरेको थियो । कति सन्तान बेपत्ता बनाइएका थिए त्यसको जवाफ न माओवादी नेतृत्वले दिन सकेको थियो न त त्यतिबेलाको राज्य सत्ताले ।
नयाँ सत्ता बनाउने र पुरानो सत्ता टिकाउन चाहनेबीचको चेपुवामा जनता परेका थिए । त्यति हुँदा पनि नयाँ सत्ता बनाउनेहरूसँग जनताको माया,चासो र साथ सहयोग सत्तापक्षभन्दा कैयौँ गुणा बढी थियो । नयाँ सत्ता बनाउनेको पक्षमा हुनु भनेको मृत्युलाई स्वीकार्नुजस्तै थियो । जो इमान्दारीपूर्वक मृत्युलाई हाँसीहाँसी स्वीकार्न तयार भए सायद ती शहिद भए,बचेकाले घाइते अनि बेपत्ता हुनुपर्यो । बलात्कार र अनाहकमै गरिने राज्य पक्षको कुटाइ पिटाइको त कुरै नगरौँ । त्यतिबेला राज्यपक्षका सुरक्षाकर्मीबाट बलात्कार नभएका गाउँमा कमै चेलीहरू होलान् जो हाम्रो वर्गका हुन् ।
माओवादी आन्दोलनतिर आस्था राखेकै आशंकामा होस् या घरको भित्तामा राज्यविरुद्ध माओवादीले लेखेका राजनीतिक नारा या माओवादीलाई खाना खुवाएको बहाना बनाएर सरकारी पक्षका जल्लादहरूले अनाहकमै जनतालाई गोरु चुटेझैँ चुट्थे । अनावश्यक यातनाबाट बच्न कुटाइ खाने जनता कि मर्नुपर्थ्यो कि त कुट्ने सरकारी जल्लाद थाक्नुपर्थ्यो । अवस्था कतिसम्म बनेको थियो भने जनताको शरीरको सार्वभौम अधिकार केवल जल्लादहरूसँगै थियो । अधिकार मात्रै हैन मृत्यु र जीवन पनि उनीहरूकै इच्छामा थियो ।
तास खेल्नेलाई तास खुवाउने र रक्सी खानेलाई भौतिक कारबाही गर्ने माओवादी दलाल नेताहरू शान्तिकालको केही समयमै आफैँ रक्सीको डिलर राख्ने र रक्सी अनि तासबिना जीवनचर्या नकट्ने अवस्थामा पुगे ।
उनीहरूले चाहे बलात्कार गर्ने,चाहे कुट्ने र मार्ने । दृश्य,घटना परिघटना यस्ता थिए त्यो बलात्कार हुने र गर्ने,कुटाइ खाने र कुट्ने,युद्धमा घाइते हुने र मर्ने आखिर सबै एउटै वर्गका थिए । फरक उनीहरूको नेतृत्व गर्ने शासक वर्ग मात्रै थियो । अझ भनौँ कतिपय घटनामा त छोरीले बा मारेको,दाइले भाइ मारेको,मार्न नसकेर जागिर छाडेको दर्जनौँ, सयौँ घटना ताजै छन् । उक्त घटनाका पात्र पनि अधिकांश जीवितै छन् ।
युध्दमा भाग लिँदा जेल परेकाहरू, आस्थाका बन्दीहरू शान्तिपछि यातनाले निरीह भएको दुखाइको खानी शरीर लगेर घर फिरे जहाँ त्यहीँ दुःख र कष्टले भरिएको झुपडीमा केही थिएन । शहिदका नाममा बनाइएका सयौँ शहिदगेटहरू खण्डहर बने । घाइते नानी,बाबुलाई स्याहार्दै शहिद र बेपत्ता भएकाहरूका सन्तानलाई हेर्दे बूढा बा आमा घरको पिँढीमा आँसु झार्दै मृत्युको दिन पर्खेर बसे । उता रगत र पसिनाको आहालमा जन्मे,हुर्केका माओवादी नेता शहर पसे,चिल्ला गाडी र महलमा डिनर गर्न थाले ।
माओवादी नेताहरू गाउँबाट शान्तिको नाममा एकाएक नव शहरिया बने । गरिबबाट रातारात धनी बने । रगतसँग साटिएका हतियार प्रतिक्रियावादी सत्तालाई सुम्पिए । लुकाइएका हतियार माओवादी हेडक्वार्टरले करोडौँमा बेचेको हल्ला फैलियो । सत्तालाई रक्षा गर्ने जनमुक्ति सेनाको टाउको गनेर प्रतिक्रियावादी सत्तासँग अर्बौं रकम माओवादी दलाल नेताहरूले लुटे । उता शान्तिकालपछि गाउँका जाली फटाहा फेरि सानसौकत र तामझामसाथ जनता लुट्न पुगे सारमा गरिबहरूको सत्ता ढल्यो । फेरि जालीफटाहाको सत्ता र रजगज चल्न थाल्यो ।
माओवादी दलाल नेतृत्व चुनावताका मात्रै गाउँमा फर्किने त्यो पनि सत्तामा पुग्न भोट माग्नका लागि । मन्त्री बनेपछि भेटन पुगेका शहिद,घाइते,बेपत्ता परिवारलाई सिंहदरबार छिर्न नदिने,छिर्नका लागि आफ्ना सन्तान गुमाएका प्रमाणपत्र पेश गर्नुपर्ने अवस्था आयो । उता, गाउँमा हिजोका ती प्रतिक्रियावादी लुटेराहरूसँग छोटे माओवादी दलाल नेताहरू मिलेर शहिदहरूको नाममा आएको रकम पनि रक्सी र मासुभात खाएको बिल पेश गर्दै असुल्न थाले ।
युध्दको बेला तास खेल्नेलाई तास खुवाउने र रक्सी खानेलाई भौतिक कारबाही गर्ने माओवादी दलाल नेताहरू शान्तिकालको केही समयमै आफैँ रक्सीको डिलर राख्ने र रक्सी अनि तासबिना जीवनचर्या नकट्ने अवस्थामा पुगे । जनमुक्ति सेनाका दलाल कमाण्डरहरू मूर्ति चोरी गर्नेदेखि भूमाफियासम्मका दलाल बनेर अकुत सम्पतिको जोहोमा लागे । जो दलाल नेता र कमाण्डरको पछि लागेर दलाल बन्न तयार भएनन्, रक्सी र तासका अम्मली हुन सकेनन्,ती लाखौँ इमान्दार जनमुक्ति योध्दाहरू रोजगारीको खोजीमा घाइते शरीर बोक्दै अरब खाडीतिर बेचिन बाध्य बने ।
जनताको आत्मसम्मान र आममहिला समुदायको मुक्तिका खातिर मर्न हिँडेका महिला जनमुक्तिसेना एकछाक टार्न र एकसरो कपडा बदल्न देशदेखि विदेशका गल्लीमा भौंतारिन थाले । मानव तस्करको पहिलो निशानामा तिनै मुक्तियोध्दा बने । ती लाखौँ मुक्ति योध्दा बेच्ने अरू कोही नभएर शहरिया बनेका नवधनाढ्य माओवादी दलाल नेता र उनीहरूका आसेपासेले खोलेका म्यानपावर कम्पनी थिए ।
शान्तिकालपछि गौर हत्याकाण्ड भयो । उक्त हत्याकाण्डमा दर्जनौँ जनमुक्ति योध्दा मारिए । दिउँसै गौर मुक्तियोध्दाहरूको रगतले रंगियो । जनहत्याराले यतिसम्मको निर्ममतापूर्वक जनमुक्ति योध्दाको हत्या गरेको सुन्दा पनि असैह्य पीडा र आक्रोशले मनमा ज्वाला दन्किन्छ । घटनाबाट बाँच्न सफल व्यक्तिको बयानअनुसार जनसांस्कृतिक टिमका महिला योध्दालाई छोपेर गुप्तांगमा लाठीले घोचीघोची मारिएको थियो । पुलिस प्रशासन दर्शक बनेको थियो । त्यो घटनाका मुख्य योजनाकार अरु कोही नभएर अहिले जनता समाजवादी पार्टीका हेडक्वार्टरवाला दलाल नेताहरू नै थिए ।
माओवादी आन्दोलन र बिचार छाडेका बाबुराम पनि यतिबेला त्यही जनहत्यारो जत्थासँग पार्टी एकताको गला मिलाएर रमाएका छन् । यता, प्रचण्डको दाहिने हात कांग्रेस र मधेसवादी दल अनि त्यसभित्रका उपेन्द्र यादव र बाबुराम बनेका छन् । यदि,बाबुराम र प्रचण्डका सन्तानहरू गौर हत्याकाण्डमा मारिएका जनमुक्ति योध्दाजस्तै मारिएको भए सायद आज जनताले त्यो ताण्डव नृत्य बारम्बार हेरि राख्नुपर्ने थिएन होला न त प्रतिक्रियावादी सत्तामा सहजै विलिन हुने अवस्था आउने थियो । किनकि बलिदान यस्तो चिज हो जसको पूर्ण मुक्ति बिना उसको उद्देश्य र सपना हासिल हुँदैन ।
यतिबेला माओवादी आन्दोलनको ठूलो हिस्सा केन्द्रदेखि स्थानीय तहसम्म प्रतिक्रियावादी सत्ताको सक्कली नोकरशाह बनेका छन् । बाँकी हिस्सा विभिन्न टुटफुट हुँदै मूलतः व्यक्ति केन्द्रित बनेर फरक–फरक नामका पार्टी ब्यानर चलाई राखेका छन् । विचार, सिद्धान्त,कार्यदिशा,कार्यक्रम र संगठन हुबहु मिल्दा पनि क्रान्तिकारी कम्युनिष्टबीचको एकता उनीहरूका लागि क्षितिजको विषय बनेको छ ।
विद्यमान व्यवस्था,सत्ता र त्यसको नेतृत्व गर्ने शासक अनि राजनीतिक पार्टी देश र जनताको नेतृत्व गर्ने स्वालमा पूराका पूरा असफल हुँदा पनि विद्यमान व्यवस्थाविरोधी अझ जनयुद्धको सपना पूरा गर्ने भनी नयाँ तयारीमा जुटेका र हिजोका माओवादी आन्दोलनको खेमाबीच बेमेल मात्रै छैन विद्यमान व्यवस्थाविरोधी न्यूनतम आन्दोलनको उठान गर्न पनि सकिराखेका छैनन् ।
जनजीविका,जनतन्त्र र राष्ट्रियताले क्रान्तिकारी, कम्युनिष्टलाई हेर्ने,जनताले झिनो भए पनि आशा गर्ने तर नेतृत्वले टुलुटुलु हेर्ने अवस्था आएको छ । यो हुनुमा थुप्रै सैध्दान्तिक, राजनीतिक,सांगठनिक समस्या होलान् तर मूल समस्या भनेको जनताको बलिदान र सपनाप्रति इमान्दार नहुने नेतृत्व नै हो ।
-सत्य मुक्ति
टिप्पणीहरू