फुसको हट्ने,जस्तापाता टल्कने

फुसको हट्ने,जस्तापाता टल्कने

उदयपुरको चौदण्डीगढी नगरपालिकाले फुसको छानोलाई विस्थापित गर्न दुई सय ६७ घरधुरीलाई जस्तापाता (टिन) वितरण गर्ने भएको छ ।

नगर प्रमुख खगेन्द्र राईका अनुसार १ नं. वडामा ५४ घर,२ नं. वडामा ३८ घर,३ नं. वडामा २३ घर,४ नं.वडामा ४६ घर,६ नं. वडामा ९ घर,७ नं. वडामा ७ घर, ८ नं. वडामा ३० घर, ९ नं. वडामा ९ घर र १० नं. वडा हडियाका ३० घर गरी कूल २ सय ६७ घरधुरीलाई कर्कट पाता उपलब्ध गराइने छ ।

घरको छानो फुसको भएका र गरिब परिवार हुनुका साथै वडा कार्यालयले सिफारिस गरेको आधारमा यी सुविधा प्रदान गरिने छ । नगरवासीको सुविधाको लागि वडाको सिफारिसअनुसार पहिलो किस्तास्वरुप १० हजार जम्मा गरिनेछ र घर पुरै निर्माण भइसकेपछि तोकिएको बाँकी रकम सम्वन्धित व्यक्तिले पाउने नगरपालिकाले जनाएको छ ।

बन्दाबन्दिको बेला पर्याप्त रूपमा जस्तापाता बजारमा नभएकोले कुनै पनि हार्डवेयर पसलमा पहिलो किस्ताको रकम १० हजार जम्मा गरेर घर छाउन सक्ने पालिकाले जनाएको छ । जस्तापाता पाउनको लागि छनौट भइसकेका नागरिकले सम्वन्धित वडामा सम्पर्क गर्नु पर्नेछ,यसनिम्ति वडामा परिपत्र गरिसकिएको पालिकाले जनाएको छ ।

संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत (सुरक्षित नागरिक आवास समन्वय समिति) को गत १४ गतेको बैठकले गरेको निर्णयअनुसार मापदण्ड पुगेका गरिब घरपरिवारलाई जस्तापाता वितरण गरिएकाे हो ।

टिप्पणीहरू