दरबार हत्याकाण्डबारे यसरी लेखेको थियो जनआस्थाले
तत्कालीन राजा वीरेन्द्रको वंश नै सखाप हुने गरी भएको दरबार हत्याकाण्डको आज ठ्याक्कै २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते शुक्रबार राति भएको उक्त हत्याकाण्डमा राजा वीरेन्द्रसहित उनका सबै परिवार मारिएका थिए । राजपरिवारका अधिकांश सदस्यको ज्यान जानेगरी भएको कहालीलाग्दो हत्याकाण्डको अहिलेसम्म सत्यतथ्य बाहिर आउन सकेको छैन ।
हरेक वर्ष जेठ १९ गते समान्य चर्चा हुने र त्यसपछि अर्को सालको जेठ १८ गतेसम्म सामसुम हुने गरेको छ । दरबार हत्याकाण्डमा आधारित विभिन्न पुस्तक पनि प्रकाशन भएका छन् । विभिन्न समयमा विभिन्न व्यक्तिले आशंकाको संकेत गरेपनि ठोस प्रमाण अहिलेसम्म बाहिरिएको छैन ।
त्यसबाहेक न कुनै छानविन भएको छ,न यथार्थ बाहिर ल्याइएको छ । राजाको दरबारभित्र दर्जनौँको संख्यामा ज्यान जानेगरी भएको घटना २० वर्षसम्म पनि रहस्यकै गर्भमै रहनु अर्को रहस्यमय छ ।जेठ १९ को सन्दर्भमा जनआस्था साप्ताहिकले त्यतिबेला दरबार हत्याकाण्डबारे गरेको रिपोर्टिङ यहाँ उल्लेख गरिएको छ । हत्याकाण्डको १२ दिनका दिन अर्थात् २०५८ साल जेठ ३१ गते जनआस्थाले ‘राजपरिवारको हत्यासम्बन्धी ताजा विवरण’ शीर्षकमा ब्यानर न्युज छापेको थियो । उक्त समाचारमा दरबार हत्याकाण्डको चिरफार गर्नुका साथै त्यसपछिको सम्भावित परिस्थितिको विवेचना गरिएको छ । समाचारमा फ़िङ्गर प्रिन्ट्सको रिपोर्टपछि युवराज दीपेन्द्रले नै हत्याकाण्ड घटाएको कुरा समेटिएको छ । साथै तस्बीरसहित दीपेन्द्रले प्रयोग गरेको हतियार र त्यसको प्रकृतिबारे लेखिएको छ ।
सोही अंकमा प्रथम पृष्ठमै थप दुई वटा समाचार प्रकाशित भएका थिए । ‘बडा गुरुज्यूले हैन भन्नुभयो’ र ‘राजालाई गोली हानेको सुनेर’ दुई फरक-फरक शीर्षकमा समाचार छापिएका थिए ।त्यस्तै, ‘बडामहारानी घर फिर्ता, त्रिभुवन सदनमा तालाबन्दी’ शीर्षकमा जनआस्थाले असार १३ गते अर्को ब्यानर समाचार छापेको थियो । समाचारमा वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत रहेकै बेला बडामहारानी घोषित कोमल राज्यलक्ष्मी शाहलाई अस्पतालबाट डिस्चार्ज गरिएको कुरा उल्लेख छ । त्यस्तै,त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय,विपक्षी दलका नेता माधवकुमार नेपाल,राजपरिषद स्थायी समितिका सभापति डा. केशरजंग रायमाझी,सभामुख तारानाथ रानाभाट, राष्ट्रियसभाका अध्यक्ष डा. मोहमद मोहसिन, प्रधान सेनापति प्रज्वलसमशेर राणा र दरबारका सचिवलगायतका अधिकारीले कोमललाई महाराजगंजस्थित निर्मल निवास पुर्याउने कुरा उल्लेख गरिएको छ ।
उक्त समाचारमा नवघोषित राजा ज्ञानेन्द्रद्वारा शाही परिवारको अन्त्यष्टी तथा त्यससम्बन्धी सम्पूर्ण काममा संलग्न रहेका सैनिक,निजामति तथा प्रहरीतर्फका कर्मचारीलाई कम्तिमा एकदेखि दुईमहिनासम्मको तलब पुरस्कारस्वरूप दिने र वीरेन्द्र-ऐश्वर्य सेवा पदक प्रदान गर्ने नामावली तयार हुँदै गरेको कुरा लेखिएको छ । सोही समाचारमा जनविरोधका बाबजुद पारसलाई युवराज घोषणाको तयारी भैरहेको पनि लेखिएको छ । त्रिभुवन सदनको मुख्यद्वारमा हत्याकाण्डपछि तालाबन्दी गरेर राखिएको खुलासा पनि समाचारमा गरिएको छ ।त्यतिबेला जनआस्थामा सीताराम बरालको बाइलाइन ‘यस्तो थियो दीपेन्द्र-देवयानीको प्रेम’ शीर्षकमा समाचार आएको थियो । उक्त समाचारमा दीपेन्द्र र देवयानीको पहिलो भेटदेखि प्रेम कहानीसम्मका कुरा समेटिएका छन् । दीपेन्द्र लन्डनस्थित इटन कलेजमा अध्ययनरत रहेका बेला कुनै तालिमको सिलसिलामा देवयानी लन्डन पुगेको र उनीहरुको पहिलो भेट त्यहीँ भएको खुलाइएको छ । ‘उक्त भेटघाटमा दीपेन्द्रले ‘तिमी त नेपालको भावी बडामहारानी हुन लायक रहिछौ नि यार !’ भनेर जिस्क्याएपछि प्रेम सुरु भएको लेखिएको छ । तर उनीहरुको प्रेमको बारेमा ५१/५२ सालसम्म दरबारलाई कुनै जानकारी नभएको कुरा पनि जनआस्थाले खुलाएको छ । दीपेन्द्र २०४४ देखि ४७-४८ सालसम्म लन्डन बसेकाले त्यहिवीचमा भेट भएको हुनसक्ने भएपनि भेटघाटको मिति समाचारमा खुलाइएको छैन ।सोही अंकमा ‘दीपेन्द्रका एडीसीको नाम काटियो’ शीर्षकमा पनि समाचार छापिएको थियो । जनआस्थाले अर्को अंकमा ‘देवयानीलाई ओसार्ने गाडीबाट..’ शीर्षकको अर्को सामाग्री पनि बाहिर ल्याएको थियो । समाचारमा दीपेन्द्रलाई बाहिरफेर हिंड्दा एस्कर्टिङ्गमा प्रयोग गर्ने गरिएको र अन्यबेला देवयानीलाई दरबारभित्र र सम्पर्क थलोसम्म पुर्याउन उपयोग हुने गरेको गाडीको सिसाबाट स्टिकर झिकिएको विषय उल्लेख गरिएको छ । हरियो रंगको जिम्नी जिपको सिसाबाट कालो रंगको स्टिकर झिकिएको र उक्त गाडी एडीसी अफिसका बिनोज बस्नेत वा शशी सिंह चड्ने कुरा पनि समाचारमा खुलासा गरिएको छ ।‘श्री ५ वीरेन्द्रले अन्तिममा भनिबक्स्यो’ शीर्षकको अर्को अंकमा छापिएको समाचारमा हत्याकाण्डको एक घण्टाअगाडि राजा वीरेन्द्रले सर्वसाधारण नागरिकसँग सवा घण्टा लामो कुराकानी गरेको खुलासा गरेको छ । काठमाडौँ मैतीदेवीका पत्रकार माधवकुमार रिमालले राजा वीरेन्द्रसँग भेटघाट र भलाकुसारी गरेको कुरा समाचारमा उल्लेख गरिएको छ । समाचारमा राष्ट्रिय समस्याको विषयमा कुराकानी गर्न वीरेन्द्रले बोलाएको पत्रकार रिमालले बताएको कुरा लेखिएको छ । सो समाचारमा माओवादीका विरुद्ध सेना परिचालन गर्ने सरकारको कामप्रति वीरेन्द्र असन्तुष्ट रहेको कुरा रिमालको भनाइ भनेर छापिएको छ ।
‘धीरेन्द्रलाई कहाँ जलाइयो’, देवयानी र दीपेन्द्रको फोनवार्ता’, मुमाबडामहारानीको बेवास्ता’ शीर्षकमा पनि जनआस्थाले समाचार छापेको थियो ।असार २० गतेको अंकमा ‘नयाँ राजालाई निराजनका एडीसी’ शीर्षकमा अर्को ब्यानर न्युज छापिएको थियो । समाचारमा दरबार हत्याकाण्ड हुँदा अत्यावश्यक जिम्मेवारी पूरा नगर्ने अंगरक्षकहरुलाई कारवाही गरेकै दिन ज्ञानेन्द्रले आफ्नो नयाँ एडीसी नियुक्त गरेको कुरा महत्वका साथ् उठाइएको छ । सेनाका मेजर मधुकर एस कार्कीलाई ज्ञानेन्द्रले आफ्नो एडीसी नियुक्त गरेको समाचारमा छ । कार्की दिवंगत अधिराजकुमार निराजनको एडीसीका रुपमा त्यसअघि कार्यरत रहेको समाचारमा खुलाइएको छ ।‘काट्टे बाहुनको आँसु, दरबारमा मासु’ शीर्षकमा जनआस्थाले अर्को समाचारमा छापेको थियो । शाही शासनका बेला समेत निर्भीक भएर जनआस्थाले ‘उदण्ड पारशको हैसियत खुल्ने लाग्यो’ शीर्षकमा अर्को समचार दिएको थियो । उक्त समचारमा पारसले विभिन्न काण्ड मच्याएको र जनस्तरबाट शाहज्यादा उपाधि खोसेर कारवाही चलाउन माग गरिएको कुरा समेटिएको छ । आर्थिक वर्ष २०५७/५८ को बजेट पुस्तिकालाई स्रोत देखाएर पारसले राज्यकोषबाट मासिक २५ हजार शाहज्यादाको हैसियतमा बुझिरहेको कुरा पनि सोही समाचारमा उल्लेख छ । समाचारमा विवादास्पद छविका कारण ज्ञानेन्द्रले पारसलाई तत्काल युवराज घोषणा नगरेको हुनसक्ने भनिएको छ ।‘पारसलाई युवराज बनाइयो भने…’ शीर्षकको अर्को समाचारमा जनआस्थाले पारसको विवादास्पद छविका कारण युवराज घोषणा नगर्नु राजा र राजसंस्थाका लागि हितकर हुने टिप्पणी लेखेको छ ।
टिप्पणीहरू