स्वास्थ्य सामाग्री कालोबजारी गर्ने ३७ जना पक्राउ

स्वास्थ्य सामाग्री कालोबजारी गर्ने ३७ जना पक्राउ

निषेधाज्ञा अवधिभर स्वास्थ्य सामाग्रीलगायत अन्य अत्यावश्यक सामाग्री कालोबजारी गर्ने ३७ जना पक्राउ परेका छन् । कोरोना महामारीमा अक्सिजन सिलिन्डर, स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जालगायतका स्वास्थ्य सामाग्री र अन्य अत्यावश्यक सामाग्रीको कालोबजारी गर्ने ३७ जनालाई देशभरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, ८ जना पीसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, ४ जना स्यानिटाइजर कालोबजारी गर्ने, ३ जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने, २ जना रेम्डेसिभिर औषधी बढी मूल्यमा बिक्री गर्ने रहेका छन् ।

त्यस्तै, स्यानिटाइजर तथा अक्सिमिटर दुवै कालोबजारी गर्ने, विभिन्न औषधि तथा स्यानिटाइजर कालोबजारी गर्ने, गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्री गर्ने एक एक जना रहेका छन् । निषेधाज्ञा उल्लंघन गरी खोलिएका पसल बन्द गराउने तथा अनावश्यक हिँडडुल रोक्ने कार्यमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेकोमा ५ जना पक्राउ परेका छन् ।

उनीहरुबाट १३ हजार ७ सय ५६ लिटर स्यानिटाइजर तथा करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ वटा अक्सिमिटर तथा ७ सय ६५ वटा नक्कली अक्सिमिटर, ६ थान रेम्डेसिभिर तथा १ थान नक्कली रिमडेसिभिर, १ थान अक्सिजन सिलिन्डर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर इथानेल रसायन, विभिन्न स्टिकर, २ थान बिल प्याड र ४६ कार्टुन विभिन्न औषधि पनि बरामद गरिएको छ ।

पक्राउ परेका उनीहरुविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो अवधिमा काठमाडौं, रामेछाप, काभ्रेपलाञ्चोक, बारा, महोत्तरी, खोटाङ, बर्दियालगायतका जिल्लामा सवारी साधन दुरुपयोग गरी बढी भाडा असुलेर यात्रु बोक्ने सवारी साधनका चालकहरुलाई पनि कारबाही गरिएको छ ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित मारुती नन्दन जनरल स्टोरबाट म्याद गुज्रेका करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री समेत बरामद गरी नष्ट समेत गरिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू