नेताहरुको कान समात्न थाल साथीहरु !
-केशव थापा
करिब चार दशकदेखि संलग्न नेपालको कम्युनिष्ट आन्दोलन विभाजोन्मुख बन्दै गएको छ । श्रध्दा र सम्मान गरिएका नेताहरूको चरम दम्भ,अहंकार, ईर्ष्या र अरुलाई तृणबराबर पनि नगन्ने प्रवृत्ति घट्नुको साटो झनझन बढ्दो छ । देश,विदेशका लाखौं कार्यकर्ताले पार्टी विभाजन नगर्न गरेको अनुरोधको पटक्कै सुनुवाइ छैन ।
एकले अर्कालाई गलहत्याएर फ्याल्न एकपछि अर्काे विषाक्त पासो थाप्ने क्रम रोकिएको छैन । प्रकृतिको शाश्वत नियमानुसार अरुलाई फसाउन थापिएको पासोमा सके पहिल्यै वा नभए पनि कालान्तरमा थाप्नेवाला पनि अनिवार्य पर्नै पर्छ रे ! यदि यो साँचो हो भने ढिलो वा चाँडो आफै फस्नुपर्ने पासोप्रति नेताहरूको यतिसाह्रो मोह किन होला ?
हिजो नेताहरूको साँघुरो घेराभन्दा माथि उठी सहकार्यमार्फत महाधिवेशनको लागि समसामयिक र उत्कृष्ट नीति, कार्यक्रम तयार गर्ने,साठीको उमेरले नेटो काट्न लागिसक्दा पनि बल्लबल्ल दोस्रो पुस्ताको नेता बन्न सफल देश,दुनियाँले आशा गरेका नेताहरू आफूभित्रको कस्तुरीलाई चटक्कै बिर्सिएर विभाजनको अंशियार बन्ने क्रम पनि घटेको छैन ।
“बनाउनु पो महानता हो त बिगार्नु के पुरुषार्थ र “
मेची–काली, स्वदेश–विदेश,तराई–हिमाल सबतिर छाउने क्रममा रहेको कम्युनिष्ट आन्दोलनको पखेटा काट्न तँछाडमछाड हुँदै छ । सत्यलाई त निरपेक्षतामा होइन, सापेक्षतामा हेरिनुपर्छ भनिन्छ । यसर्थमा एकअर्काप्रति चोरऔंला ठड्याएर नेताहरूले उन्मुक्ति पाउने अवस्था छैन । लामो समय नेताहरूको अघिपछि लागेका, उनीहरूको सबलता,दुर्बलता, मानसिक उद्वेग सबै थाहा पाएका दोस्रो पुस्ताका नेताहरूले शीर्षस्थ नेतृत्वलाई उहाँहरूको व्यक्तित्व ह्रासोन्मुख र अलोकप्रिय बन्दै गएको तथ्य सम्झाउने हिम्मत गरेको देखिँदैन ।
नेकपा एमालेका वर्तमान शीर्षस्थ नेताहरू जन्मनेताका वा जन्मनुभन्दा केही वर्षपहिले नै कमरेड पुष्पलालको अगुवाइमा जनवादी क्रान्तिको ध्येयका साथ नेकपाको स्थापना भैसकेको थियो । वीसको दशकको प्रारम्भ वा मध्यदेखि उहाँहरू यस आन्दोलनमा सरिक भएर अन्यमनस्क अवस्थामा रहेको आन्दोलनलाई सामूहिक प्रयत्नमा समुन्नत बनाउँदै ल्याउनुभएको मात्र हो ।
सूर्य आफैसँग राखेर झेलीखेलका साथ कसैलाई घेराबाट बाहिर पार्दा राप,ताप र प्रकाश उतै पनि जाला कि भन्ने हेक्का राख्नैपर्छ ।
प्रारम्भमा परिवर्तनको अचुक उपाय हिंसा नै रोजे पनि झापा आन्दोलनको उपलब्धि,नोक्सानी,विश्वका अन्य मुलुकमा पनि हिंसाको मार्ग अलोकप्रिय,असफल भएको तथ्यबाट पाठ सिकी जनआन्दोलनबाट पनि परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता बोक्दै आएको नेकपा माले/एमालेले संयुक्त वाममोर्चा (सर्वमान्य नेता गणेशमानको आग्रह र तत्कालीन आवश्यकताअनुसार) गठन गरी नेपाली कांग्रेससमेतको संयुक्त जनआन्दोलनले पञ्चायती निरंकुशतालाई परास्त गर्ने आन्दोलनको महत्वपूर्ण सूत्रधार बनेको थियो । त्यसबेलादेखि यो शक्ति नेपाली राजनीतिको उदयमान एक महत्वपूर्ण शक्तिको रुपमा क्रियाशील रहँदै आएको छ ।
विक्रमादको चालिसको दशकको अन्ततिर पुग्दानपुग्दै पर्याप्त आधार र तयारी तथा भावीपरिणामको पूर्वानुमान नै नगरी रुसी नेतृत्वले घोषणा गरेको ‘ग्लास्तनोस्त र पेरेस्त्रोइका” नीतिको परिणामस्वरुप रुसलगायत यूरोपेली देशका कम्युनिष्ट आन्दोलन भटाभट पल्टा खान थाले । ‘उदारिकरण र खुलापन” को चक्रवातले यिनीहरूलाई प्वाँखजस्तो उडाएर कहाँ हो कहाँ पर पुर्यायो । त्यो चक्रवातले नेपालमा पनि बित्याँस पार्ला कि भन्ने संशय थियो । अब कम्युनिष्टका दिन सकिए भनेर विरोधीहरू काखी बजाउँदै थिए । सिर्जनात्मक सोच नभएका र मार्क्सवादलाई पुराण,बाइबल ठान्ने यथास्थितिवादीहरू भयले थुर्थुर काम्दै थिए । नेकपा माले महासचिव मदनकुमार भण्डारी लगायतका नेताहरू बदलिँदो समयको चापलाई बुझेर बहुदलीय जनवादको सिध्दान्त प्रतिपादनमा जुट्नुभएको थियो । आखिर यो सिध्दान्तले कम्युनिष्ट आन्दोलन रक्षाको लागि ‘सञ्जिवनीबुटी’ को काम गर्यो ।
विश्व कम्युनिष्ट आन्दोलनले पनि ठूलो राहत महसुस गर्यो । कमरेड मदनको अवसान,अध्यक्ष मनमोहनको सादगीपन र नेकपा एमालेका नेताहरूको अदूरर्शिताले ०५४ सालमा महाकाली सन्धिको बहानामा नेकपा एमाले एकीकरणको इतिहासको पांग्रा खुस्किएर विभाजनको नमीठो पीडा खेप्नुपर्यो । उतिबेलै सम्भावना भएको कम्युनिष्टहरूको बहुमतको सरकार यही कारणले बन्न सकेन । संसारले सह्राहना गरेको उत्कृष्ट संविधान पाएर पनि नेपालको बहुदलीय प्रजातन्त्र कमजोर र मूल्यहीन बन्दै बन्दै सांसद खरिद बिक्री,होटलका कोठामा जनप्रतिनिधिलाई दलीय डण्डाले बन्दी बनाएर नीला तस्बिर देखाउनेसम्मका हर्कत व्यहोर्न विवश भयो । पुरुष माननीयहरू द्रव्यमोहमा फसेर सुत्केरी हुनेसम्मको अवस्थामा पुगे । राजा ज्ञानेन्द्रमा शासनसत्ता हातमा लिने आँट पलायो । सशस्त्र द्वन्द्वले फस्टाउनको निमित्त आधारभूमि फेला पार्यो ।
०६२/६३ को दोस्रो जनान्दोलनपछि नेकपा माओवादीले पहिलो,नेकाले दोस्रो स्थानको मत पाउँदा पनि पहिलो संविधानसभाले नेपालको संविधान जारी त के त्यसको मस्यौदासम्म पनि तयार गर्न सकेन । दोस्रो संविधानसभा निर्वाचनको लागि दलका नेताविहीन सरकार गठन गरियो । नेपाली जनताको भविष्य र सरोकारका विषयलाई ओझेल पारेर बाह्य एजेण्डाले प्रश्रय पाउन थाले । नेपालको संविधान संविधानसभास्थलभन्दा बाहिर तयार हुनेसम्मका हर्कत भए । संविधानकै बखेडामा छिमेकी देशले अघोषित नाकाबन्दी गर्यो ।
संविधान तत्काल जारी नगर्न सकेसम्मको दवाव दियो । पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सिंगो एमाले पंक्ति यी सबै प्रहारविरुद्ध दृढतासाथ उभिएकैले नेपाली जनताले नेकपा एमालेलाई प्रतिनिधिसभा प्रयोजनका लागि भएको पछिल्लो आमनिर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाएर पुरस्कृत गरेका हुन् । यी कहर र कष्टलाई चटक्क बिर्सेर एकले अर्कालाई सिध्याउने उपक्रम रची जनमतको अपमान गर्ने बाटोमा हिँड्न नेकपा एमालेका नेतालाई के ले बाध्य पारिरहेको छ, बुझ्न सकिएको छैन ।
अत्यधिक मतकासाथ विजयी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री,सयौं फूलहरूलाई फुल्न दिनुपर्छ भन्ने आन्तरिक जनवादको लागि नाम कमाएको पार्टीको लोकप्रिय अध्यक्ष,नेपालीहरूको मुर्झाएको सपना बौराउने उत्साही नेता, प्रतिकूल स्वास्थको बावजुद पनि अठार घण्टा काममा खट्न सक्ने अथक व्यक्तित्वले क्षमा ठूलो मानिसको विशेषता हो सम्झँदै असामान्य अवस्थामा सहकर्मीहरूबाट भए/गरेका गतिविधिलाई एकपटकलाई विस्मृति राखेर एकताको सार्थक पहल गरी देश,जनता,कार्यकर्ता, कम्युनिष्ट आन्दोलन र आफ्नै व्यक्तित्वप्रति न्याय गर्नैपर्छ । बनाउनु पो महानता हो त बिगार्नु के पुरुषार्थ र भन्ने तथ्य स्मरण गर्नुपर्छ ।
पार्टीले यथोचित स्थान र भूमिका प्रदान गर्दागर्दै पनि कोही बटारिएर जान्छ भने त्यो उसकै विवेकको कुरा भयो । पार्टीको साराशक्ति धारण गरेर बस्नु भएको अध्यक्षले चाहने हो भने अहिलेको अप्ठेरो सहजै हल हुने देखिन्छ । सूर्य आफैसँग राखेर झेलीखेलका साथ कसैलाई घेराबाट बाहिर पार्दा राप,ताप र प्रकाश उतै पनि जाला कि भन्ने हेक्का राख्नैपर्छ ।
‘वरिष्ठ नेता’ हरूले सो पदको गरिमा धान्न र उहाँहरूले भन्ने गर्नुभएको विधि र प्रक्रियाको हुर्मत जोगाउन जस्तो पनि गठबन्धनमा सामेल हुने उपक्रम बन्द गर्दै आफ्नो ऊर्जा र क्षमता पार्टी एकता बचाउने काममा लगाउनु पर्छ । आफ्ना असहमति र असन्तुष्टि अभिव्यक्तिको लागि पार्टीमा स्थान उपलब्ध नभएको अवस्थामा लेख,अपिल, अन्तर्वार्तामार्फत अभिव्यक्त हुने प्रयास गर्नुपर्छ । अन्य बाटो रोज्नु हुँदैन ।
मिलन संभव नै नहुने अत्तो थापेरभन्दा नयाँ घटनाक्रमले थपेका जटिलता र कठिनाईहरूलाई मध्यनजर गर्दै ‘विन विन’को नीति अवलम्बन गर्ने लचकता अपनाउन सक्नुपर्छ । नेपाली कम्युनिष्ट आन्दोलनमा कसैले चाहेर पनि मेट्न नसक्ने इतिहास बनाइसक्नुभएका उहाँहरूले अहिलेको अस्वभाविक अवस्थाको अपमान र पीडाबाट आत्तिएर नेकपा एमाले छाड्ने गलत निर्णय लिनुहुँदैन । यो रिसले चुर भएको बेला लिइएको गलत निर्णय कुनै दिन पुनर्विचारित वा खारेज हुने नै छ ।
दुवैतर्फका विश्वासिला नेता-कार्यकर्ता-शुभेच्छुकले यहाँभन्दा अतिको लागि कसैलाई उक्साउनुहुन्न । पार्टी विग्रह नचाहने हो भने देशभरका कार्यकर्ताले हतारहतार कित्ता छान्न छाडेर नेताहरूको कानसम्म पुग्ने गरी ‘नो डिभिजन’ को आवाज घन्काउनुपर्छ ।
टिप्पणीहरू