कोही गए बहादुर भवन,कोहि बालुवाटार

कोही गए बहादुर भवन,कोहि बालुवाटार

निर्वाचन आयोगले आधिकारिक पदाधिकारी र तिनले लिएको निर्णयवारे अनुसूची ढाँचाअनुसारको पत्र पठाउन पत्राचार गरेको भोलिपल्टै जसपाको उपेन्द्र यादव पक्षले आज सोबमोजिमको पत्र दर्ता गरेको छ ।

नेता रामसहाय प्रसाद यादव र कार्यालय सचिव प्रकाश अधिकारीले आज दिउँसो बहादुर भवन पुगेर केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र दर्ता गरेका हुन् । पत्र दर्ता गर्दै उनीहरुले प्रक्रिया अघि बढाउन आयोगका कर्मचारीलाई आग्रह पनि गरेका छन् ।

पत्र दर्ता भएको जानकारी दिँदै आयोग स्रोतले अर्को पक्षको पत्र आएपछि दुवै भेरिफाइ गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएको छ ।

जसपाका दुवै पक्षले बुझाएको पत्र राजनीतिक दलसम्बन्धी नियमावलीको ढाँचाअनुसार नभएकाले ढाँचाअनुसारको अर्को पत्र पठाउन भन्दै आयोगले हिजो दुवै पक्षलाई पत्र पठाएको थियो । सोहीअनुसार २७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित उपेन्द्र पक्षले पत्र दर्ता गराएको हो ।

आयोगका अनुसार अहिले दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरेका छैनन् । दुवै पक्षले कारवाही गरेको जानकारी दिँदै पदाधिकारी विवरण अद्यावधिक गराउन मात्र आग्रह गरेका हुन् ।

महन्थ खेमाले भने अहिलेसम्म अनुसूचिको ढाँचाअनुसारको पत्र दर्ता गराएको छैन । अस्ति कारवाहीको पत्र दर्ता गराउँदा पनि महन्थहरुले केन्द्रीय कार्यकारिणी समितिको निर्णय र सदस्यहरुको हस्ताक्षर बुझाएका थिएनन् । उपेन्द्र पक्षले निर्णय र हस्ताक्षर बुझाएको भएपनि अनुसूचीको ढाँचा नमिलेकाले आयोगले छानविन प्राक्रिया थालेको थिएन ।

यसअघि उपेन्द्र पक्षले ठाकुरसहित राजेन्द्र महतो,सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निश्कासन गरिएको पत्र आयोगमा दर्ता गरेको थियो । लगत्तै ठाकुर खेमाले उपेन्द्रलाई कारवाही गरिएको पत्र आयोगमा पठाएको थियो ।

यता,महन्थ खेमाका नेताहरु अहिले बालुवाटार पुगेका छन् । अध्यक्ष ठाकुर,नेता महतो, शरतसिंह भण्डारी र अनिलकुमार झा बालुवाटार छिरेको बताइएको छ । उनीहरु पार्टी फुटाएर सरकारमा जाने तयारीमा रहेको चर्चा छ ।

टिप्पणीहरू