सांसदको गाडीले हिर्काएर मान्छे मार्यो
प्रदेश १ की सांसद बिन्दिया कार्कीको गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
विराटनगर महानगरपालिका–४ स्थित विमानस्थल नजिकै नहरको छेउ हुँदै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले हिजो साँझ दुई जना पैदल यात्रीलाई एकै पटक ठक्कर दिँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट मृत्यु हुनेमा न्यू एभरेष्ट फर्निचर उद्योगमा कार्यरत भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्मा रहेको प्रहरीले बताएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याएलगत्तै मृत घोषणा गरिएको हो ।
मृतक शर्मासँगै घाइते भएका मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय रामकुमार राजवंशीको नोबल शिक्षण अस्पताल,विराटनगरमा उपचार भइरहेको छ ।
ठक्करपछि चालक फरार छन् । चालक सांसद कार्कीका आफ्नै छोरा रहेको बताइए पनि प्रहरीले भने चालकको पहिचान हुन नसकेको बताएको छ ।
टिप्पणीहरू