रुसी सांस्कृतिक केन्द्रले भन्यो, ‘कर्मचारी बेपत्ता भइन्’
काठमाडौंको कमलपोखरीस्थित रुसी साँस्कृतिक केन्द्रले आफ्नो कार्यालयकी प्रशासकीय कर्मचारी दुई महिनादेखि बेपत्ता भएको व्यहोरा खुलाउँदै सूचना प्रकाशित गरेको छ ।
प्रियंका थापा नामक प्रशासनतर्फकी कर्मचारी दुई महिनादेखि कार्यालयलाई जानकारी नगराई बेपत्ता भएको उल्लेख गर्दै सूचनामा केन्द्रका अधिकारीहरूले लगातार उनको फोन नम्बरमा कल गर्दा र इमेल पठाउँदासमेत सम्पर्क हुन नसकेको बताइएको छ ।
ती सबै आधारमा थापाले केन्द्रलाई पूर्वजानकारी नगराई सेवाबाट हटेको अर्थ लागेको उल्लेख गर्दै भनिएको छ-उनको जिम्मेवारीमा रहेका केही काम सम्पन्न भएका छैनन् । हाजिरीसमेत गरिएको छैन । त्यसबाट अन्य कर्मचारीमा बोझ थपिन गएको छ । त्यसैले सात दिनभित्र कार्यालयलाई आवश्यक जानकारी गराउनुहोला । अन्यथा, तपाईंसँग गरिएको सम्झौता कानुनबमोजिम रद्द भएको मानिने छ ।’
केन्द्रको अचम्मको सूचनाले निज थापा अहिलेको महामारीमा परेर कतै असहज अवस्थामा छन् कि ? अथवा विदेश पलायन भइन् कि वा आफू साथै परिवारका सदस्य निकै अशक्त अवस्थामा पो छन् अथवा अन्य कुनै असहज अवस्थामा पनि हुनसक्ने सम्भावना पो थियो कि प्रष्ट छैन ।
सूचनाबाट कुनै पनि कार्यालयले आफ्ना कर्मचारीको घर वा सम्पर्क ठेगानाबारे कुनै जानकारी नराखेको प्रष्ट भएको छ । त्यसका आफ्नै प्रक्रिया हुन्छन् । तर, सामान्य अवस्थामा फोटोसहितको यस्तो सूचना प्रकाशित गर्दा सम्बन्धित व्यक्तिको निजी गोपनीयतातर्फ पर्याप्त ध्यान पो पुर्याइएन कि ! भन्ने जनगुनासो सुनिन थालेको छ ।
टिप्पणीहरू