तानसेनमा एकै दिन १२ सय बढि संक्रमित, कतिपय शव अलपत्र

तानसेनमा एकै दिन १२ सय बढि संक्रमित, कतिपय शव अलपत्र

पाल्पाको तानसेन नगरपालिकामा आज बिहान ११ बजेसम्म १२ सय बढिमा कोरोना संक्रमण पुष्टि भएको छ । समुदाय स्तर,दुग्ध व्यवसायी तथा खाद्यान्न र अत्यावश्यक वस्तु बिक्री गर्ने व्यवसायीहरुमा हिजो गरिएको परीक्षणबाट एक दिनमा १ हजार २ सय ६७ जनामा संक्रमण देखिएको नगर प्रमुख अशोककुमार शाहीले बताउनुभएको छ ।

शाहीका अनुसार नगरपालिकाले कन्ट्रयाक ट्रेसिङको काम सकिएलगत्तै समुदायस्तरमा गरेको परीक्षणमा अत्यधिक संक्रमण फेला परेको हो । उहाँका अनुसार पाल्पामा संक्रमणको जोखिम घटेको छैन । पहिले ४० देखि ६० प्रतिशतसम्म संक्रमित रहेको नगरपालिकामा अहिले कम देखिएको उहाँले बताउनुभयो ।

हालसम्म नगरपालिकामा १५ जनाले ज्यान गुमाइसकेका छन् । त्यसैगरी पाल्पाको लुम्बिनी मेडिकल कलेज,प्रभासमा उपचार खर्च तिर्न नसकेका एक जनाको दाहसंस्कार तानसेन नगरपालिकाको पहलमा भएको छ ।

कोरोना संक्रमणपछि गरिएको उपचारमा लागेको खर्च नतिरेसम्म लुम्बिनी मेडिकल कलेज तानसेनले मृतकको शव परिवारलाई दिन नमानेपछि तानसेन नगरपालिकाको जमानीमा परिवारले शव बुझेको हो ।

तर, दाहसंस्कारको समयमा कोही पनि आफन्त र गाउँले मलामी नगएपछि आज बिहान राम्दिघाटमा शवको दाहसंस्कारसमेत नगरपालिकाको पहलमा भएको मेयर शाहीको भनाई छ ।

टिप्पणीहरू