अदालतको आदेश एक हप्तापछि,मधेसी मन्त्री त्यो भन्दा अघि

अदालतको आदेश एक हप्तापछि,मधेसी मन्त्री त्यो भन्दा अघि

सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारले ल्याएको नागरिकताजस्तो सँवेदनशील विषयसम्बन्धी अध्यादेशविरुद्धको बहस सुनिसकेपछि हेर्दाहेर्दैमा राखेर एक हप्तापछि जेठ २७ गतेलाई धकेलेको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालगायत वरिष्ठतम पाँच जना न्यायाधीशको इजलासले तोकेको आगामी मितिले सबैलाई झस्काइदिएको छ ।

आज साँझसम्म उक्त विधेयकसम्बन्धी मुद्दाको कारण पर्ख र हेरको रणनीतिमा बसेको जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले आजै मन्त्रीमण्डलमा सहभागिता जनाउने तयारी गरेको छ । पर्सि आइतबारदेखि पुनः प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाहरु समेत सम्भवत: यहि इजलासले हेर्दैछ । त्यस्तो अवस्थामा सारिएको २७ गतेको भाखाले बालुवाटारको योजना र जसपाको पर्खाइलाई साथ दिएको अर्थ सामाजिक सञ्जालमा लगाउन थालिएको छ ।

यसअघि आजको बहसमा वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, बालकृष्ण न्यौपाने,चन्द्रकान्त ज्ञवाली र सुरेन्द्र भण्डारीलगायत १५ जनाले बहस गर्नुभएको थियो ।
तीमध्ये अधिवक्ता बोर्णबहादुरले कानुन बनाउने अधिकार संसदको भए पनि नागरिकतासम्बन्धी कानुन संसदमा विचाराधीन रहेको र पास हुने अन्तिम अवस्थामा पुगेकै समयमा प्रधानमन्त्रीकै कारण रोकिएको तर्क गर्नुभएको थियो ।

नागरिकतासम्बन्धी अध्यादेश सरकार टिकाउनका लागि पूर्वराजपाका राजेन्द्र महतो र महन्थ ठाकुरसँग प्रधानमन्त्री ओलीले गरेको अनुचित सम्झौताको आधारमा, निहीत राजनीतिक स्वार्थ पूरा गर्न आएको हुँदा अध्यादेश बदर हुनुपर्ने उहाँको माग थियो ।

बहस गर्ने अधिकांश अधिवक्ताले संसदबाट कानुन पास नगरी अध्यादेशबाट कानुन ल्याउनु संविधान विपरित कार्य भएको तर्क राखेका थिए । कानुन राजनीतिक सौदाबाजीको विषयवस्तु हुन नहुने र अध्यादेशमार्फत नागरिकतासम्बन्धी ऐन ल्याएर गैरनेपालीलाई नागरिकता दिई तिनलाई आफ्नो पक्षमा मतदान गर्न लगाएर चुनावसमेत प्रभावित पार्ने गरी आएको कारण अध्यादेश बदर हुनुपर्ने माग थियो ।

टिप्पणीहरू