कोरोना महामारीमा सञ्चारकर्मीलाई कामबाट ननिकालियोस् : प्रेस काउन्सिल

कोरोना महामारीमा सञ्चारकर्मीलाई कामबाट ननिकालियोस्  : प्रेस काउन्सिल

कोरोना महामारीको दोस्रो लहरले देश आक्रान्त भइरहेको समयमा प्रेस काउन्सिलले कुनै पनि पत्रकारलाई सेवाबाट नहटाउन र कामबाट बञ्चित नगर्न अनुरोध गरेको छ ।

काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै महामारीको चपेटामा ज्यानको बाजी लगाएर श्रमजिवी पत्रकारहरूले अग्रमोर्चाबाट सूचना सम्प्रेषण गरिरहेकाले कामबाट बञ्चित नगरी ऐन, नियमले तोकेबमोजिम तत्काल सेवा–सुविधा उपलव्ध गराउन सम्बन्धित सबैमा अनुरोध गरेको हो ।

कोरोनाको दोस्रो लहरपछि हालसम्म १९ जना पत्रकारको निधन भएको र ९ सय संक्रमित भएकामा २ सय जना सक्रिय संक्रमित रहेको काउन्सिलले जनाएको छ । हाल ३० जना अस्पतालमा भर्ना भएको र ५ जनाको आइसीयू÷भेन्टिलेटरमा राखी उपचार भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । सेवाबाट हटाइएको सम्बन्धमा काउन्सिलमा धेरै वटा लिखित तथा मौखिक उजुरीहरू आएको, कतिपय श्रमजीवी पत्रकारको समूहले प्रत्यक्ष भेटेर जानकारी गराएकाले ती विषयमाथी काउन्सिलले गम्भीर रुपमा छलफल गरिहेको बताइएको छ ।

उसले भनेको छ ‘हटाइएका सञ्चारकर्मीलाई सेवामा पुनःस्थापना नगरिएमा वा सेवा–सुविधा प्रदान नगरिएमा काउन्सिलले स्थलगत निरीक्षण गर्ने र समस्या समाधान तथा अन्य कारबाहीका लागि सम्बन्धित पक्ष र उजुरीकर्तासँग त्रिपक्षीय छलफल गर्नसक्ने छ ।’

टिप्पणीहरू