भारतमा युवती बिक्री गर्न खोज्ने दम्पती पक्राउ

भारतमा युवती बिक्री गर्न खोज्ने दम्पती पक्राउ

भारतमा लगेर युवती बिक्री गर्न खोजेको आरोपमा दुई जना पक्राउ परेका छन् । भारत बिहार पूर्वी चम्पारणका २७ वर्षीय अस्गर सैफी र उनकी श्रीमती तनहुँको दमौली नगरपालिका–५ की २६ वर्षीया सकिना खातुन भनिने सीता थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले बाँकेको पूजामा जाने भन्दै गोरखाका दुई जना युवतीलाई बिक्रीको लागि भारत लैजाने क्रममा वीरगञ्जमा पक्राउ परेका हुन् ।

उनीहरूले गोरखाका दुई जना युवतीलाई नेपालगञ्जको मन्दिरमा कन्या पूजा गर्न एक घण्टाको लागि ५० हजार रुपैयाँ प्राप्त हुने प्रलोभनमा ललाई फकाई नेपालगञ्जसम्म पुर्याइएको बताइएको छ ।

उनीहरूले रकम लिन वीरगञ्ज जानुपर्छ भनी झुक्याएर वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा नाकासम्म पुर्याएपछि पुनः रकमको लागि भारतको बेतियासम्म जानुपर्छ भनेका थिए ।

तर मानव बेचबिखन गर्ने उद्देश्यले सीमा पार गराउन लागेको देखेपछि प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले पीडितहरूको उद्धार गरेपछि उक्त भेद खुलेको हो ।

टिप्पणीहरू