हिजो जितेको चुनाव,आज निम्तिँदै गरेको तनाव

हिजो जितेको चुनाव,आज निम्तिँदै गरेको तनाव

-पुरूषोत्तम पौडेल

मानिसहरूले ठुल्ठूला सपना देख्न सक्छन् । भोकाहरूले अझ ठुल्ठूला सपना देख्छन् । तर उनीहरूका सपनामा त्यति धेरै ध्यान हुँदैन । उनीहरूलाई पेटको समस्याको पछि लाग्नुपर्ने हुन्छ । उनीहरूको लागि सबभन्दा ठूलो सपना भोक मेटाउनु हुन्छ ।अघाएकाहरूले प्राय: सपना देख्दैनन् । देखिहाले पनि आफ्नै लाफि मात्र देख्छन् । कथम् अरूका लागि देखिहाले पनि सपनामै सिमित हुन्छन् । अहिले हाम्रो देशमा त्यही भएको छ । कमरेड केपी ओलीले धेरै सपना देखाएको कुरा गरिन्छ । कम से कम सपना बाँड्न सफल भएको कुरा गरिन्छ । आज आएर ती सबै सपना सपनामै सिमित भएका छन् । अघाएकाहरूले देखेको सपनामा परिणत हुँदै गएका छन् ।

कमरेड ओली अहिले आफ्ना सपनाहरूको असफलता दिवस मनाई रहनुभएको छ । देशलाई निर्वाचनको सवाई सुनाइरहनु भएको छ । निर्वाचनमार्फत दुई तिहाई बहुमत ल्याउने अर्को सपना बुनेर साइबर सेनाहरूलाई गदगद पारी रहनुभएको छ । आफैले घोषणा गरेका विकास र सम्वृध्दिका कामहरू शुरू गर्न पनि नसकेको पीडामा रन्थनिदै अरूलाई दोष थोपरि रहनुभएको छ । पटकपटक संसद बिघटन गरेर मात्र असफलता लुकाउने खेल खेलि रहनुभएको छ ।

घोषणापत्रमा युवाहरूको लागि प्रत्येक वर्ष एक लाख रोजगारी सृजना गर्ने कुरा समावेश थियो । दुई वर्षमा सुकुम्वासी समस्या समाधान गर्ने कुरा अघि सारिएको थियो । पाँच वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गरेर देशलाई बिध्युत निर्यातक देश बनाउने वाचा थियो । दुई वर्षभित्र देशका प्रमुख शहरहरूमा बिजुली बस चलाएर पेट्रोलियम पदार्थको खपत र वायु प्रदूषण घटाऊने पनि भनिएको थियो । के के पूरा भए-पल्टाएर हेर्नोस् त !

प्रथमतः प्रधानमन्त्री ओलीले कार्यकालको शुरुदेखि नै असम्भव एजेण्डाहरू अघि सार्नुभयो । राज्यका कुनै पनि निकायबाट अध्ययनसमेत नभएका कामहरू गर्छु भन्दै गफ दिनुभयो । हावाबाट बिजुली निकालेर लोडसेडिङ कम गर्ने गफ हाँकिएकै हो । निकै सस्तोमा पानीबाट बिजुली निकाल्न सकिने हाम्रो देशमा ठूलो लगानी गरेर हावाबाट बिजुली निकाल्ने खास सम्भावना थिएन । लगानीकर्ता पाऊने स्थिति पनि भएन । त्यसले गर्दा वहाँको सपना साकार हुने कुनै सम्भावना थिएन । आम देशवासीले दुई वर्षमै प्रधानमन्त्री ओलीको सपनालाई अघाएका व्यक्तिहरूले देखेको सपनाको रूपमा बुझ्न थालेकै हुन् ।

नेपालजस्तो भूपरिवेष्टित देशमा पानीजहाज ल्याउने सपना आयो । पानीजहाजको कार्यालय उद्घाटन भयो । संसदको रोष्ट्रममा उभिएर छ महिनापछि जहाजको टिकट बिक्री हुने घोषणा भयो । अझ पानीजहाज ल्याउने सरकारी बजेटको व्यापक दुरूपयोगसमेत भयो । नेपालमा पानीजहाज ल्याएर पानीजहाजमा देशको झण्डा हल्लाउँदै प्रशान्त महासागरको यात्रा गर्ने भनेर भारतलाई समेत जोड्न खोजियो । आफूलाई सोह्रै आना नोक्सानी पर्ने काम इण्डियन सरकारले किन गर्थ्यो र ! उसले एक कानले सुनेर अर्को कानले उडाइदियो । यसरी कमरेड ओलीको दोश्रो सपना पनि सतप्रतिशत जनतालाई भ्रम दिने चाल प्रमाणित भयो ।

सामाजिक सुरक्षासम्वन्धी कार्यक्रमका प्रस्तावक गोकर्ण बिष्टलाई नै गलहत्याइयो ।

कामरेड ओलीले नेपालमै पेट्रोलियम पदार्थ उत्पादन गर्ने भन्नुभयो । नेपालको नवलपरासी, दैलेखसहित अनेक ठाउँमा पेट्रोलियम निकाल्न कारखाना खोल्ने कथा सुनाएर बजेट छुट्याउने काम भयो । चीनबाट प्राविधिक टोली ल्याएर घुमाउने काम पनि भयो । स्वयम प्रधानमन्त्रीले देशमा अब कसैले पनि ग्यासको लागि सिलिन्डर बिकेर हिंड्नु पर्दैन भन्नुभयो । घरघरमा एलपी ग्यासको पाइप लाइन पुर्याइदिने भनियो । एलपी ग्यासकोवारेमा वरको सिन्को पर सरेन । मित्रराष्ट्र चीनबाट ३० प्रतिशत पेट्रोलियम पदार्थ आयात गर्ने कुरा पनि फुस्सामा गयो । कुरा गरेर तीन वर्ष बित्यो र भनियो-माधव,प्रचण्डले गर्न दिएनन् । के सबै नेतासङ्ग यी यावत योजनावारे कहिल्यै सल्लाह भएको थियो र !

मित्रराष्ट्र चीनसंग मिलेर उत्तर- दक्षिण रेल कुदाउने भनियो । म्याग्दीलगायत काल्पनिक रेलको स्टेशन कहाँ राख्ने हो ? त्यसको सबस्टेशन कता राख्ने हो भन्दै भाषण सुनाइयो । गाउँ-शहर देशको चारैकिल्ला उचालियो । केरूङ-काठमाडौं रेलको प्रारम्भिक सर्वेक्षण प्रतिवेदन हेरेर चिनियाँहरू आत्तिए । आजसम्म उत्तर,दक्षिण रेल्वेको विस्तृत सर्वेक्षण पनि शुरू भएको छैन । जनकपुर-जयनगर मै रेलको डिब्बासमेत गुडाउन सकिएको छैन । रेलको लीगमा खिया परिसकेको छ । देशमा आएको रेलको ईन्जन आठ महिना देखि जनकपुरमा त्रिपाल ओडाएर राखिएको छ । गफले मात्र त हुने होइन रहेछ । फेरि पनि रमाइला गफ चलिरहेको छ ।

पहिचानको अर्थ बहुराष्ट्रियता कदापि होइन । तराई- मधेश र जाति,जनजाति सवैको हित विखण्डनमा होइन ।

पार्टीको चुनाव घोषणापत्रमा युवाहरूको लागि प्रत्येक वर्ष एक लाख रोजगारी सृजना गर्ने कुरा समावेश थियो । दुई वर्षमा सुकुम्वासी समस्या समाधान गर्ने कुरा अघि सारिएको थियो । पाँच वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गरेर देशलाई बिध्युत निर्यातक देश बनाउने वाचा थियो । दुई वर्षभित्र देशका प्रमुख शहरहरूमा बिजुली बस चलाएर पेट्रोलियम पदार्थको खपत र वायु प्रदूषण घटाऊने पनि भनिएको थियो । के के पूरा भए-पल्टाएर हेर्नोस् त ! प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय र सुविधासम्पन्न स्वास्थ्य केन्द्रको कुरा राखिएको थियो । अहिले तीन वर्ष पुरा भयो । एउटा बुँदा पनि पुरा नगरी पार्टीको घोषणा पत्रलाई बेवारिसे बनाइयो । आज देश कोरोनाको चपेटामा छ । नागरिकहरू उपचार र बेड नपाएर भटाभट मरिरहेका छन् ।

शिक्षा,स्वास्थ्य,सामाजिक सुरक्षा र कृषि कतै पनि प्रभावकारी र उल्लेख्य काम हुन सकेनन् ।सामाजिक सुरक्षासम्वन्धी कार्यक्रमका प्रस्तावक गोकर्ण बिष्टलाई नै गलहत्याइयो । देशमा एऊटा पनि आकर्षक विश्वविद्यालय खुल्न सकेन । एउटा राम्रो मेडिकल कलेज खोलेर संचालन हुन सकेन । एउटा सुविधा सम्पन्न अस्पताल खुलेन । कृषि क्षेत्र सबभन्दा बढि बेवारिसे भयो । उखुको मूल्य नपाएर किसानले अनसन गरी मर्नुपर्ने अवस्था आउँदा पनि एउटा चिनी कारखाना खुलेन । कतै पनि फलफूल प्रशोधन तथा जुस उद्योग खोलेको सुन्न पाइएन । सर्वत्र उखान,डिङ र गफ तथा उडन्ते भाषणले तीन वर्ष बितेका छन् ।

कमरेड ओलीको पालामा निश्चित रूपले केही पूर्वाधारका कामहरू भएका छन् । धरहरा खडा भयो । रानीपोखरीमा पानी जमाइयो । यी पुरानै चालु काम थिए । तर उहाँले शुरू गरेका नयाँ कामहरू प्राय: झापा केन्द्रित छन् । झापामा करिव एक खर्बको लागतमा औद्योगिक पार्क बन्दैछ । तीन अर्बभन्दा बढिको लागतमा भ्यूटावर बनिरहेको छ । लगभग १३ अरबको लागतमा गौतम बध्दको मूर्ति बनाउने काम भैरहेको छ । सात अर्बको लागतमा मदन भण्डारी रंगशाला निर्माण हुँदैछ । दमकमा अत्याधुनिक चिल्ड्रेन पाराडाईज बन्दैछ । अत्याधुनिक बहुतले सिटी पार्क बन्दैछ । विशाल अन्तराष्ट्रिय सम्मेलन केन्द्रसहित अरबौँ लागतका पूर्वाधार योजनाहरू चालु भैरहेका छन् । ओली कमरेडका बलिया सेवकहरूको क्षेत्रमा पनि हेर्न लायक विकास निर्माणका कामहरू भैरहेका छन् । आम जनताका लागि भने एकै पटक देशभरि सैयौँ स्वास्थ्य केन्द्र र सडक शिलान्यासको प्रशंसनीय नाटक भएको छ ।

यसरी ओली विकास,सम्बृध्दि र राष्ट्रवादको नारामा सत्तामा आउनुभएको हो । उहाँका चमत्कारी विकास र सम्बृध्दिका सपना झापावाहेक अरूका लागि उखानमा सिमित भएका छन् । अब त राष्ट्रवाद पनि लाजमर्दो हालतमा पुगेको आफ्नै अाँखाले देख्नुपर्यो । दक्षिणको मन्त्रका आधारमा चाँडै चुनाव र बहुल राष्ट्रियताका वकिलहरूसंगको भित्री साँठगाँठको पोल धुमधामले खुलिरहेको छ । यसले हिजोका दिनमा भ्रम पालेर बसेका धेरैको आँखा खोलिदिएको छ । अझ बाँकी सबैको आँखा खुल्दै जानेछ । विशेष गरी गोयलको ३.३० घण्टे रात्री गोलचक्करबाट शुरू भएको पहिलो चक्कर राजेन्द्र महतोको सत्तारोहणबाट पूरा भएको छ । यसले नेकपा विभाजन र नेकपा एमालेलाई छिन्नभिन्न पार्न अघि सर्नुको रहस्य पनि पुरै खोलिदिएको छ ।

नेकपा विघटनपछि लगातार अल्पमतको सरकार चलिरहेको छ । अल्पमतको सरकार निरन्तर संसद छलेर असंवैधानिक अध्यादेशबाट शासन गर्न खोजी रहेको छ । संसदमा विश्वासको मत पाउन असफल हुँदासमेत सत्तामा टाँसिइरहेको छ । अब त संविधान जलाउने र बोर्डरमा सुतेर आफ्नै देशविरूध्द नाकावन्दी गर्ने महन्थ-महतोको टेकोपुँडोमा नग्न ढंगले सत्ता टिकाऊने अभ्यास भैरहेको छ । ५०० मेगावाटको अरूण जलविध्युत आयोजना विना टेण्डर दक्षिणलाई सुम्पन तयार हुनु ,सामन्त गोयलको मध्यरातको मन्त्रणापछि चुच्चे नक्शालाई पाठ्यक्रममा राख्न रोक लगाउनु ,देशको क्षेत्रफल थप्न अवरोध गर्नु अनि आफ्नै मान्यता विपरीत कामचलाऊ सरकारले संसदीय समितिमा टुङ्गो लागेर तयार भएको नागरिकता विधेयकलाई छलेर अध्यादेश जारी गर्नुको पछि के रहस्य लुकेको छ ?

अझ अघि बढेर देशको वातावरण प्रतिकूल सम्पूर्ण तराई मरुभूमिकरण हुने गरी चुरे दोहन गरेर भारत पठाउन उत्साहित हुनु, दक्षिणतिरको इशारामा उसका कार्डहोल्डरहरूलाई छानी छानी सरकारमा महत्वपूर्ण मन्त्रालय सुम्पनु ,समाजका जघन्य अपराधीहरुको मुद्दा फिर्ता लिएर उतैलाई खुशी पार्नु र “मधेशलाई अलग्गै देश बनाउनुपर्छ” भन्नेहरुको बाहुल्यतासहित मन्त्रीपरिषद पुनर्गठन गर्नुले राम्रो संकेत गरिरहेको छैन । लाजमर्दो दृश्य त शपथग्रहण गरेकै दिन ” नेपाल एऊटा बहुराष्ट्रिय राज्य हो र यसैका लागि सरकारमा बसेर क्रान्ति गर्ने हो ” भनी उपप्रधानमन्त्री राजेन्द्र महतोले उद्घोष गर्नुलाई अझ खतरनाक रूपमा लिन सकिन्छ ।

यससंगै कमरेड ओलीले पृथकतावादी आन्दोलन समाप्त पारेको भन्दै सिके राउतसंग ” अलग राष्ट्रको लागि जनमतसंग्रह गर्न तयार हुने ” भाषासहितको सम्झौता गर्नु र आज राजेन्द्र महतोले मन्त्रीको शपथसंगै राष्ट्र हितविरूध्द बोल्नुले कथित महान राष्ट्रवादीहरूको असली गन्तव्य झनै प्रष्ट हुन गएको छ । नेपाल एक राष्ट्र देश हो । यो देशलाई बहराष्ट्रिय बनाउने कुनै सम्भावना छैन । कसैले बहुराष्ट्रिय बनाएर पनि सम्भव छैन । पहिचानको अर्थ बहुराष्ट्रियता कदापि होइन । तराई- मधेश र जाति,जनजाति सवैको हित विखण्डनमा होइन । एकीकृत र बलियो राष्ट्र नेपालमा मात्र सम्भव छ । नक्कली राष्ट्रवाद र नक्कली मधेशवाद दुबैसंग सावधानीपूर्वक अघि बढ्नुपर्ने बेलामा ओलीटिक्स पुरै दक्षिणको यात्रामा रमाइरहेको देखिन्छ । याद रहोस् ! यसले देश हित गर्दैन । समय बलवान हुन्छ । हरेकका कर्मलाई दुनियाले हेरिरहेको छ । समयसंगै सबै चिनिदै जानेछन् । नेपालीहरूले पनि हेरिरहेका छन् ।

टिप्पणीहरू