सुरक्षा हेर्ने मन्त्रालय अब को सङ्ग ?

सुरक्षा हेर्ने मन्त्रालय अब को सङ्ग ?

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा र गृहसहित सात मन्त्रालय आफैँले राखेर मन्त्रिपरिषद पुनर्गठन गर्नुभयो । महत्वपूर्ण मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले आफैंसँग राख्नुले अर्को लटको मन्त्रिपरिषद बिस्तार छिटै हुने संकेत गरेको छ ।

ओलीसँग अहिले रक्षा,गृह,पर्यटन, सञ्चार,सामान्य प्रशासन,कृषि र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय छन् । ती मन्त्रालयमा एमालेबाटै मन्त्री बन्ने लगभग निश्चित छ । राप्रपा सरकारमा गए बढीमा दुई मन्त्रालय दिएर बाँकी आफूनिकटलाई मन्त्री बनाउने तयारीमा प्रधानमन्त्री रहेको बताइन्छ । तर,यो सम्भावना एकदम पातलो छ ।

सुरक्षा र परराष्ट्रसँग सम्बन्धित मन्त्रालय मधेसीलाई नदिन प्रधानमन्त्री ओलीलाई पार्टीभित्रैबाट चर्को दबाब बढेपछि अस्तिको मन्त्रिपरिषद पुनर्गठनमा यसअघि गृहमन्त्रीको रुपमा अघि सारिएका जसपा नेता राजेन्द्र महतोलाई शहरी विकास मन्त्री बनाइएको चर्चा छ ।

नागरिकता विवादमा मुछिएका महतोलाई गृहमन्त्री नबनाउन ओलीमाथि पार्टीभित्र र बाहिर चर्को दबाब थियोे । अन्तिमसम्म गृहको अडान नछाडेका महतोलाई दोस्रो रोजाईको मालदार मन्त्रालय दिएर चित्त बुझाइएको बालुवाटार स्रोत बताउँछ ।

महतोसँगै महन्थ ठाकुर खेमाका १० जनाले शपथ लिएका छन् । यता एमालेबाट भने पुराना अधिकांशलाई बिदा गरेर केहीलाई मन्त्री बनाइएको छ । एमालेबाट विष्णु पौडेललाई उपप्रधानसहित अर्थमा निरन्तरता दिइएको छ भने रघुवीर महासेठलाई उपप्रधानसहित परराष्ट्र मन्त्री बनाइएको छ । त्यस्तै भौतिक पूर्वाधारमा बसन्त नेम्वाङ, शिक्षामा कृष्णगोपाल श्रेष्ठ र कानूनमा लीलानाथ श्रेष्ठले पुरानै जिम्मेवारीमा निरन्तरता पाएका छन् ।

माधव नेपाल समूह छाडेर केही महिनाअघि ओलीतिर पुगेका शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको छ । एमालेमा मन्त्रीको आकांक्षी धेरै भएपछि अठारौं पुनर्गठनमा प्रधानमन्त्रीले महत्वपूर्ण मन्त्रालय आफैंले राख्नुपरेको स्रोत बताउँछ । दुई विश्वासपात्र महेश बस्नेत र गोकुल बाँस्कोटासहित एमालेबाट पाँच जनालाई समेटेर छिट्टै मन्त्रिपरिषद बिस्तार हुने चर्चा शुरु भैसकेको छ । बस्नेतलाई गृह र बाँस्कोटालाई संचार मन्त्री बनाउन ओली इच्छुक भएपनि आन्तरिक समीकरण मिलाउनुपर्ने भएकाले हिजोको शपथमा उनीहरु छुटेको एमाले वृत्तमा चर्चा छ ।

त्यसो त बाँस्कोटा र बस्नेतलाई मन्त्री बनाउन नहुने मत जवरजस्त उठ्न थालेपछि ओली पछि हट्न बाध्य भएको बताउनेहरु पनि छन् ।

यता बस्नेतलाई गृहमन्त्री बनाउने कुरामा पनि एमालेमा विवाद बढेको बुझिएको छ । ईश्वर पोखरेलजस्ता सिनियर नेतालाई समेत जिम्मा नदिइएको गृह बस्नेतलाई दिन नहुने ती नेताको भनाइ छ । चुनावी सरकारको गृहमन्त्री भएकाले अनुभवी र सिनियर नेतालाई बनाउनुपर्ने उनी बताउँछन् ।

‘गृहमन्त्रीमा चर्चा धेरैका छन् । तर विवादमा नपरेको,अनुभवी र सिनियरलाई लैजानुपर्छ भन्ने हाम्रो भनाइ हो । चुनाव घोषणा भैसकेको छ । यस्तोबेला जुनियरलाई गृहमन्त्री बनाउँदा अप्ठेरो पर्नसक्छ भनेर हामीले भनेका छौँ’,ती नेताले भने ।

यध्यपि कसलाई मन्त्री बनाउने भन्ने प्रधानमन्त्रीको अधिकारको कुरा भएकाले आफूहरुले धेरै चासो नदिएको उनले बताए । ‘साथीहरुका चासो,इच्छा चाहना हुन सक्दछन् । तर,प्रधानमन्त्रीले उहाँलाई सहज हुने गरी गर्नुहोला । त्यसमा को-को पर्छन् हामीले भन्ने कुरा होइन’,उनले भने ।

टिप्पणीहरू