‘रुल अफ ल’ ले ठाउँ छाड्यो, ‘रुल बाइ ल’ दौडियो

‘रुल अफ ल’ ले ठाउँ छाड्यो, ‘रुल बाइ ल’ दौडियो

प्रधानमन्त्री केपी शर्मा ओलीको तीन वर्षे कार्यकालको अन्तिम समयमा कानूनी राजले होइन राज्यले कानुनमाथि शासन गर्न थालेको बताइन्छ । सर्वत्र आफू अनुकूलको कानुनी व्याख्या गरिएको छ । राज्यद्वारा नियम, कानुन र संविधानको पालना होइन,उल्लंघनको क्रम बढेको छ ।

अनेक जोड घटाउमा जसपाको एउटा घटक प्रधानमन्त्रीको सारथी बन्न पुगेको छ । यहि बीचमा जसपालाई आवश्यकताअनुसार विभाजन गर्न विभिन्न तरिकाले सजिलो बनाईंदैछ । जसपाको दुई वटै समूहले आधिकारिकता दाबी गर्दै एकले अर्कोलाई कारबाही गरेको विवरण निर्वाचन आयोगमा पेश गरेका छन् । आयोगले भने कार्यकारिणी समिति सदस्यहरुको दस्तखत माग गरेको छ ।

शुक्रबार १० जना मन्त्री बनेपछि अब अरु दश जना सांसद मन्त्री बन्न नपाउने सूचीमा देखिन्छन् । तिनैमध्येका केहीले अब उपेन्द्र यादवको समूहलाई समात्ने पक्का छ । उनीहरुले यादवतर्फ सही गरेको अवस्थामा जसपाको ठाकुर-महतो समूहको योजना र खेल एकै पटकमा खत्तम हुने सम्भावना बढेको छ । त्यसपछि उनीहरु प्रधानमन्त्री ओलीले दिएको खाने र मान्ने अवस्थामा पुग्नेछन् ।

यसैबीच जसपा समूहका नेता राजेन्द्र महतोले शुक्रबार साँझसम्म आफूलाई गृह मन्त्रालयको जिम्मेवारी दिन भरमग्दुर प्रयास गरेका थिए । त्यो सुईंको पाएपछि सुुरक्षा निकायले निको नमान्ने सन्देश बिहानैदेखि सामाजिक सञ्जालमा फैलिएको थियो ।

पञ्चायतकालमा समेत पशुपतिसमशेर राणालाई जलस्रोत मन्त्रीको जिम्मेवारी दिँदा व्यापक असन्तुष्टी देखिएको थियो । स्रोत भन्छ,उनै राणालाई जलस्रोत मन्त्रालयको जिम्मेवारी दिँदा महाकाली सन्धिको प्रारम्भिक काम भएको थियो । २०५२ सालपछि यो विषयले ठूलै तरंग ल्यायो र तत्कालीन विपक्षी दल एमाले फुट्यो ।

यसबीचमा भ्रष्टाचारको आरोप लागेका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जतिसक्दो छिटो चोख्याएर मन्त्री बनाउने प्रक्रियासमेत शुरु भएको बताइन्छ । हुन तः भ्रष्टाचार प्रकरणमा बाँस्कोटाको मात्र टेप प्रकरण बाहिर आएको हो,अरु धेरैको नआएकाले उनीहरुलाई न बात लागेको छ,न चोख्याउन नै परेको छ ।

यता,एमालेको विवाद समाधान गर्ने भन्दै बालुवाटार निकट समूहले अध्यक्ष ओलीले एकपक्षीय रुपमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा पुर्याइएको आह्वान गर्ने रोडम्याप बनाएको बुझिएको छ । त्यसो गर्दा वरिष्ठ नेता माधवकुमार नेपालसँग रहेका तर दह्रोसँग गोडा टेक्न नसक्नेहरुलाई पार्टीको मूलधारमा छिराउन सजिलो हुने उनीहरुको बुझाई हो ।

उनीहरुले घनश्याम भुसाललगायतलाई भने सकेसम्म पार्टीमा नआउने प्रपञ्च मिलाउने गरी रोडम्याप बनाएको स्रोतको दाबी छ । उनीहरुले भनेका छन् ‘भुसाल पार्टी बनाउँदैनन्,विचार मात्रै बनाउँछन् । उनले बनेको पार्टीमा यसो यदाकदा विचार मात्र हाल्ने हो ।’

उनीहरुको नजरमा नेता नेपालचाँहि संगठन बनाउने कार्यमा खट्ने मान्छे भए पनि अहिले उहाँमाथि नै ओली समूह खनिएको छ । बालुवाटारले हालै गरेको एमालेको पछिल्लो मूल्याङ्कनमा नेपाल समर्थित समूहको विस्तार वडासम्म पुगेको पाइएको छ ।

चुनावमा मोहनविक्रम सिंह समूहको समेत भूमिका हुने भएकाले नेपाल समूह निकै प्रभावशाली हुने उनीहरुको आँकलन हो । उनै सिंहलाई र जनमोर्चालाई नरिझाएसम्म बागलुङ र प्युठानमा एमालेलाई हम्मे पर्ने भएकाले उनीहरुको पछिल्लो मूल्यांकन एक हदसम्म यथार्थ रहेको बताइन्छ ।

सरकारले बजेटमा घोषणा गरेको ढुंगा,गिटीको निकासी अब केही वर्षअघिको गुठी विधेयक झैँ न निल्नु,न ओकल्नु हुने भएको छ । ढुंगा निकासीको लागि कार्यविधि, ऐन बनाउन बजेटमा उक्त घोषणा गरिएको सरकारी अधिकारीहरुको दाबी छ । सर्वत्र विवाद देखिएकाले अब चुरेको ढुंगा निकासी र गुठी विधेयकको हालत एउटै हुने अवस्था बन्दै गएको छ ।

त्यसबारे विपक्षी दलहरु छलफलको निम्ति तयार देखिँदैनन् । आई लभ यु ओली बा भन्ने जति सबै अहिले गिटी,ढुंगाको उत्खनन् र बिक्रीमा सक्रिय छन् । उता, प्रदेश सरकारहरूको पनि रुवाबासी ढुंगा,गिटी बालुवाको जिम्मा आफूहरुलाई चाहियो भन्नेमै छ । स्थानीय तहकाले पनि खाइरहेको र पाइरहेको मस्ती छाड्ने अवस्था देखिँदैन ।

यी सबै घटनाक्रमले मुलुक रुल अफ ल मा होइन रुल बाइ लमा अग्रसर भएको देखिन्छ । किनभने रुल अफ लले कानुनसमेत समयसापेक्ष छ कि छैन भनेर हेर्छ तर रुल बाइ लले जस्तो भएपनि कानुनको चिर्कटोमा टेकेर आफ्नो दुनो सोझ्याउने काम मात्र हुन्छ ।

टिप्पणीहरू