जनयुध्दका कमाण्डर कोभिडविरुध्दको मोर्चा सम्हाल्दै

जनयुध्दका कमाण्डर कोभिडविरुध्दको मोर्चा सम्हाल्दै

-एनपी क्षेत्री

कोरोना संक्रमणको कारण अधिकांश मान्छे घरभित्रै छन् । रुपन्देही प्रशासनले ३८ दिनदेखि निषेधाज्ञा लगाएको हुँदा बाहिर हिंड्डुल गर्न चाहनेहरु पनि बाध्य भएर घरभित्रै थन्किएका छन् । चिकित्सक,प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेनाको टोली दायित्व सम्झेर फिल्डमा खटिएका छन् । सबै उद्योग धन्दा,गाउँ शहर सुनसान छ । कसैको कालगतिले मृत्यु भइहाले पनि छिमेकीले त के आफ्नै परिवारका सदस्यले समेत नजिक आउने हिम्मत गरेका छैनन् । यस्तो भयावह स्थिति कोरोना महामारीले गराएको हो । यो महामारीविरुध्दको युध्दमा भैरहवा क्षेत्रभित्र डार्बिनको नेतृत्वमा १४ जनाको स्वयंसेवी समूह मोर्चाबन्दी गरेर कोभिड संक्रमित मृतकका आफन्तको सारथी बनिरहेका छन् ।

०५७ सालमा तिरबहादुर रोका मगरको नाम परिवर्तन हुँदै डार्विन भयो । तत्कालिन माओवादीका इन्चार्ज डेनियलले उनको नाम डार्बिन राखिदिएका हुन् । डेनियल अहिले रोल्पा सुनछहरीमै राजनीति गरिरहेका छन् । डार्बिनका नामले परिचित भएसँगै उनी घरपरिवार छाडेर पूर्ण रुपमा माओवादी जनयुध्दमा होमिएका हुन् ।

१८ बर्षकै कलकलाउँदो उमेरमा जनयुध्दमा होमिएका डार्बिन रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ५ जैमापसला कसला भन्ने ठाउँमा जन्मिएका हुन् । लुम्बिनी प्रदेशको दुर्गम जिल्ला रोल्पाको ग्रामीण क्षेत्रमा जन्मी हुर्केका उनले जनमुक्ति सेनाको शहरी गुरिल्लाको बटालियन सहायक कमाण्डर हुँदै भैरहवा क्षेत्रमा भूमिगत राजनीति गरेका हुन् ।

१८ दिनअगाडि एउटा समूहले शव व्यवस्थापन गरिदिने भन्दै मोटो रकम लिएको तथ्य बाहिरियो

रुपन्देहीमा मिलन कठायत,सुजित बिक,राहुल केवट,सन्दिप चापागाईसहित भूमिगत रुपमा जनयुध्दमा होमिएका उनको केन्द्रीय कमाण्डमा हालका उपराष्ट्रपति नन्दकिशोर पुन, जनार्दन शर्मा,बर्षमान पुन र बलदेव थिए । डार्बिनको टिमले रुपन्देहीको डण्डास्थित सशस्त्रको पोस्टमा फौजी आक्रमण गरी सफल गराएको थियो । यसरी जनयुध्दमा सफलतापूर्वक मोर्चा सम्हालेका डार्बिन यतिबेला कोभिडविरुद्धको युद्धलाई पनि कमाण्डिङ गरिरहेका छन् ।

लुम्बिनी प्रदेश सरकारले भीम अस्पताललाई पूर्ण कोभिड अस्पतालको रुपमा विकास गरेसंगै यहाँ दैनिक सयौं कोभिड संक्रमित बिरामी आउने गरेका छन् । उक्त अस्पतालमा आएका मध्ये केहि निको भएर फर्किरहेका छन् भने केहिको मृत्यु भएको छ । बाँचुन्जेल उपचारमा खटिने कोभिड संक्रमितका आफन्तहरु बिरामीको मृत्युपछि भने दाहसँस्कार कसरी गर्ने भन्ने तनावमा छन् । नेपाल सरकारले नेपाली सेनाले स्वास्थ्य प्रोटोकल अपनाएर अन्तिम सँस्कार गर्ने योजना बनाएको छ तर सेनाको सानो टिमले दैनिक मरिरहेका सबैको दाहसँस्कार गर्न मुश्किल छ ।

त्यहि समस्यालाई बुझेर भीम अस्पतालमा १८ दिनअगाडि एउटा समूहले शव व्यवस्थापन गरिदिने भन्दै मोटो रकम लिएको तथ्य बाहिरियो । त्यसपछि जेठ १ गतेदेखि तातो पानी,अन्डा,दालको झोल,कालो चिया,मिनरल वाटर , दूध,बेसार पानी निशुल्क बाँडिरहेको नेकपा माओवादी केन्द्र सिध्दार्थनगरको टोली नै जेठ ५ गतेबाट शव ब्यवस्थापनमा निशुल्क खटिएको हो ।

घरमा चार भाइ छोरा हुनेले पनि मृतकको शव नजिक आउन नखोजेको देखियो । उनीहरुले समेत हात नलगाएको देख्दा मान्छे अत्यन्तै स्वार्थी रहेछ भन्ने प्रमाणित भयो ।”

माओवादी केन्द्रका सिध्दार्थनगर इन्चार्ज डार्विनको कमाण्डमा यतिबेलासम्म १३ जना कोरोना संक्रमित मृतकको शव व्यवस्थापन भएको छ । डार्विनले भने, ‘कोभिड संक्रमितको शव व्यवस्थापनको नाममा ६० हजार लिएको थाहा पाएपछि हामीले विपन्न परिवारले जिउँदो हुँदासम्म उपचार गर्न मुश्किल हुने र मरेपछि दाहसँस्कार गर्न पनि नसक्ने देखेर यो काममा हात हालेका हौं । सुरक्षा सामग्री प्रयोग गरिसकेपछि केही हुँदैन भन्ने थाहा पायौं । हामीले चिकित्सकको सल्लाह लिएर शव व्यवस्थापन गरिरहेका छौं । ”

डार्विनका अनुसार कोभिड पोजिटिभको प्लास्टिक र्यापिङ गरेपछि कोरोना भाइरस सर्ने सम्भावना कम हुने चिकित्सकको सल्लाहअनुसार ठूलो आत्मविश्वासका साथ टिमले काम गरिरहेको छ । उनको टिम अहिले सम्म पूर्ण रुपमा स्वस्थ छ ।

‘बाँचुन्जेल संगै टाँसिने,चिया नास्ता खुलाउने गर्छन् । तर मरेपछि आफन्तहरु नजिक आउँदैनन् । तर हामीले ३ जनाको घरमै पुगेर शव निकाल्यौं,१० जनाको अस्पतालबाट शव घाटमा लगेर सदगत गर्यौ । ”डार्विनले भने ।

अहिलेसम्म एक जना भारतीय नागरिकसहित सिनपा , कपिलवस्तु,बर्दिया,अर्घाखाँची, गुल्मी,पाल्पा र रुपन्देहीको गरेर १३ जनाको शव व्यवस्थापन उक्त टिमले गरेको छ । उनले भने, “हामीले अति विपन्नलाई सहयोग गर्न खोजेको हो तर यतिबेला घरमा चार भाइ छोरा हुनेले पनि मृतकको शव नजिक आउन नखोजेको देखियो । उनीहरुले समेत हात नलगाएको देख्दा मान्छे अत्यन्तै स्वार्थी रहेछ भन्ने प्रमाणित भयो ।”

डार्विनका अनुसार अति विपन्नसंग एक रुपैयाँ सहयोग नलिई शव व्यवस्थापनमा सहयोग गरिएको छ भने सक्नेले पिपिई, दाउरा र एम्बुलेन्सको खर्च ब्यहोरेका छन् ।

यसरी १४ जनाको टिम कोभिडको महामारीसंग प्रत्यक्ष जुध्दै लागिरहँदा भीम अस्पताल व्यवस्थापन समितिको भने असहयोगप्रति चित्त दुखेको डार्विनले बताए । उनले भने, ‘हामीले कुनै प्रचारकोलागि यो काम गरेको होइन । मान्छेहरु कोरोना हुन्छ भनेर घर बाहिर निस्केका छैनन् ।

यस्तो बेला हामी जोखिम उठाएर स्वयंसेवी भावले शव ब्यवस्थापनमा सक्रिय छौँ । अस्पताल व्यवस्थापनले असहयोग गर्न खोजेको छ । यसले दुखित बनाएको छ । ”

टिप्पणीहरू