प्रम–पत्रकार वार्ता

प्रम–पत्रकार वार्ता

— प्रधानमन्त्रीज्यू,तपाइँलाई त कुर्सी पायो कि कहिल्यै नछोड्ने आरोप पो लाग्न थालेछ । साँच्चै तपाइँ कहिल्यै कुर्सी नछोड्ने मान्छे नै हो त ?
— कहिल्यै छोड्दिन भनेको छैन । छोड्छु तर भाँचेर छोड्छु भनेको थिएँ । म अरुजस्तो कुर्सीमा टाँसिएर बस्ने मान्छे होइन ।
— तर तपाइँले अस्ति राष्ट्रपतिकोमा गएर फेरि प्रधानमन्त्री बन्ने दावी पेश गर्नुभयो । किन गर्नुभएको ?
— किन नगर्ने ? आफ्नै राष्ट्रपति छ,यो बेला नगरे कुन बेला गर्ने ?
— तर तपाइँले आफूलाई प्रधानमन्त्री हुँदा हुँदा वाक्कै लागिसक्यो भन्नुभएको थियो नि, भन्नुभएको थिएन ?
— भनेको थिएँ । भनेर के भो ?
— अब वाक्कै भइसकेपछि किन फेरि प्रधानमन्त्री बन्न खोज्नुभएको त ? वाक्क भएपछि त छोडे पनि हुन्थ्यो नि !
— मैले वाक्क भइसकेँ मात्रै भनेको हुँ,प्रधानमन्त्री नै बन्दिन त भनेको छैन नि,भनेको थिएँ ?
— अनि वाक्क भइसकेपछि त…
— वाक्क भएर के हुन्छ ? सरकार चलाउन नसक्ने त होइन नि ! वाक्कै भए पनि सरकार त चलाउन सकिहालिन्छ । मैले वाक्क भयो मात्रै भनेको हुँ,सरकारै चलाउन सक्दिन त भनेको छैन । भनेँ ?
— त्यो त भन्नुभएको छैन ।
— अनि ? त्यसैले वाक्कै भए पनि सरकार त चलाउँछु । वाक्क पनि हुन्छु,सरकार पनि चलाउँछु । कोही बात ?

टिप्पणीहरू