धनी बन्नेलाई यति सोधौं
संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानले भनेका छन्, ‘भ्रष्टाचार एउटा यस्तो महारोग हो जसले समाजका सम्पूर्ण क्षेत्रलाई प्रभावित गर्छ । प्रजातान्त्रिक मूल्य–मान्यतालाई तहस–नहस पार्छ । सामाजिक सुरक्षा, मानव अधिकारलाई ध्वस्त पार्दै संगठित अपराध र आतंकवादलाई प्रश्रय दिने काम गर्छ । भ्रष्टाचारले बजार संयन्त्रलाई बटार्छ भने मानव सुरक्षा र अमनचयनमाथि खतरा पैदा गर्छ । विश्वजनित कारण जस्तै नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवेशमा पनि भ्रष्टाचार महारोग हो । यसले हाम्रो समाजलाई दिनानुदिन विकृत र समस्याग्रस्त बनाउँदै लगेको छ ।’
भ्रष्टाचार विश्वकै ठूलो चुनौती हो । घुस र भ्रष्टाचारले ग्लोबल जिडिपीको ५ प्रतिशत हिस्सा ओगटेको तथ्य संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको छ । भ्रष्टाचारको अनुपात धेरै र थोरै मात्र होला तैपनि यसले विश्वका सबै देशको अर्थतन्त्रलाई नराम्ररी गाँजेको छ ।
भ्रष्टाचारसम्बन्धी हेर्ने अन्तर्राष्ट्रिय निकाय ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार नेपाल १३० औं स्थानमा छ भने दक्षिण एशियामा नेपालभन्दा तल बंगलादेश र अफगानिस्तान छन् ।
भ्रष्टाचारको दुई मुख्य कारण ‘ग्रिड’ र ‘निड’ हो भनिन्छ । हाम्रो सन्दर्भमा हेर्ने हो भने भ्रष्टाचारको संस्कृतीकरण मुख्य कारकका रूपमा रहेको छ । हिजोसम्म सामान्य आर्थिक अवस्था भएको व्यक्ति आज एकाएक धनी तथा सम्पन्न हुँदा हामीले उक्त व्यक्तिको विरोध गर्न जानेका छैनौं । के स्रोतले, कुन व्यवसायको कारण ऊ धनी भएको हो भन्ने सोधखोज गरिँदैन । यदि, सोधखोज गर्न थाले पनि सामान्य रूपमा आफूलाई प्रलोभन र नाफा पाएपछि त्यस्ता कुरा ढाकछोप गर्ने प्रचलन छ । समाजले कुन बाटोबाट धनी भएको हो त्यता ध्यान नदिई धनी हुनुलाई नै मुख्य कुरा मानेको छ, यही नै भ्रष्टाचारको संस्कृतीकरण अनि आजको समस्या हो ।
हामीले कहिल्यै सोधेका छौं, हिजो हामीसरह आर्थिक हैसियत भएका नेताज्यूहरू विनाकुनै व्यवसाय, विनाकुनै रोजगारी कसरी करोडपति भए भनेर ? अब सोधौं, तपाईंहरूसँग के अचुक उपाय छ ? जसकारण दुई÷चार वर्षमै घर तथा गाडीको मालिक बन्नुभो ? विनापरिश्रम, विना व्यवसाय ? यदि त्यस्तो जादु छ भने हामीलाई पनि सिकाइदिनुहोस् । तपार्इंको सेवक बनौंला भनेर । सोधांै, बेला यही हो महँगी, बजार अवस्था र आर्थिक स्तरोन्नतिको अनुपातबारेमा ।
कोही व्यक्ति नाटकीय ढंगमा प्रगति गर्छ भने पनि त्यस्तालाई सम्मान गरिन्छ । भ्रष्टाचारीलाई सामाजिक वहिष्कार आजको आवश्यकता बनेको छ । भ्रष्टाचारीलाई चुपचाप सहनु अप्रत्यक्ष रूपमा इमानदारीलाई दण्ड दिनु हो ।
लोकतान्त्रिक व्यवस्था भएको मुलुकमा चुनावलाई भ्रष्टाचारीउपर कारबाही गर्ने वैधानिक माध्यम भनिन्छ तर हाम्रोजस्तो मुलुकमा एक दशक बढीदेखि चुनाव हुन सकेको छैन । यस्तो अवस्थामा चुनावको माध्यमबाट उनीहरूलाई सजाय दिनु कठिन छ ।
– जयराम दाहाल, केन्द्रीय सदस्य, नेपाल विद्यार्थी संघ
टिप्पणीहरू