जमलमा चार घण्टा उभिए पुग्छ

  • प्रेमराज सिलवाल

काठमाडौंमा ड्युटी गर्ने ट्राफिक प्रहरीले भोगेको पीडा देख्दा मन छुन्छ । मेलम्चीको पानीका नाउँमा दिउँसो कालो र चिल्लो देखिएको सडक रातभर खरानी छरेजस्तो बन्दै जान थालेको छ । डा. बाबुराम भट्टराईको पालामा चिल्लो बनाइएको लाजिम्पाटदेखि चाबहिल तथा शहरका कुना–कुनासम्म पनि पाइप हाल्न खनिएका कारण मान्छे युद्धभूमिजस्तो अनुभूत गर्न विवश छन् ।

सडक फराकिलो भएपछि दुःखका दिन हराउला भन्दै जनताले धुवाँ, आवाज र धूलो सहेका थिए । मेलम्ची ०७४ सालमा ल्याउने चर्चासँगै पाइप हाल्न डोजर चलाउन थालिएको छ । धुलाम्मे सडकबीच दिनभर सिठी बजाउने सामान्य ट्राफिक प्रहरीको स्वास्थ्यबारे राज्य र सरोकारवाला निकायले सोच्नुपर्ने भइसकेको छ । बलियो, सफल, क्रियाशील र सु–शासनयुक्त राज्यमा मात्र नागरिक सम्पन्न बन्न सक्छन् ।

नागरिकको सहकार्य, सहयोगविना राज्यका निकायले गर्ने कुनै पनि कार्य सफल बन्न सक्दैन । विगतमा मन्त्रिपरिषद् वा विभागको प्रमुख फेरिनासाथ पहिलेको कार्यक्रम रोकिने, सुस्त हुने र अन्त्यमा बिर्सने गरिएको भए पनि केही वर्षअघि ट्राफिक प्रहरीले थालेको मापसे चेकिङ लाई भने निरन्तरता दिइएको देखिन्छ र यसका कारण दुर्घटनामा समेत कमी आएको छ । खानेपानीको हाहाकार भएको उपत्यकामा मेलम्चीको पानीले ठूलो राहत दिने निश्चित छ । विकास निर्माणमा आपसी समन्वयको ठूलो अभाव खड्किएको विगतदेखि नै देखिएको हो भने यो परम्परा खानेपानीको पाइप विस्तार क्रममा राजधानीवासीले राम्रैसँग भेटिएको छ । पाइप विस्तारले सडक छेउका घर, पसल धुलाम्मे मात्र छैनन् भोज–पार्टीमा हिँडेका बटुवाले हातमुख धुन पानी पनि साथै बोकेरै हिँड्नुपर्ने अवस्था छ ।

सुधार र परिवर्तनको नाममा जनताले अप्ठ्यारो सहने गरेका छन् । मेलम्चीको चर्चा सन् १९९० को आन्दोलनपछि बहसमा आएको भए पनि ३ दशक आशैआशमा बितेका छन् । गाउँमा पहिले–पहिले बिहे भोज गर्दा जन्ती भोकाए खाना नपाक्दै खेतबारीमा लाइन बसालेर टपरी बाँडिन्थ्यो, त्यसपछि जन्तीले अब त पक्कै खाना आउँछ भनी मुख मिठ्याएर कुर्थे । मेलम्चीले पनि काठमाडौंको सडकमा टपरीरूपी पाइप बिच्छ्याएकाले मान्छेले मुस्लोसरी धुलो सहँदै आएका हुन् । राम्रोका लागि दुःख सहनु सामान्य भए पनि आयोजना तथा सरकारी निकायमा आवश्यक समन्वय हुँदा यो हिउँद र बर्खामा अरू बढी अप्ठ्यारो सामना गर्नै पर्ने देखिएको छ ।

नागरिकले राज्यलाई सेवा–सुविधा, सुरक्षा र विकास पाइन्छ भन्ने मान्यताकै कारण चौतर्फी कर तिर्दै आएका हुन् र त्यसमा पनि शहरी क्षेत्रमा नगरपालिकाको चर्काे करको मारमा परेका छन् । कर तिर्नु अनिवार्य र आवश्यक कुरा भए पनि आजको युगमा मान्छेले के–कति सेवा–सुविधा पाएका छन् त्यसको पनि लेखाजोखा हुनैपर्छ । खाल्टोको धुलोबाट बचाउन धुले सडकमा पानी निरन्तर हाल्ने तथा आवश्यक उपायको खोजी गर्ने काम मेलम्ची खानेपानी आयोजनाको भए पनि राज्य र नगरपालिकाले जनतासँग कर लिने भएकाले ‘डाइरेक्ट मोरल रेस्पोन्सिबिलिटी’ उनीहरूको हुन्छ ।

काठमाडौं महानगरपालिकाको टेकुस्थित वातावरण विभागसँग भएका पानीका ट्यांकरले सडक दैनिक पखाल्न सक्नुपर्छ । जमिनमुनिको तिखो धुलोको कारण जनस्वास्थ्यमा दिनदिनै प्रतिकूलता थपिएर गएको छ । निर्वाचन घोषणा—पत्रमा विकासका ठुल्ठूला उदाहरण दिँदै शहरलाई सिंगापुर, युरोप, अमेरिकाको दाँजोमा लैजाने फोस्रो आश्वासन सत्तारूढ माओवादी केन्द्रदेखिका पार्टीले दिँदै आएका छन् । उल्लिखित देशका महानगरपालिकामा के–कस्ता सेवा–सुविधा नागरिकले पाएका छन् भन्नेतर्फ पनि विचार गर्नुपर्छ । मानवअधिकार, स्वतन्त्रता, नागरिक हकको ‘साँघुरो’ परिभाषा छाडेर वृहत् व्याख्या गर्ने हो भने नागरिक स्वास्थ्यको अधिकारमा प्रतिकूलता दिने कुनै कुरा हुनुहुन्न । आमनागरिकजस्तै प्रहरी वा ट्राफिक प्रहरी पनि जनताकै छोराछोरी हुन् र तिनले बाध्यतावश खाएको जागिरको अर्थ जस्तोसुकै धुलोमा ज्यानको जोखिम मोल्ने भन्ने हुन्न ।

धुलो हटाउन सकिन्न भने मान्छेको जीवन बचाउने र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने उपाय गर्न खोज्नु सम्बन्धित निकायको दायित्व हुन्छ । नोकरीपछि पेन्सन आउला, जीवनमा एक पटक विदेश जाउँला, पैसा बचत गरेर बच्चालाई शिक्षा—दीक्षा दिलाउँला भन्ने आशमा धुलो सहेका प्रहरीको स्वास्थ्य खराब हुनु अर्काे अर्थमा नगरवासीलाई तिनले दिने सेवामा प्रत्यक्ष असर पर्नु हो । चार हजार सदस्यको जम्बो केन्द्रीय समिति बनाएर सरकारप्रमुख रहेका प्रधानमन्त्रीपुत्र प्रकाशले नक्कली बर्दी लगाएर फेसबुकमा फोटो पोस्ट गराएका थिए । जनता र प्रहरी जवानको मर्का जान्न प्रधानमन्त्रीले प्रहरीमोह भएका प्रकाशलाई चार घन्टा जमलस्थित चेम्बर भवनअगाडि राखेको खण्डमा बर्दीको लोभ र वास्तविकतामा कति फरक हुन्छ भन्ने थाहा पाइन्थ्यो कि ?

टिप्पणीहरू