फेरि सुनकै कुरा
काठमाडौंमा फेरि सुन समातियो । त्यो पनि दुई चार पाउ हो र, पूरै ८८ किलो ! गृहमन्त्री जनार्दन शर्माको जिउको तौलभन्दा नि अलि बढी नै होला ! एउटै गाडीमा ८८ किलो सुन राखेर कतै पु¥याउन खोजिएको रहेछ, प्रहरीले समातिहाल्यो ।
हैन यो काठमाडौं भनेको पनि सुनको खानी नै हो कि क्या हो हँ ! सुन त समातेको समात्यै छ । अस्ति भर्खर ३५ किलो सुन समातिएको थियो । त्यसपछि फेरि १५ किलोजति समातियो । अहिले एक्कासि आएर ८८ किलो समातियो । यति किलो त योभन्दा अघि पित्तल पनि समातिएको थिएन । काठमाडौंमा सुन समातिएको यो खबरले अहिले तहल्का मच्चाइदिएको छ ।
भन्न त नेपाललाई संसारकै गरिबमध्येको देश भनिन्छ । तर खोइ, समाउने बेलाचाहिँ सुनबाहेक अरु समाउनै छोडिसक्यो । संसारकै गरिब देशमा संसारकै बढी परिमाण सुन बरामद ! अहिले संसारमा यही समाचार आइरहेको छ । (नआएको भए पनि पछि आउँछ होला ।)
तर रमाइलो के भने काठमाडौंमा जति पनि सुन समातिन्छ, त्यसको साथमा भरिया मात्रै समातिन्छ, मालिक समातिन्न । सुन समातेपछि भरियालाई पनि आफ्नो मालिक को हो थाहा हुन छोड्छ । मानौं, दिमागमा अचानक मालिकको नाम डिलेट भएको होस् । त्यसो त सुन समातेपछि मालिक किन चाहियो र ! राष्ट्र बैंकलाई सुन चाहिएको हो, पाइहाल्यो । प्रहरीलाई सुन बोक्ने मानिस चाहिएको हो, पाइहाल्यो । बढी किन गिनगिन ? कि कसो ?
टिप्पणीहरू