मन्त्रीज्यूको चल सम्पत्ति

सरकारमा बसेका मन्त्रीहरूको सम्पत्ति विवरण आउने क्रम जारी छ ।  सबै मन्त्रीको सम्पत्ति समान छैन । उहाँहरूको सम्पत्ति देखेर म त चकित परेको छु । कसैको धेरै सम्पत्ति देखेर चकित छु । कसैको थोरै सम्पत्ति देखेर । एउटै सरकारमा बस्ने मन्त्रीहरूको सम्पत्ति पनि किन यति धेरै फरक होला ? 

यसै क्रममा एउटा मन्त्रीको सम्पत्ति विवरण आएको छ – कुनै पनि अचल सम्पत्ति छैन । सायद अचल सम्पत्ति नभएको एउटै मात्र मन्त्री उहाँ नै हुनुहुन्छ होला । 

अब अचल सम्पत्ति छैन भनेपछि उहाँसँग जति पनि सम्पत्ति छ ती जम्मै चल होला । चल सम्पत्ति भनेको त्यस्तो सम्पत्ति हो जो सधैँभरि चलिरहन्छ । चलिरहने सम्पत्ति भएकै कारण पनि त्यसलाई चल सम्पत्ति भनिएको होला । यो यस्तो सम्पत्ति हो जो एक ठाउँबाट अर्को ठाउँमा, अर्को ठाउँबाट झन् अर्को ठाउँमा चलिरहेको हुन्छ । कहिल्यै रोकिँदैन ।

एक ठाउँबाट अर्को ठाउँमा चलाउन मिल्ने भएकै कारणले यसलाई चल सम्पत्ति भनिएको होला । एक ठाउँबाट अर्को ठाउँमा भन्नुको मतलव आफ्नो घरबाट ससुरालीको घरसम्म, वा आफ्नो घरबाट सालोको घरसम्म वा साढुँदाइ वा भाइको घरसम्म । यसरी एक घरबाट अर्को घरसम्म चलाउन मिल्ने सम्पत्तिलाई नै चल सम्पत्ति भनिन्छ । 

अचल सम्पत्ति नभएका हाम्रा मन्त्रीज्यूसँग भएको चल सम्पत्ति जम्मै यस्तै त सम्पत्ति होला नि, होइन ? 

टिप्पणीहरू