​श्रीमती संघको सकस

अहिले प्रहरीको श्रीमती संघ चर्चामा छ । प्रहरी श्रीमती संघ किन चाहियो भन्ने प्रश्न उठेको कारण यो चर्चा चलेको हो । अस्ति प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नै सोधिएको थियो, ‘प्रहरी श्रीमती संघ किन चाहियो  ? यसलाई किन भंग नगर्ने  ?’

श्रीमती त सबैका हुन्छन्, प्रहरीको मात्र होइन । संघचाहिँ प्रहरीकै श्रीमतीको मात्र किन हुन्छ  ? डाक्टर श्रीमती संघ, इञ्जिनियर श्रीमती संघ, शिक्षक श्रीमती संघ, रिक्सा चालक श्रीमती संघ आदि त केही पनि छैन । अँ, बरु केही समयअघि पत्रकार श्रीमती संघ चाहिँ आएको थियो । पछि के भयो थाहा भएन ।

जहाँसम्म प्रहरीको श्रीमती संघ किन भंग नगर्ने भन्ने प्रश्न छ, त्यो आईजीपी सर्वेन्द्र खनालले गर्नसक्ने कुरा होइन । उहाँले अरु संघहरू बरु बल लगाएर भए पनि भंग गर्न सक्नुहोला तर श्रीमती संघलाई चाहिँ छुन पनि सक्नुहुन्न । यो कन्फर्म छ । 

बरु विभिन्न कारणले गर्दा श्रीमती संघमै वैधानिक समस्याहरू चाहिँ आउन सक्छन् । किनभने प्रहरी श्रीमती संघको अध्यक्ष आईजीपीकै श्रीमती मात्रै बन्न पाइन्छ । भोलि केही गरी कुनै अविवाहित व्यक्ति आईजीपी भइदियो भने के गर्ने  ? अथवा एकभन्दा बढी श्रीमती भएको व्यक्ति आईजीपी भइदिए के गर्ने  ? नेकपामा जस्तै दुई अध्यक्ष प्रणालीमा जाने कि  ? अथवा कुनै महिला प्रहरी आईजीपी भए के गर्ने  ? श्रीमती संघको अध्यक्ष पुरुषलाई बनाउने  ? कि प्रहरी श्रीमान संघ पनि गठन गर्ने  ? यस्ता समस्याबारे कहिल्यै सोचिएको छ त आईजीपीज्यू  ?

टिप्पणीहरू