भ्रष्टाचारीको आत्महत्या

बालुवाटारको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको भनी नाम आएका एक पूर्वकर्मचारीले आत्महत्या गरेछन् । केही समयअघि मात्रै अर्को एउटा भ्रष्टाचार काण्डमा नाम आएका कर्मचारीले पनि आत्महत्या गरेका थिए । भ्रष्टाचारमा नाम आउनेबित्तिकै आत्महत्या गर्ने नयाँ चलन चलेजस्तो छ । 

मित्रराष्ट्र चीनमा भ्रष्टाचारीलाई समातेपछि गोली ठोकेर मारिन्छ । सामाजिक सञ्जालमा त्यसरी हत्या गरिएका भिडियो र फोटाहरू हेर्न पाइन्छ । नेपालमा भ्रष्टाचारीहरूले आफै आत्महत्या गर्ने भएपछि सरकारको गोली बच्ने भयो । अदालतको समय बच्ने भयो । पीडितको पैसा बच्ने भयो । देशको इज्जत बच्ने भयो । यति धेरै कुरा बचाएर प्राण त्याग्नु नराम्रो होइन । 

भ्रष्टाचारीहरूले अरु बेला केही नसोचे पनि कमसेकम मर्ने बेला यति सोच्दा रहेछन् । देश र जनताप्रति भ्रष्टाचारी त यति धेरै चिन्तित छ भने नेताहरू किन चिन्तित नभएका होलान्, बुझ्न सकिएन । शायद नेताहरू भ्रष्टाचारी नभएका कारण पो देश र जनताबारे यसरी नसोचेका हुन् कि ?

टिप्पणीहरू