तातो–चिसो पिउने, तनावमा जिउने

नेपालमा गरे नहुने केही छैन । तर, उद्यमशील बन्ने न जाँगर, न प्रोत्साहन– केही नहुँदा देश र जनताकै बिल्लिबाठ छ । पाहुना वा साथीसँग शिष्टाचारका लागि पनि ‘तातो–चिसो’ सोध्ने हाम्रो चलनै हो । तातोका लागि चिया, चिसोका लागि कोक–फ्यान्टा, जुस । तर, चिसो पिउने आदतले हामीलाई कति रोगी बनाएको छ भने सुन्दा पनि आङ जिरिङ्ग हुन्छ । कोकाकोला र इनर्जी ड्रिंक्स या फ्लेभर्ड जुसमा क्याफिनको मात्रा बढी पाइन्छ । हाम्रोजस्तो धुलो–धुँवा बढी भएको देशमा रुघा लाग्ने, एलर्जी बढ्ने खतरा रहन्छ । क्याफिन यस्ता बिमारीको जड हो ।

सफ्ट ड्रिंक्समा ग्याँससँगै क्याफिन पनि हुन्छ । यो मुटुका लागि जोखिमयुक्त पेय पदार्थ हो, जसले रक्तचापको रफ्तारलाई दू्रततर गतिमा बढाउँछ । अध्ययनले पनि देखाएको छ– एक क्यान कोक पिएको एक घण्टाभित्र शरिरमा पर्ने प्रभाव गम्भीर प्रकारको हुन्छ । मात्र ३५४ मिलिलिटर कोकाकोलामा लगभग १० चम्चा चिनी हालिएको हुन्छ । विश्व स्वास्थ्य संगठनले दैनिक छ चम्चाभन्दा बढी चिनी नखान सुझाव दिएको छ । हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका अनुसार जसले कोकाकोला जस्तो पेय पदार्थ एउटा वा दुईवटा क्यान दैनिक पिउँछ, उसलाई दोस्रो प्रकारको मधुमेह हुने सम्भावना २६ प्रतिशतले बढ्छ । यसरी विश्वमा प्रतिवर्ष एक लाख ८४ हजार मानिसको मृत्युसँग गुलियो पेय पदार्थको सम्बन्ध रहेको बताइन्छ । 

कोकको यही दुष्प्रभावका कारण भारतले इम्पोर्टेड इनर्जी ड्रिंकहरुलाई प्रतिबन्ध लगाएको छ । बेलायतले पनि १८ वर्षभन्दा कम उमेरका किशोर–किशोरीलाई कोकसहितका विभिन्न इनर्जी ड्रिंक्सबाट स्वास्थ्यमा गम्भीर असर पर्ने नाममा बिक्रीमा प्रतिबन्ध लगाएको छ । तर, दुर्भाग्यको कुरा हाम्रो देशमा वर्षेनी एक अर्बको इनर्जी ड्रिंक्स आयात हुन्छ । त्यसमाथि बंगलादेशको प्रान कम्पनीले विभिन्न फलफूलको फ्लेभर हालेर नेपालमा जुस निर्यात गर्छ । ती जुसले क्याल्सियम दिँदैनन् । रसायनको मिसावटबाट स्वाद निकालिन्छ, त्यसमा विषादीको मात्रा पनि हुन्छ । अर्थात्, हामी स्वस्थ हुने नाममा जुस हैन, विष पिउँदैछौँ । एउटा स्वस्थ व्यक्तिमा क्याल्सियमको मात्रा प्रतिदिन ९५ एमजीका दरले आवश्यक हुन्छ ।

क्याल्सियमले शरीरको मांसपेशी बलियो बनाउनुका साथै हड्डी पनि दरिलो हुन्छ । तर, ग्याँस र सुगर भरिएका कोक, फ्यान्टा र इनर्जी ड्रिंक्सको सेवनबाट हामी शरीरमा क्याल्सियम हैन, विषादी भिœयाइरहेका हुन्छौँ । यसको विकल्प छ, नेपालमै जडिबुटी मिसाएर क्याफिनविहीन पेय पदार्थको उत्पादन । यस्तो उत्पादन विदेशी बजारमा निर्यात गर्न सके स्वास्थ्यसँगै अर्थोपार्जनका दृष्टिले पनि उपयोगी हुन्छ । नेपालमा प्रशस्तमात्रामा उत्पादन हुने आँप, कटहर, लिच्चीलगायतका फलबाट यस्ता पेय पदार्थ बन्नसक्छन् । 

जस्तो कि, सिंगापुर, थाइल्याण्ड, कम्बोडिया, भियतनामजस्ता समुन्द्री देशमा हाम्रो रुखकटहरजस्तै एउटा फल हुन्छ, दुरियन । हल्का गन्ध आउँछ । तर, चिनियाँहरु त्यसलाई फलको राजा (किङ अफ फ्रुट) मान्छन् । आँपलाई ‘क्वीन अफ फ्रुट’ मानिन्छ । हाम्रो तराईमा आँपको अत्यधिक उत्पादन हुन्छ । पहाडी प्रजातिका आँप लोपोन्मुख छन् । ती आँपको बजार छैन । चीनको अलिबाबा डटकमले विभिन्न सामानको अनलाइनमार्फत होम डेलिभरी गर्छ । त्यसका प्रमुख ज्याक माले बैंकक गएर सम्झौता गरे, दुरियन निर्यातका लागि । फलतः चीनको बजारमा त्यही दिन ८० हजार दुरियन बिक्री भयो । नेपालमा पनि त्यस्तो बिक्री र उत्पादनको सम्भावना नभएको होइन । तर, सरकारको योजना, लगानीकर्ताको आकर्षण यतातिर छैन । कृषिप्रधान देश नेपालको कृषि व्यवसाय त डुब्यो, डुब्यो । नयाँ सम्भावना खोज्नेतिर पनि कसैको ध्यान छैन । विदेशी प्रविधि होलान्, लगानी कम होलान् तर गर्न सके अनेकन सम्भावना छन् । रामदेवको पतञ्जलीले हाम्रा जडिबुटी लैजान्छ र हामीलाई नै महँगोमा सामान बेच्छ । 

सरकारसँग सर्भिस डेलिभरीको नीति छैन, मात्रै कर असुलीका योजना छन् । सवारीसाधनको कर एक दिन ढिलो तिर्न गयो भने सय प्रतिशत जरिवाना लाग्छ । लाइसेन्स नवीकरणमा पाँच हजार जरिवाना पर्छ । त्यसमाथि स्मार्ट कार्ड हात पार्न एक वर्ष कुर्नुपर्छ । जतिसुकै राम्रोसँग खिचेको भए पनि त्यसमा फोटो कालो हालिन्छ । मालपोतमा त्यस्तै छ । संसार रंगीनमा गइसक्यो, यहाँ अझै ‘ब्ल्याक एण्ड ह्वाइट’ को चलन बाँकी छ । सेवाग्राहीहरु ढिलो गएर जरिवानामा पर्न चाहँदैनन् । फलस्वरुप यातायात कार्यालयमा सेवाग्राहीको ताँती लाग्ने नै भयो । तर, सेवा दिने कर्मचारीको अभावमा काम ढिलो हुन्छ । सेवाग्राहीहरु जतिसुकै सचेत भए पनि आज हुनुपर्ने काम भोलि हुने भएपछि जरिवानामा पर्ने नै भए । तर राज्यको नीति यस्तो छ कि, जसरी हुन्छ, कर बढी असुल्ने । सरकारको काम सेवा सहज गराउने हो । कर असुलेर मात्र राज्य धनी हुने हो भने त देशको उहिल्यै कायापलट भइसक्नुपर्ने हो ।

टिप्पणीहरू