बन्देज लगाए पनि पैसाको राम्रो बन्दोबस्त

सरकारले राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएर वार्ताको माध्यमबाट मूलधारमा ल्याउने प्रयासको परिणाम सार्वजनिक नभए पनि विप्लव माओवादीले चन्दा अभियान तीव्र बनाएको छ । यता नेपाल प्रहरी र सशस्त्र प्रहरीले विप्लव माओवादीको आशंका लागेका पूर्वमाओवादी नेता–कार्यकर्ताको रेकी गर्दै पक्राउका लागि घरघरै टोली खटाएको छ ।

तत्कालीन प्रवक्ता प्रकाण्डलाई पक्राउ गरी धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । त्यही बेला प्रहरीले उनको डायरीबाट फेला पारेका तथ्याङ्कको आधारमा अहिले अनुसन्धान र खोजबिन चर्किएको हो । एसपी जयराज सापकोटाले भारतीय लगानीका कम्पनी तथा व्यवसायिक प्रतिष्ठानहरुलाई विप्लव माओवादीले लक्ष्यित गरेको विवरण पेश गरेको छ । सैन्य फर्मेसनको सातौं बैठकले मूर्त रुप दिएको डायरी बरामद भएको बताइन्छ । विप्लव समूहले सैन्य जिम्मेवारी तोकी आवश्यक बन्दोबस्तीका सामान र प्राविधिकको नाममा बिस्फोटक पदार्थ तथा हातहतियारको समेत व्यवस्थापन गरेको छ ।

आर्थिक संकलनको सन्दर्भमा बिभिन्न योजना, परियोजना तथा व्यवसायिक प्रतिष्ठानहरुलाई ए बी सी तीन श्रेणीमा विभाजन गरिएको, ए श्रेणीअन्तर्गतका कम्पनीहरुसँग केन्द्रीय स्तरबाट, बी श्रेणीअन्तर्गतका कम्पन्नीसँग ब्यूरो स्तरबाट र सी श्रेणीअन्तर्गतका कम्पनीसँग जिल्लास्तरबाट आर्थिक संकलनको नीति योजना बनाएको प्रहरीको दाबीे छ ।

‘जनताले स्वतस्फुर्त सहयोग गरेका हुन्’, विप्लव समूहका एक जिल्ला नेताले भने–‘सबै पक्षसँग सहयोग मागेका छौं ।’ केही विद्यालयले जबर्जस्ती बुझाएका छन् भने केहीले दिन अस्वीकार गरेका छन् । जनप्रतिनिधिले पनि नगद बुझाएका छन् । डायरीमा २०७२ साल चैतदेखि २०७५ असारसम्म ७ करोड ७६ लाख १४ हजार ४ सय ४४ आर्थिक संकलन गरेको तथ्याङ्क उल्लेख छ । 

२०७३ चैतदेखि २०७५ असार महिनासम्म प्राविधिक शीर्षकअन्तर्गत बिस्फोटक पदार्थ तथा हातहतियार खरिद र सोसम्बन्धी तालिमका लागि करिब ७८ लाख २४ हजार र पिएलए जनसेवातर्फ करिब ४१ लाख ३९ हजार ६० गरी सैन्यतर्फ कूल १ करोड १९ लाख ६३ हजार ६० रुपैयाँ खर्च भएको तथ्य फेला परेको छ । 

– मोतीराम तिमल्सिना

टिप्पणीहरू