​पृथ्वीनारायण हिँडेको बाटोमा…

माओवादीले गेरिल्ला ट्रेलको कन्सेप्ट ल्याएझैं नेपाली सेना पनि पृथ्वीनारायण शाहले हिँडेको बाटो पहिल्याएर भिआइपीहरुलाई ट्रायल पदयात्रा गराउने तयारीमा छ । चार महिनापछि सन् २०२० लाग्छ । प्रतिज्ञा गरिएको छ, विश्वभरका २० लाख पर्यटक भिœयाउने । तर, सरकारी तदारुकता र योजना अहिलेसम्म त्यस्तो देखिएको छैन । बरु, भर्खरै सेनालाई तताइएको छ, भ्रमण वर्षलक्ष्यित योजना निर्माणका लागि ।

पर्यटनकेन्द्रित योजना बनाएर शीघ्र कार्यान्वयनका लागि सरकारको दबाब आएपछि सेनाले पोखरामा प्याराग्लाइडिङ सञ्चालनमा ल्याउने तयारी थालेको छ । त्यसका लागि आवश्यक सामग्री आयात भइसकेको छ । निजी क्षेत्रले कास्कीको सराङकोटबाट प्याराग्लाइडिङ प्रतियोगिता पनि गराउँछ । घुमफिर र मनोरञ्जनको माध्यम मानिने प्याराग्लाइडिङलाई खेलको अलग्गै विधा बनाइएको छ । र, राष्ट्रिय खेलकुद परिषद्ले प्याराग्लाइडिङ संघ भनेर अलग्गै कमिटी गठन गरिसकेको छ । अब यसैमा सेनाको प्रवेश हुन लागेको हो । सेना छिर्नुको कारण हो, यो प्रभावकारी रुपमा सञ्चालनमा आउन सके विदेशीको आगमन दर बृद्धि हुन्छ । योसँगै सेना अहिले जंगलभित्र युनिफिकेशन ट्रेल, अर्थात् पृथ्वीनारायण शाहले नेपाल एकीकरणक्रममा प्रयोग गरेका बाटोहरु पहिल्याउने काममा पनि खटिएको छ । देशभरि नै त्यस्तो मार्गको खोजीमा जुटेको सेनाले केही ठाउँमा त फेला पनि पारिसक्यो । त्यसमध्येको हो, धुलिखेलको पुरानो बजारपछाडि देवीथान र पनौतीको गोरखनाथ मन्दिर । पृथ्वीनारायण शाहले काठमाडौं जित्नुअघि त्यो बाटो प्रयोग गरेका रहेछन् ।

उता, सैनिक मुख्यालयअघिल्तिर लामो समय उभिने एकजना सर्वसाधारण अहिले प्रहरीको नियन्त्रणमा छन् । गत हप्ता त्रिपुरेश्वरस्थित दूरसञ्चार, खानेपानीनिर ती सर्वसाधारणले केही समय उभिएपछि एउटा पोको छाडेर हिँडे । सेनाको बम डिस्पोजल टोलीले पोको नियन्त्रणमा लियो । हेर्दा व्यक्तिगत सामान रहेछ । सेनाले आवश्यक अनुसन्धानका लागि प्रहरीलाई झोला र त्यसमा रहेको नागरिकता दिएको छ । ती व्यक्ति शंकास्पद भएर प्रहरीले सोधखोज गर्दै रहेको जनाइएको छ ।

टिप्पणीहरू