छिद्र केलाउँदै, सबलाई खेलाउँदै

औद्योगिक उत्पादनको माध्यमबाट देशलाई आत्मनिर्भर बनाउने भनी खडा गरिएका जमिन र भौतिक पूर्वाधार दोहन गर्न राजनीतिक पहुँचदेखि अदालती आदेशसम्म लिन सक्नेहरुबीच मज्जैले डोजर नचलाएसम्म पक्का छ– देश कहिल्यै बन्दैन !

बालाजु र हेटौंडा औद्योगिक क्षेत्रमा हेरौँ, उद्योग सञ्चालनमा छैनन् । तर, निश्चित उद्योगकै नाममा ठाउँ ओगटिएको छ । लामो समयदेखि एउटाले ओगट्ने र मूल्यांकन बढाएर अर्कोलाई बेच्दै पैसा कमाउने गिरोह नै सक्रिय छ । नियम र कानुनले यस्तो गर्न पाइँदैन । तर, शक्तिकेन्द्र साथमा भएपछि के नियम ? के कानुन ? बालाजु औद्योगिक क्षेत्रभित्र चार–पाँचवटा कम्पनीले ठाउँ ओगटेका छन् । पुरानो भाडा दर हो, १३ सय ८० रुपैयाँ प्रतिरोपनी मासिक । त्यसैमा सञ्चालक समितिले भाडा बढाउन गरेको निर्णय कार्यान्वयन नगर्नु भनेर अदालतबाट आदेश ल्याइएको छ । र, बालाजुभित्र सञ्चालित एक सय ३४ वटा उद्योगमध्ये थुप्रैले ठाउँमात्र ओगटेका छन् । ती उद्योग झट्ट हेर्दा बन्द छैनन् । रुग्ण हिसाबले चलाउने वा थेगिराख्ने काम भएको छ । किया मोटर्सको नाममा ठाउँ ओगटेका सुहि«द घिमिरेले हो, अदालतबाट अन्तरिम आदेश ल्याएर भाडा बढ्न नदिएको । 

बालाजु व्याट्री कम्पनीले १४ रोपनी जमिन आफ्नो नाममा पा¥यो र बढेको भाडा तिर्दिनँ भनेर व्यवस्थापनविरुद्ध पाँचवटा मुद्दा हाल्यो । भित्र एभरेडी ब्याट्रीको लोगो त छ, तर काम अर्कै हुन्छ । अर्थात्, ब्याट्री उत्पादनका नाममा सरकारी जमिन भाडामा लिएको कम्पनीले किया गाडीको वर्कसप राखेको छ । यो उत्पादनमूलक उद्योग होइन । जबकि औद्योगिक क्षेत्र गठन आदेशअनुसार उत्पादनमूलक उद्योगका लागि मात्र त्यहाँ भाडा दिनुपर्छ । सुहि«द घिमिरेको कोरियन गाडी उद्योगले जापानिज ‘कोमात्सु’ कम्पनीको डोजर पनि बेच्छ । उसले त्यहाँको जमिन २० वर्षे सम्झौताअन्तर्गत भाडामा लिएको हो, अझै ११ वर्ष बाँकी छ । गाडी त बेच्यो, ठीकै छ । यता एसेम्बल गर्ने (पार्टपुर्जा जडान गरेर बेच्ने) पनि होइन । सिंगै गाडी आयात गर्ने र एउटैमा ६–७ लाख नाफा खाने ।

उता, हेटौंडा औद्योगिक क्षेत्रमा जमिन र पूर्वाधार ओटेका १०–१५ वटा उद्योग बन्द छन् । दुई वर्षभित्र उद्योग सञ्चालन नभए स्वतः खारेज हुने कानुनी व्यवस्था हो । तर, राजनीतिक प्रभाव र अदालती चलखेलका कारण दशौं वर्षदेखि जग्गा ओगट्ने काम भइरहेको छ । पाँच लाखको सानो टहरा बनाउने । रोपनीको दुई–तीन लाख मूल्यांकन गर्ने । जग्गाको यति, टहराको यति भनेर मूल्य बढाउने । पुरानो नक्कली उद्योगी र सक्कली मिल्ने । जग्गाको लिज नयाँमा हस्तान्तरण गर्ने । एउटै उद्योगको तीन करोड २० लाखसम्ममा किनबेच हुने । ठाउँ किन्न जाने नयाँ उद्योगलाई थोत्रो मेसिन देखाउने, तोकिएको काम नगर्ने । तर, गुडविल भन्दै महंगोमा बेच्ने । हेटौंडामा जम्मा एक सय २० देखि २५ उद्योग सञ्चालनमा छन् । तीमध्ये ब्राण्ड पनि चलेका उद्योग हुन्, साल्ट ट्रेडिङ, खजुरी, नेबिको बिस्कुटलगायतका । 

टिप्पणीहरू