गभर्नरलाई भरमार गाली- ‘तपाईं चूप लाग्नुस्…!’
चोर औंला तेस्र्याएर अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रबैंकका गभर्नर डा.चिरञ्जीवी नेपाललाई सबैका सामु चर्को स्वरले हप्काएपछि बैठकमा सन्नाटा छायो । घटना एक हप्ताअघि, अर्थ मन्त्रालयस्थित बैठक कक्षको हो ।
भनिन्छ नि, ‘मन नपरेपछि मायाले छुँदा दुख्छ, मन परेपछि चिमोट्दा पनि काउकुति लाग्छ !’ त्यसदिन भएको यस्तै हो । मन्त्री रिसाउनुपर्ने विशेष कारण थिएन । तर, रिसाएकोमात्र हैन, यसरी कड्किए कि, उच्चपदस्थ कर्मचारीहरु हेराहेर गर्न थाले ।
यो घटना मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक चलिरहँदाको हो । हरेक चार–चार महिनामा यस्तो समितिको बैठक बस्छ । र, अर्को बैठक वार्षिक रुपमा हुन्छ, जसलाई ‘एम्ड्याक’ पनि भनिन्छ । अर्थ मन्त्रालयका सबै विभागीय प्रमुखसहित भन्सार, आन्तरिक राजश्व विभाग, राजश्व तालिम केन्द्रका प्रमुख, धितोपत्र बोर्ड, राष्ट्रबैंक, वीमा समिति, कृषि विकास बैंक, बाणिज्य बैंक, कर्जा सुरक्षा निगमजस्ता निकायका प्रमुख त्यहाँ थिए । बैठकमा सबैले विचार राखे । राजश्व सचिव लालशंकर घिमिरे र अर्थसचिव राजन खनालपछि गभर्नरको पालो आयो । तर, जब उनी बोल्न थाले, मन्त्रीको मुखाकृति फेरियो । गभर्नर बोल्दै थिए, तीन–चार मीनेटमै मन्त्रीले हातले इशारा गरेर छोट्याउन भने । गभर्नर छोट्याउने गरी नै बोल्दै थिए । तर, मन्त्रीलाई चित्त बुझेन । अनि, बोल्दाबोल्दै हप्काउन थाले, ‘तपाईं चूप लाग्नुस् त…बढ्ता बोल्ने ?’ मन्त्रीको भनाइ थियो, ‘मन्त्रालय समस्या समाधान समितिको बैठकमा कस्ता कुरा बोल्न हुन्छ, कस्ता कुरा बोल्नुहुँदैन, मापदण्ड बनाउनुपर्ने भयो । त्यसमाथि राष्ट्रबैंकको गभर्नरले अनुशासन पालना गरेको देखिएन । यो पत्रकार सम्मेलन होइन । जानकारी दिने ठाउँ पनि होइन । आफ्नो प्रशस्ती गाउने जरुरत छैन ।’
तर, मन्त्रीले गाली गरेजस्तो गभर्नरले बोलेका थिएनन् । उनले भनेका थिए, ‘अहिले सात प्रतिशतका दरले आर्थिक विकास भएको छ । यो अझै बढ्नेवाला छ । स्थानीय तहमा बैंक पुगेको छ । मानिसहरु आर्थिक क्रियाकलापमा संलग्न हुन थालेका छन् ।’ शायद, मन्त्रीलाई लाग्यो– गभर्नरले भनेका सबै काम उनी आफैँले गरेँ भन्न खोजेका हुन् । हिजो–अस्तिदेखि हैन, बहाल भएकै दिनदेखि मन्त्रीका कारण गभर्नर पनि कस्तो समस्यामा छन् भने, कुनै बैठकमा गएन भने किन आएन भनेर स्पष्टिकरण सोध्ने, जाँदा पनि यसरी नै सबैका सामु हप्काउने !
डा. चिरञ्जीवी नेपाललाई हप्काउँदा हप्काउँदै आफैं राष्ट्रबैंकको गभर्नर रहिसकेका मन्त्रीले आफ्ना कुरा पनि राखे । आधा समयचाहिँ हप्काउनमै खर्च गरे । उनले भने, ‘नियामक संस्थाका प्रमुखलाई कार्यसम्पादनमा आधारित करार सम्झौता (प्रधानमन्त्रीले जस्तो) गर्ने व्यवस्था मिलाउनुस् । अब भाषण गरेर, ठगेर खान पाइँदैन । कामको आउटपुट चाहियो । पत्रकार सम्मेलनमा जस्तो मनपरी बोल्ने होइन । तयारीसहित बोल्नुस् ।’ अन्तिममा मन्त्री निक्कै हतारिएजस्तो, गभर्नरतिर हेर्दै नहेरी जुरुक्क उठेर हिँडे । हाकिमहरुलाई लाग्यो मन्त्रीलाई कतै जानु छ, त्यसैले हतारिए । तर, त्यहाँबाट त्यसरी निस्किएका उनी कतै गएनन्, अफिसभित्रै दुई घण्टा बसे । गभर्नरचाहिँ मन्त्री बोलुञ्जेल, उनले गाली गरुञ्जेल घोसे मुन्टो लगाएर सुनिरहे । विभिन्न निकायका प्रमुखहरु चर्चा गर्दै थिए, ‘गभर्नरले नबोलेर, गाली सुनेर हाइट बढाए । मन्त्रीले गाली गरेर आफ्नो उचाई घटाए !’
उता, अहिलेका राजश्व सचिव लालशंकर घिमिरेले भदौ १० गते अवकास पाउने भएपछि अहिलेका सहसचिव र सचिव बढुवाको अघिल्लो वरियतामा रहेका तोयम राय राजश्व सचिवका रुपमा पदस्थापित हुने सम्भावना छ ।
टिप्पणीहरू