सम्झनाको आँशु र सामाजिक सञ्जालको उन्माद

  • नारायण नेपाल 

समाजमा समस्या आउँँदा, सरकार र आन्दोलनकारी पक्षबीच द्वन्द्व चर्कंदा सञ्चारकर्मीले मध्यस्थता गर्ने प्रचलन छ । तर, आज शालिकराम पुडासैनीको मरण  प्रकरणमा भने समर्थन र विरोध छरपस्ट छ । कतिपय समाचार हेर्दा लाग्छ, पत्रकारले नै सबथोक भएर फैसला गरिसकेका छन् । के देशमा अदालत, प्रशासन, कर्मचारी, प्रहरी कोही चाहिँदैन ? सामाजिक सञ्जालको विकाससँगै नेपाली सञ्चार जगतले खेप्नुपरेको कालो दाग भनेको (फेक न्युज) झुटा समाचारको आतंक हो । समाज र राजनीति वर्गीय हुन्छ भने मिडियाको चरित्र मात्र निर्वर्गीय कसरी हुने होला !

१० पानाको पत्रिका निकालेर करोडको घरघडेरी जोड्नेदेखि अनलाइन चलाएर पजेरो चढ्नेसम्मका पत्रकार यहीं छन् भने समाचार लेखेर भात खान नपाउँदै पेशा छाडी हिँड्ने तथा वर्षौंदेखिको तलब माया मारेर जागिर हाप्नेहरूका कथा पनि बग्रेल्ती छन् । कसैलाई भगवान बनाउन चोपलिने कलम, आफ्नो गल्ती ढाकछोप गर्न अस्मिता (रुकु) कार्कीको निजी संवाद छरपस्ट  पारी उनको भविष्य बर्वाद पार्नेहरुतिर किन सोझिँदैन ? एक सञ्चारमाध्यम छाडेर अर्को माध्यममा जाने पत्रकारको पीडा के होला ? जब पत्रकार बाटो लाग्छ तब सञ्चारमाध्यमले बनाएको नीति तथा योजना बाहिरिन्छ । सम्बन्धित मिडियाले चलाउँदै आएको अभियान परिवर्तन हुन्छ । हरेक सञ्चारमाध्यम र त्यसको आडमा सञ्चालकले गरेको बदमासी बाहिरिन्छ । हरेक सञ्चारमाध्यम सञ्चालकका केही न केही बदमासी हुन्छ । उनीहरू त्यसलाई कार्यक्रम प्रस्तोताको रामनामी वस्त्र ओढेर छोप्न चाहन्छन् । शालिकराम बाहिरिएसँगै उनले त्यहाँ हुने श्रमशोषण, यौन शोषण, काममा हुने हेपाइ र  सञ्चारमाध्यमको लोकप्रियताको आडमा चलेको धन्दा बाहिर आउने त्रास सञ्चालकलाई थियो । 

यस प्रकरणमा अनुसन्धान गर्न सञ्चारकर्मी रविसहित तीनजना पक्राउ परेपछि उनीहरूलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा लैजाँदा जुनप्रकारको विशेष अधिकार दिइयो के आमनागरिकलाई यस्तो व्यवस्था छ ? पहिलो म्याद थपका लागि लैजाँदा पक्राउ पुर्जी दिने कि नदिने भनी बहस गर्ने अवसर किन दिइयो ? दोस्रो पटक बयानको क्रम चल्दै गर्दा म्याद थपमा अनुसन्धानका लागि लगिएको अभियुक्त प्रतिवादीलाई अनुसन्धान नै पूरा नहुँदै वकालतनामा राख्न दिन मिल्छ ? त्यो अधिकार आमनागरिकलाई पनि छ ? यो सवालसँगै अदालतको तरिका भैरवी पञ्चायतको जस्तो हुने देखिन्छ । 

भैरवी पञ्चायतमा एकपटक रामबहादुरले छिमेकीको बाख्रालाई कुटेर मारेछ । आफ्नो बाख्रा मरेपछि हरिबहादुर दौडिएर प्रधानपञ्च खड्गाजीको घर पुगेछन् । खड्गाजी पनि के कम, दौडिएर पुगे हरिबहादुरको दैलोमा न्याय दिन र डाके समाज । रामबहादुर पनि प्रधानको मान्छे, लत्रने कुरा थिएन । समाजसामु बोल्यो दमदारसँग, हो मैले मारेको हुँ बाख्रा, मेरो बारीको साग खायो, के गरांै त, तेरो बाख्रा किन छोडिस् ? अनि प्रधानपञ्चले सोधे– भन त हरिबहादुर, किन बाख्रा छाडेको ? हरिले पनि जोडले भन्यो– मेरो बाख्रा किन नचराउनु त, सागबारीमा बार लगाउनु पर्दैन ? यो कुरा सुनेपछि प्रधानपञ्च संकटमा परे, बाख्रा मारेको बिगो तिराऊँ रामबहादुर आफ्नो मान्छे, नतिराऊँ समाजमा अलोकप्रिय हुने डर, अब सबैको मन राख्ने गरी फैसला सुनाए– ठाउँको ठाउँ बार नबार्नु रामबहादुरको गल्ती, बाख्रा फुकाएर छाड्नु हरिबहादुरको गल्ती र साग खानुचाहिँ बाख्राको गल्ती ।

यसरी मरेको बाख्रोलाई दोषी देखाएर सबैको मन राख्ने भैरवी पञ्चायतका प्रधानपञ्चको जस्तो नहोस् । विधिको शासन र कानुनी राज्यको नारा लगाउनेहरूले हुलमुलको भरमा सिउँदोको सिन्दूरलाई न्याय माग्दै अदालतको दैलो पुगेकी हाम्री नुवाकोटे चेली सम्झनाको अधिकारमाथि लाञ्छना लगाउने काम नहोस् ।

टिप्पणीहरू