​प्रहरीलाई धक्का

पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक प्रहरी अधिकृतलाई धक्का दिएर हुत्याइदिएको घटनाले बजार गर्माएको छ । पारस शाह सबैले चिनेकै व्यक्ति हुनुहुन्छ, देशको पूर्वयुवराज । यदि, राजतन्त्र नढलेको भए देशको राजा नै हुने हैसियत भएका व्यक्ति । उनले एक प्रहरीलाई धक्का दिए भनेर किन यति हुलदंगा हँ ? 

यो देशमा प्रहरीलाई धक्का नदिने को छ ? एक प्रहरीले नै अर्को प्रहरीलाई धक्का दिइरहेका हुन्छन् । एकले अर्कोलाई धक्का नदिए प्रमोशन नै हुँदैन । प्रहरीलाई धक्का दिने काम आजसम्म मन्त्रीले गरेको छैन कि ? सांसदले गरेको छैन कि ? नेताले गरेको छैन कि ? अहिले रवि लामिछानेलाई समातेकै केशमा हेर्नोस्, प्रहरीलाई धक्का दिनेहरूको जुलुसै आइरहेको छ । यति धेरै मानिसले धक्का दिन मिल्छ भने पारस शाहले मात्र किन नमिल्ने ? उहाँ त झन् आजसम्म प्रहरीलाई धक्कम् धक्का दिएरै हुर्किएको व्यक्ति । यस्तो मान्छेले प्रहरीलाई एक धक्का दिएकोमा किन यति हल्ला ? के प्रहरीलाई धक्का दिने अधिकार पुराना राजाहरूलाई छैन ? 

टिप्पणीहरू