​समस्या मात्रै देखाउने ? खै समाधानको सूत्र ?

  • राजेशचन्द्र राजभण्डारी 

पञ्चायती शासनमा राजा नै शक्तिशाली थिए । त्यो समय प्रजातन्त्र दिवस र राजाको जन्मदिवसमा सरकारी कर्मचारी, विद्यार्थी र समाजका भद्रभलाद्मीलाई अनिवार्य जानुपर्ने बाध्यता थियो । हाम्रो राजा, हाम्रो देश भट्याइनासाथ जुलुसमा जानेले अनिवार्य रूपमा प्राणभन्दा प्यारो छ भनेर थप्नैपथ्र्योे । हामी पनि स्कुलबाट गएर ठूलो स्वरमा चिच्याइ–चिच्याइ हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ भन्न पाउँदा रमाउँथ्यौं ।

त्यतिबेला राजा–महाराजाको गुणगान गर्नु शक्तिकेन्द्रसँग नजिक हुनु पनि थियो । अहिले देशमा व्यवस्था फेरिएको छ तर अवस्थामा केही परिवर्तन छैन । गणतन्त्र स्थापना भएको १० वर्ष नाघिसक्यो, जनताको इच्छा–आकांक्षा भने पूरा भएको छैन । जताततै नातावाद, कृपावाद र फरियावादले ढाकेको छ । सानोतिनो काम गर्न/गराउन पनि पैसाबिना हँुदैन ।

यसको फाइदा सीमित व्यक्ति र संस्थाले लिँदै गए । अहिले देशमा अराजकता र बेथिति ह्वात्तै बढेर गएको छ, सकारात्मकभन्दा पनि नकारात्मक कुरामा रमाइलो मान्ने प्रवृत्तिको विकास भएको छ ।

हामी संघीयताको गोलचक्रमै रुमल्लिरहेका छांै । स्थानीय तह, प्रदेश र केन्द्रबीच तालमेल छैन । जताततै कर लगाइएको छ । महँगी नियन्त्रण गर्नेतर्फ कसैको चासो छैन । 

समृद्ध नेपाल, सुखी नेपालीको नारा सरकारले ल्याएको छ । साँच्चै नारा सुन्दर छ तर त्यसअनुसार अगाडि जाने बाटो प्रष्ट छैन । हिजो संविधान बनेपछि नाकाबन्दी भई केपी ओली प्रधानमन्त्री बन्दा अभाव थियो, नुन किन्नसमेत पाइँदैनथ्यो । ग्यास, तेल, डिजेल, पेट्रोलको अभाव थियो तर त्यो समयमा नेपाली जनताले देशमा सरकार देखेको थियो । पैसा तिरेर पनि भनेको चिज खरिद गर्न नपाइँदा जनताले सरकारलाई राष्ट्रवादी देख्यो । अहिले नाकाबन्दी छैन, नुनदेखि सुनसम्म, जिरादेखि हीरासम्म सबथोक जतिसुकै मात्रामा किन्न पाइन्छ तर जनताले देशमा सरकार देखेको छैन ।
अहिले हामीले सकारात्मक कामको पनि प्रचारप्रसार गर्न सकेका छैनौं । जनतालाई देशको हरेक निकायमा सहजै काम हुन्छ भन्ने विश्वास दिलाउन पाएका छैनौं । त्यसैको फाइदा चतु¥याइँ गर्न सक्ने मान्छेहरूले उठाइरहेका छन् ।

सबै निकायले जनताको वास्तविक काम सहज रूपमा गरिदिएको भए आज यो अवस्था आउने थिएन । नियुक्ति हुन कोशेली चढाउनुपर्ने, सरुवा–बढुवामा समेत आर्थिक चलखेल हुने भएपछि कहाँबाट भ्रष्टाचार शून्य हुन्छ ? आज जताततै भएको बेथितिको फाइदा बाहिरी व्यक्तिले उठाउन थालेको सबैलाई थाहा छ तर परिवर्तन गर्नेतर्फ कसैको ध्यान गएको छैन ।

राजतन्त्र अन्त्य भएपछि साँच्चै देशमा कायापलट हुने अपेक्षा थियो, तर अहिलेसम्म केही हुन नसकेपछि यस्तै धमिलो पानीमा माछा मार्नका लागि केही व्यक्ति, समूह र संस्थालाई सजिलो भएको छ । जति धेरै भ्रष्टाचारको विरोध ग¥यो त्यति धेरै ताली बज्छ । जति धेरै नेता, मन्त्री, कर्मचारी र जनप्रतिनिधिलाई गाली ग¥यो त्यति धेरै जनसमर्थन पाइन्छ । यतिबिघ्न हुँदासमेत सरकार मौन छ । जसले गलत गरेको छ, त्यसलाई कारबाही गर्ने त कुरै छाडौं, सामान्य सोधपुछ गर्ने हैसियतसमेत नराखिँदा गाली गर्नेहरुलाई हिरो हुने मौका मिलेको छ । केहीले काम राम्रो गरेको देखाएर गोरखधन्दा चलाउन पाएको धेरै उदाहरण नेपाली जनतासामु छ । अदालतबाट न्याय पाइन्छ, जुनसुकै सरकारी निकायमा काम लिएर जाँदा सरासर फत्ये हुन्छ भन्ने अनुभूति जहिलेसम्म गराउन सकिँदैन तबसम्म यस्तो अवस्था रहिरहन्छ ।

अहिले जसले सडकमा बसेर सरकारको विरोध गरिरहेका छन्, जसले बेथिति भयो भनेर चिच्याइरहेका छन् के उनीहरूले भनेजस्तै सजिलो छ, परिवर्तन गर्न ? अहिलेको प्रमुख समस्या के हो, यसलाई समाधान गर्ने के–के तरिका छन् ? अहिले सरकार चुकेको यहीँनेर हो, निर्वाचन लड्न करोडौंको चलखेल हुने भएपछि कहाँबाट समाजसेवा हुन्छ ? आफ्नो खर्च उठाउन जे पनि, जसो पनि गर्ने परिपाटीले कसरी देश बन्छ ? जुन निकायले भ्रष्टाचार गर्नेलाई नियन्त्रण गर्ने हो, कारबाही गर्ने हो, त्यही निकायमा बस्ने व्यक्ति नै भ्रष्टाचार काण्डमा तानिएका छन् । आज जसलाई विश्वास गरेर, जनताको मुटुको धड्कन भनेर हिँड्छौं भोलिको दिनमा त्यही भगवान्ले धोखा दिएका धेरै उदाहरण छन् । हामी कसैको समर्थन अन्धभक्त भएर  गर्छौं, विरोधमा पनि तथानाम गाली गर्छाैं, त्यसको सकारात्मक या नकारात्मक पक्ष नै देख्दैनौं, यही नै समस्या हो ।

(बाग्लुङ बजार)

टिप्पणीहरू