भ्रष्टाचारी र काम

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हालै भन्नुभएछ कि अब सरकारले कुनै पनि भ्रष्टाचारी कर्मचारीलाई छाड्ने छैन । यो उहाँले अत्यन्त जोशपूर्वक धम्कीकै भाषामा भन्नुभएको हो । अथवा चेतावनी नै भने पनि हुन्छ । चेतावनी भनेपछि मानिस ठान्छन् कि यो नकारात्मक हुन्छ । तर, मन्त्रीज्यूको चेतावनी नकारात्मक होइन, अत्यन्त सकारात्मक चेतावनी हो । उहाँले कुनै पनि भ्रष्टाचारी कर्मचारीलाई छाड्दिनँ भनेर जो भन्नुभयो त्यो सरकारबाट बाहिर जान दिन्नँ भन्नुभएको हो । अर्थात् उनीहरूलाई सरकारभित्र समावेश गरिराख्छु भन्नुभएको हो । सरकारले छोड्यो भने त उनीहरू जहाँ पायो त्यहीँ जान सक्छन् । यदि, उनीहरू यताउति जहाँतहीँ गइदिए भने सरकारको काम कसले गर्छ ? 

साँच्चै भनौँ भने अहिले प्रशासनमा काम गर्ने कोही छन् भने ती भ्रष्टाचारी मात्रै छन् । अरू काम गर्ने कोही छैनन् । भ्रष्टाचारी भ्रष्टाचार गर्न पाइने लोभले पनि काम गर्न अघि सरिहाल्छन् । यदि, भ्रष्टाचार रोकिदियो भने सरकारी कार्यालयमा काम पनि रोकिन पुग्छ । भ्रष्टाचार गर्न पाएन भने कसले गर्छ काम ? सरकारमा कर्मचारीलाई काममा प्रेरित गर्ने तत्व भनेकै भ्रष्टाचार हो । सरकारले त काम गर्ने कर्मचारीलाई कुनै पुरस्कार–सुरस्कार पनि दिँदैन । दिइहाले पनि उही सचिवका नातेदारलाई मात्रै दिने हो । अरूले त्यो पाउँदैन । अतः काम गर्न ऊर्जा प्रदान गर्ने तत्व भनेकै भ्रष्टाचार हो । जसले भ्रष्टाचार गर्छ, उसले काम पनि गर्छ । अनि काम गर्ने कर्मचारीलाई सरकारले कहाँ त्यसै छाड्छ र ? च्याप्पै समाएर राख्छ नि ! होइन र ? 
 

टिप्पणीहरू