​शानेवानिमा अझै उस्तै छ खानेबानी

सिंगापुरबाट फर्किनेबित्तिकै प्रधानमन्त्रीको हातैमा थमाइने तयारीमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको ०७६ को वार्षिक प्रतिवेदन जनआस्थाले फेला पारेको छ । प्रतिवेदनमा नेपाल वायुसेवा निगमले सांग्रिला इन फ्लाइट म्यागेजिन प्रकाशन गर्दा सार्वजनिक खरिद ऐनको दफा, उपदफा, उल्लंघन गर्दै करोडौं कारोबार गरेको देखिन्छ । एबीसी क्रिएसन प्राइभेट लिमिटेडले गरेको उजुरीअनुसार पावर कम्युनिकेसन प्रालि जेभिले बोलपत्रमा उल्लिखित विभिन्न मापदण्ड उल्लंघन गर्दागर्दै पनि सो कम्पनीलाई तीन वर्षका लागि ७ हजार थानका दरले प्रति वर्ष २८ हजार तथा तीन वर्षका लागि जम्मा ८४ हजार थान पत्रिका प्रकाशन गर्न बोलपत्रअनुसार जिम्मेवारी दिइएको छ ।

प्रतिवर्ष ४० लाखका दरले तीन वर्षमा १ करोड २० लाखको बोलपत्र आह्वान गर्दा इजीपीको मात्र प्रयोग गर्नुपर्नेमा सो नगरी हार्ड कपीको प्रयोग गरेको देखिन्छ भने अनुगमन कार्यालयले सो खरिद प्रक्रिया ऐन नियम अनुकूल नदेखिएको ठहर गरेको छ । साथै विभिन्न एयरलाइन्स कम्पनी तथा प्रिन्टिङ प्रेससँग दररेटको विश्लेषण गर्नुपर्नेमा २८ हजार थान पत्रिकाका लागि ४० लाख लागतको तयारी अनुमान कसरी गरियो स्पष्ट छैन । निगमले बोलपत्रको सेक्सन दुईमा राखेको विषय पहिलो र दोस्रो बुँदामा प्रतिस्पर्धामा भाग लिने कम्पनीको १० वर्षको अनुभव हुनुपर्ने व्यवस्थाले सार्वजनिक खरिदमा अधिकतम प्रतिस्पर्धा भन्ने विषयलाई सीमित गर्ने र निश्चित बोलपत्रदातालाई मात्र अवसर प्रदान गर्ने देखिएकोसमेत औंल्याइएको छ । १० वर्षको कार्यानुभव तथा आफ्नै प्रिन्टिङ प्रेस हुनुपर्नेमा सो नभएको देखिन्छ । भने १० वर्षको अनुभव हुनुपर्नेमा जम्मा ८ वर्षको अनुभव रहेको अवस्था छ ।

टिप्पणीहरू