​भित्रभित्र यस्तो तयारी भयंकर

नेपालको आन्तरिक मामिलामा छिमेकीको रुची प्रष्टिन्छ, मधेसवादीसहित बाबुरामहरूको बलियो गठबन्धन बनाउनमा । र, त्यसका पछिल्ला विवरण प्राप्त भएका छन् । नेपालमा देखिने गरी वैकल्पिक शक्ति निर्माण हुनुपर्ने छिमेकीको सोच छ । नरेन्द्र मोदीको अघिल्लो कार्यकालको अन्तिमताका नीति नै थियो, दूतावास वा कुनै एजेन्सी देखिने गरी राजनीतिक वा अन्य मामिलामा सक्रिय नहुने । तर, नियमित जिम्मेवारीभित्रका सुक्ष्म विश्लेषण गरिने काम भने रोकिएको थिएन । जब मोदी प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै थिए, राजदूतमा प्रस्तावित भए रञ्जित रे । लण्डनबाट सीधै आएका हुन्, विवेक जोहरी, ‘रअ’ को नेपाल चिफको रुपमा । आएलगत्तै बाबुरामलाई प्रधानमन्त्री बनाउन राम्रै लबिङ गरे । 

काठमाडौंमा पुलिसतर्फ होस् वा अरुतर्फ, भारतले डिआइजीस्तरका अधिकारी खटाउने गर्दछ । तर, विवेक जोहरी त्योभन्दा माथिल्ला दर्जाका हुन्, एडिजिपी । अर्थात्, नेपालको एआइजीजत्तिकै । पोहोरदेखि दिल्लीमा छन् । ‘रअ’ को प्रमुख हुने लाइनमा थिए, तर सामन्तकुमारले टप्काइदिए । अहिले जोइन्ट सेक्रेटरी छन्, चिफको लाइनका । उता ‘रअ’ लाई सीधै प्रधानमन्त्री कार्यालयमातहत राखिने कारण नेपालमा पनि त्यस्तो अभ्यास थालिएको छ । र, नेपालको बारेमा उनैको भूमिका महŒवपूर्ण मानिन्छ । बाबुराम, राजेन्द्र महतोहरूसँग विवेकको राम्रो सम्बन्ध थियो । त्यहीअनुसार भूमिका खेल्ने नै भए । सोहीअनुरुप अहिले बाबुराम र महतोलाई सहमत गराएर वैकल्पिक शक्ति बनाउन प्रेरित गरेका छन् । उनको सुुझाव हो, ‘उदार प्रजातान्त्रिक शक्तिका रुपमा अगाडि बढ्नुस् । त्यसपछि कांग्रेस र नेकपाका मान्छेलाई तान्ने भूमिका खेल्नुस् ।’

यसरी बीचमा सुस्ताइसकेको मुद्दा प्रकट भएर दुई पक्ष मिलाउने काम अघि बढ्यो । यो कुरालाई महेन्द्र राय यादव र शरद्सिंह भण्डारीले साथ दिए । यी दुई पनि विवेक जोहरीनिकटकै हुन् । तर, अनिल झा र राजकिशोर यादवलाई यिनले खासै महŒव दिँदैनन् । जोहरीसँग महन्थ ठाकुरको बाक्लो सम्बन्ध होइन । उनी सत्तारुढ भाजपाको मातृसंस्था आरएसएस निकटस्थ छन् । 

काठमाडौंस्थित भारतीय राजदूतको अहिलेको परिदृश्य हो, विभिन्न ठाउँ घुम्ने, उर्जा, व्यापार, सीमा सुरक्षाका कुरा गर्ने । तर, राजनीतिक कुरामा त्यति चासो नदेखाउने । दोस्रो हैसियतका डिसिएम छन्, विनयकुमार । आरएसएसनिकट उनी भने राजनीतिक मामिलामा सक्रिय छन् । भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले अघिल्लो महिना काठमाडौं आउँदा उनैमार्फत हो महन्थ ठाकुरहरूसँग एउटै लहरमा बसेर गफगाफ भएको । 

छिमेकतिरबाट यस्तोखाले भूमिका बाक्लिनुको खास कारण हो, नेपाललाई हिन्दू राष्ट्र कायम गराउने मामिलामा नेपाली कांग्रेस र राजपालाई निकट ल्याउनु । कांग्रेसलाई प्रस्तावकको रुपमा अगाडि सार्ने र विस्तारै–विस्तारै नेकपाका केही मान्छे तान्ने रणनीति छ । भारतले यो मुद्दामा पहिला कमल थापालाई अगाडि सा¥यो । तर, त्यो अस्त्र फलदायी भएन । राजालाई अघि बढाउँदा स्वार्थ बाझिने भयो । उनले आज हिन्दू राज्य, भोलि राजतन्त्र पुनःस्थापनाको लोभ गर्ने नै भए । त्यो अभीष्ट पूरा गर्न नसकिँदा पूर्वराजासँग सहकार्य खासै हुन सकेको छैन । यदि पूर्वराजासँग सहकार्य गर्ने हो भने एजेण्डा नै डाइभर्ट हुने खतरा देखेपछि अहिले मधेसवादीहरूसँग बाबुरामहरूलाई मिलाउने काम भइरहेको बताइन्छ । संघीय समाजवादी, राजपा र कांग्रेसलाई चुनावसम्मको गठबन्धन बन्ने गरी छिमेकीले अगाडि बढाउन खोजेको छ ।

यसबीच, पार्टी एकताको धेरै कुरा अगाडि बढ्दा उपेन्द्र यादवले मर्यादाक्रमको मुद्दाक अगाडि सारेर एकता गर्न तयार राजपा नेताहरूलाई झस्काइदिएका छन् । उनको नयाँ प्रस्तावअनुसार, महन्थ मानार्थ अध्यक्ष, बाबुराम राष्ट्रिय परिषद् अध्यक्ष र आफू कार्यकारी अध्यक्ष हुने छ । त्यसअघि राजेन्द्र महतोले चार अध्यक्षको फर्मुला ल्याएका थिए, महन्थ, उपेन्द्र, आफू, बाबुरामसहितको । अहिले विभागहरू मिलाउने गरी राजेन्द्रलाई वरिष्ठ उपाध्यक्ष बनाउने प्रस्ताव छ । महन्थलाई मानार्थ अध्यक्ष बनाउने भनिएपछि उनी पनि बिच्किएका छन् । यसबीच, उपेन्द्र, लक्ष्मणलाल कर्णहरू दिल्लीमा छन् । त्यहाँबाट के पकाएर आउने हुन् ? हेर्न बाँकी नै छ ।

टिप्पणीहरू