बाँकी नै रहे पूर्व र ध्रुव

टाउको त मिल्यो तर तल बेमेल हुँदा नेकपाको बेहाल छ । पूर्वमाओवादीले सम्हालेका केही मन्त्रालयतिर नजर डुलाए पुग्छ । सरकारले एकसाथ १६ सचिवको सरुवा गर्दा पूर्वमाओवादी खेमाका मन्त्रीले सम्हालेको सचिवलाई किन नचलाइएको होला ? जसमा शिक्षा सचिव खगराज बरालबाहेक अरूलाई यथास्थानमा राख्नुको पछाडि कुन स्वार्थले काम गरेको होला ? वनमन्त्री शक्तिबहादुर बस्नेत र सचिव विश्वनाथबीच एक महिनाअघि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भयो । तर, मन नमिलेपछि हस्ताक्षर मात्र को के अर्थ ? के औचित्य ? 

प्रधानमन्त्री ओलीले पूर्वमाओवादीले सम्हालेका मन्त्रालयमा आफू निकटका सचिवहरू खटाएका छन् र उनीहरूबाटै सूचना लिने गरेको आरोप पूर्व माओवादीनिकट मन्त्रीहरूबाट सुन्न पाइन्छ । प्रम ओलीले माओवादीका मन्त्रीहरूलाई बाइपास गरेर अधिकांश सचिवबाटै मन्त्रालयको गोप्य सूचना, निर्णयहरूबारे जानकारी लिने गरेको आरोप छ । पूर्वमाओवादीका मन्त्रीहरूले सचिवलाई समाएर आफूलाई माइनस गर्ने गरेका असन्तुष्टि आफू निकटकाहरूसँग पोख्ने गरेका छन् । 

वनसचिव डा. विश्वनाथ ओली वंशावली समाजका महासचिव हुन् । मन्त्री बस्नेतलाई माइनस गरी मन्त्रालयका अधिकांश गोप्य सूचना उनीबाटै लिने गरेको आरोप उनले आफ्ना निकटवर्तीसँग पोख्ने गरेका छन् । उस्तै स्थिति छ उद्योग, वाणिज्य, गृह, ऊर्जा, खानेपानीलगायतको मन्त्रालयको स्थिति । त्यहाँ मन्त्रीहरूलाई माइनस गरी सचिवहरूबाट मन्त्रालयको गोप्य सूचना लिने गरेको बताइन्छ । यसरी प्रधानमन्त्रीले काखी च्यापेपछि ती मन्त्रालयका सचिवले मन्त्रीलाई नटेर्ने गरेको एक मन्त्रीले जनआस्थालाई सुनाए । मन्त्री र सचिवको बेमेलको प्रसंगचाहिँ वनमा मात्र होइन, अधिकांश पूर्वमाओवादीले सम्हालेको मन्त्रालयमा देख्न सकिन्छ ।

उद्योगसचिव यमकुमारी खतिवडाले मन्त्रीका कुरै नमान्ने र नटेर्ने गरेको आरोप छ । केहीअघि एकैसाथ १६ सचिवको सरुवा हुँदा यामकुमारीलाई चलाइएन । एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरिएका १६ सचिवलाई एकसाथ अन्यत्रैतिर हुत्याइँदा पूर्वमाओवादीका मन्त्रीले सम्हालेका कृषि, वन, गृह, उद्योगलगायत मन्त्रालयका सचिव चलाइएन । छड्के प्रवेश गरेका सचिव डा. युवकध्वज जिसी कार्यकालमा सक्दो उठ्तीपुठ्ती धन्दामा छन् । उनले सहसचिव तेजबहादुर सुवेदीलाई एकै पटक ५ वटा विभागको जिम्मेवारी दिएर राखेका थिए । मन्त्री चक्रपाणि खनाल र सचिव युवकध्वज जिसीबीच ट्युनिङ मिल्न नसकेको मन्त्रालयका अधिकारी सुनाउँछन् । यता, खानेपानी मन्त्रालयमा भने माधव बेल्वासेलाई पठाइएको छ । २२ वटा मन्त्रालयमध्ये २ वटा मन्त्रालय उपेन्द्र यादवले सम्हालेका छन् । ६ मन्त्रालय पूर्व माओवादी र बाँकी पूर्व एमालेको भागमा छ । 

 

टिप्पणीहरू