​जागिर हापेर अर्कै जिन्दगी

सिजन छ कर्मचारी सरुवाको । तर, न अर्थमन्त्रालयतिर चहलपहल छ, न त भन्सार विभागतिरै भीडभाड । तैपनि, सरुवाको आन्तरिक गृहकार्य सबैतिर भइनै रहेको छ । विगतमा खरदार र सुब्बादेखि लिएर प्रमुखसम्म कमाउ अड्डामा जान तानातान हुन्थ्यो । बालुवाटार बस्नेहरुले मोलमोलाई गर्थे भने अर्थमन्त्रीले चल्तिका भन्सारमा खल्तीका मान्छे पठाउन सबै शक्ति प्रयोग हुन्थ्यो ।

उता, कर्मचारी संगठनका नेतादेखि लिएर विभागका महानिर्देशक र अरु अधिकृतहरुले अनुकूलका मान्छे तान्न खोज्थे । त्यसका लागि ‘प्रिपेड’ र ‘पोस्टपेड’ दुवै प्रयोग गर्थे । विगतमा कमाइको सपना देख्ने प्रवृत्तिमा अहिले पूर्णविराम लागेको छ अर्थ मन्त्रालयमा डा. युवराज खतिवडा छिरेपछि । एयरपोर्ट भन्सारमा प्रमुख रहेका गजेन्द्र ठाकुर र वीरगञ्जमा श्याम भण्डारीलगायत केहीले सुधारका लागि भरमग्दुर प्रयास गरेका हुन् । एक वर्ष काम गरिसकेका ठाकुर सधैं विवादको सम्भावना भइरहने एयरपोर्ट भन्सारमा बस्न नचाहेर अन्यत्रै सरुवा हुन खोजेका थिए । तर, सचिव राजन खनालले दुई पटकको सरुवा रद्द गराएर त्यहीँ राखे । उनलाई निजामती कर्मचारी पुरस्कार पनि दिने आश्वासन थियो ।

हाल ठाकुर मध्यमस्तरीय कर कार्यालय बबरमहलमा आए भने श्याम भण्डारी भन्सार विभागको डीडीजीमा आएका छन् ।

यसबीच, कुनै पनि कार्यालयमा जो कोही कर्मचारी भ्रष्टाचारबापत पक्राउ परे त्यसको जिम्मेवारी प्रमुखले लिनुपर्ने नीति अख्तियारले बनाएपछि हाकिम हुन चाहनेहरु भेटिन छाडेका छन् । ठूला नेताहरुसम्म पहुँच बनाएका विगतका प्रमुखहरु पनि अहिले मन्त्रालय र विभागमै बस्न रुचाउँछन् । यसबीच विगतमा भन्सारमा काम गरेका र बदनाम केही कर्मचारी अख्तियारले डाम्ने डरले राजीनामा दिएर खेतीपातीमा लागेका छन् । अधिकृत उद्धव राउत जागिर छाडेर चाइनिज सामान ओसारपसार गर्ने व्यापारीसँग मिली नगरकोटमा गाई र कालिज पालनमा लागेका छन् भने भन्सार र राजश्व अनुसन्धानमा चिनिएका रामकृष्ण तिवारी चाँडै अधिकृत हुने भन्थे । तर, नवीन घिमिरे अख्तियार प्रमुखमा पदोन्नति हुनेबित्तिकै राजीनामा दिएर भारततिर हिँडे । कुनै बेला नवीन घिमिरे सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी हुँदा रामकृष्ण तिवारी तातोपानी भन्सारमा चल्तापुर्जा थिए । नवीन घिमिरेले कस्न खोज्दा सकेका थिएनन् । 

टिप्पणीहरू