यी त सब भन्ने कुरा हुन्

पार्टी एकीकरणपछि पहिलोपल्ट नेकपाले इलाममा अगुवा कार्यकर्ता प्रशिक्षण आयोजना ग¥यो । दुईदिने प्रशिक्षणमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं उपस्थित भए । सँगै थिए, संघीय सांसद झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ । पहिलो दिन अध्यक्ष प्रचण्ड, खनाल र नेम्वाङबाहेक प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले मात्र संबोधन गरे । 

इलाममा प्रचण्डको दोस्रो आगमन थियो । पार्टी एकीकरणपछि भने पहिलो । यसरी जिल्लाका नेतासँगै प्रचण्डको आगमनका कारण कार्यकर्तामा उत्साह देखिएको थियो । प्रचण्डले गुटको खेती मौलाएको र केन्द्रमा पनि आफूहरू यसको जरा उखेल्न लागिपरेको बताए । तर, नेताहरूको जिल्ला आगमन भइरहँदा पनि गुटको प्रतिविम्ब भने प्रष्टै देखियो । अघिल्लो दिन आएका झलनाथ खनाललाई लिन उनी निकट कार्यकर्ता मात्र चन्द्रगढी पुगेका थिए । भोलिपल्ट आएका प्रचण्डलाई स्वागत गर्न पनि पूर्व माओवादीका कार्यकर्ताहरू पुगे । यसरी नै नेम्वाङलाई स्वागत गर्नेमा पूर्व एमालेको एउटा खेमाका कार्यकर्ता थिए । शीर्ष नेतालाई सदरमुकामको ग्रीन भ्यू होटलमा बस्ने व्यवस्था आयोजकले मिलाएको थियो । गुटको चर्को विरोध गर्ने नेता आफैं भने एक रात पनि एउटै होटलमा सँगै बस्न नसकेपछि कार्यकर्ता दोधारमा  देखिए–नेताहरूले भनेको मान्ने कि गरेको व्यवहारको अनुशरण गर्ने ?

अहिले नेकपामा गुट, उपगुट मात्र नभएर स–साना झुण्डको समेत विकास भइरहेको छ । प्रचण्डले गुटको अन्त्य नगरी पार्टीमा उर्जा नआउने भनिरहँदा इलाममा उपगुटसमेत फस्टाइरहेको छ । माओवादीभित्रको गुट, उपगुट पनि उत्तिकै छ । उपगुट र झुण्डबीच पानी बाराबारको अवस्था छ । खनाललाई नै नेता मान्नेहरूबीच पनि को अलि बढी उनीसँग नजिक हुने भन्ने होड छ । एउटा गुट अर्को गुटलाई समाप्त पार्ने ध्यानमा लागेकाले १० तहमध्ये सात तह जितेको नेकपाभित्र स्थानीय सरकारको कामको समीक्षा पटक्कै हुन सकेको छैन । 

यति मात्र नभएर झापाबाट प्रचण्डलाई भेट्न रातारात उनी निकट कार्यकर्ता आएका थिए । पार्टीमा समस्या देखिएको भन्दै भदौ २८ गते झापा जाने कार्यक्रम रहे पनि त्यहाँको कार्यकर्ता उनलाई भेट्न इलाम चढ्नुले गुट कतिसम्म हाबी छ भन्ने देखिन्छ । बिर्तामोडको बिएण्डसी अस्पतालका मालिक दुर्गा प्रसाईंको ल्याण्डरोभर चढेर कार्यक्रमस्थल आएका प्रचण्डले माधव नेपाल, खनाल र केपी ओलीलाई प्रधानमन्त्री बनाएको दाबी गर्दै आफू पाँच वर्षसम्म सरकारमा नजाने बताए ।

टिप्पणीहरू