कम्युनिष्ट नै भए पनि कसिँदै

पत्याउन गाह्रो पर्छ नेपाली बिदेसिएझैं बाहिरबाट पनि मानिसहरु शरणार्थी बन्न र श्रम गर्न नेपाल भित्रँदा रहेछन् । वर्ष दिनमा उत्तर कोरियनकै ७ वटा उद्योग (अधिकांश होटल) नेपालमा खुलेको पाइयो । तर, स्वीकृति एकाथरीको लिने, गतिविधिचाहिँ अर्कै गर्ने । 

दुई महिनाको अल्टिमेटम दिँदै उत्तर कोरियाली नागरिकद्वारा सञ्चालित व्यवसाय बन्द गर्न वा बेचेर नेपाल छाड्न पत्राचार भएको छ । यसबाट ९ वटा उद्योग र त्यहाँ कार्यरत  करिब डेढसय उत्तर कोरियाली नागरिक प्रभावित हुने छन् । उद्योग विभागको तथ्यांकअनुसार दर्ता भएका ९ उद्योगमध्ये ५ वटा होटल, २ वटा आइटी कम्पनी छन् । उनीहरूले योङ बोङ आइटी कम्पनी दर्ता गरी भैंसेपाटीको सनराइज हाउजिङ र टोखास्थित हार्मोनी हाउजिङबाट ह्याकिङको काम गर्दै आइरहेको आरोप छ । 

काठमाडौं गोलढुंगामा १६ बेड र ३२ सिटको होटल एण्ड रेष्टुराँ सर्भिस सञ्चालित छ । यो ०६४ सालमा दर्ता भएको हो । यस्तै, सोही साल दर्ता भएको २ सय सिटको होटल, ०७५ सालमा दर्ता भएको १५० सिट क्षमताको पोतोङगाङ रेष्टुराँ, सय सिट क्षमताको हिमालयन सोजे रेष्टुराँ र १ सय सिट क्षमताको मिनास रेष्टुराँ एण्ड बार पनि छन् । यी ५ रेष्टुराँका अलावा तनहुँको दमौलीमा नेकोर्यो अस्पताल सञ्चालित छ । त्यहाँ कार्यरत चिकित्सकले भिजिट भिषामा भित्रिएर श्रमस्वीकृतिबेगर काम गर्दै आइरहेका थिए ।

यस्तै, होटल रिमिन एण्ड रेष्टुरेण्ट, योङबोङ आइटी कम्पनी, प्योङयाङ अकुग्यान नेपाल, हिमाल चिल्बो टेक्निकल सोलुसन दर्ता भएको देखिन्छ । योङ बोङ आइटी कम्पनी ५५ जनालाई रोजगारी दिने भनी उद्योग विभागमा दर्ता भएको थियो । शुरुमा कम्पनीको कार्यालय थापाथली भनेर खुलाए पनि टोखा र भैंसेपाटीमा बसेर साइबर अपराधजन्य गतिविधिमा कोरियाली संलग्न रहँदै आएको दाबी छ । उद्योगका निर्देशक प्रेम लुइँटेलकाअनुसार यसअघि नै लगानी फिर्ता लैजानका लागि सरकारले कोरियाली दूतावासलाई पटकपटक आग्रह गरेको थियो । पटक–पटकको आग्रह अटेर भएपछि यसपटक परराष्ट्रमार्फत पत्राचार गरिएको छ । यता, ६ वर्षदेखि नेपालमा लगानी गर्न खोजेको एउटा ठूलो कम्पनी भने विदेसिने सुरसार गर्दै छ । ५५ अर्ब लगानी स्वीकृत भएर पनि खानी नभेट्दा नाइजेरियन कम्पनी एलिको डांगोटेले कुम्लो कसेको हो ।

टिप्पणीहरू